नेपाली लिन सीमामै आइपुग्छन् भारतीय सेठ

|

धनगढी : बझाङ पिपलकोटका गैरे धामी मंगलबार बिहानै गौरीफन्टा नाका हुँदै भारत जानेहरूको लाइनमा थिए। उनी रोजगारीका लागि भारत जान बझाङबाट सीमा नाकामा स-परिवार पुगेका थिए। कोरोना महामारीकै बीच भारतबाट धामी गाउँमा फर्किएका उनी रोजगारीको कुनै सम्भावना नदेखेपछि फेरि भारतै जान लागेका हुन्।  

तीन महिनाअघि भारतको महाराष्ट्रबाट फर्किएका डडेल्धुराका कमल टमटा पनि पुनः रोजगारीका लागि भारत जान गौरीफन्टा नाका पुगेका थिए। उनको पीडा पनि उस्तै थियो। ‘गाउँमा केही काम छैन, घर व्यवहार चलाउन साह्रै समस्या भएको छ, काम खोज्न त जानु पर्‍यो  नि’, विवशता बताए उनले।

कोरोना महामारीको डरले लकडाउनमा घर फर्किएका कैलाली टीकापुरका भीम बुढा पनि पुनः कामकै खोजीमा भारत जान गौरीफन्टा नाकामै पुगेका थिए। ‘भारतबाट कमाएर ल्याएको सबै सकियो, यहाँ बसेर के गर्ने ?’ उनले उल्टै मार्मिक प्रतिप्रश्न गरे।

पछिल्लो समय कैलालीको गौरीफन्टा नाकामा दिनहुँ भारत जानेको भीड हुन थालिसकेको छ। भीड थामिनसक्नु हुन लागेको छ। कोरोना महामारीबीच भारतबाट घर फर्किएकाहरु नेपालमा रोजीरोटीको टुंगो नलागेपछि उतै जान विवश छन्।  

सुदूरपश्चिमका अधिकांश नागरिक परिवारको पेट पाल्नकै लागि भारत जाने गर्छन्। सरकारले लगाएको लकडाउनले शैक्षिक संस्थासमेत लामो समय बन्द भएपछि १४/१५ वर्ष उमेरका कतिपय बालबालिका पनि अभिभावकसँग भारत गइरहेका छन्। 

नेपालीहरुलाई भारत जान सीमामै भारतीय आधार कार्ड आवश्यक पर्ने हुन्छ। नेपालबाट जानेहरू कि भारतीय नागरिक हुनुपर्ने कि त भारतीय आधार कार्ड हुनुपर्ने व्यवस्था भएको सीमा सुक्षामा खटिएका सुरक्षाकर्मीले जनाएका छन्। 

नेपालीहरु लैजान सीमामै आइपुग्छन् ‘सेठ’ 

लकडाउन अवधिमा नेपालीहरु घर आउँदा भारतमा भने कामदार अभाव भइरहेको छ। भारतका विभिन्न उद्योग कलकारखाना रहेका नेपाली घर आएका छन्। भारतमा पनि लकडाउन खुकुलो भएसँगै उद्याेग कलकारखाना जस्ता क्षेत्र खुल्दै गएका छन्। जहाँ काम गर्ने अधिकांश नेपाली यतै छन्। जसले गर्दा भारतमा नेपाली कारदारको अभाव भइसकेको छ। 

नेपालीहरु कार्यरत भारतीय उद्याेग, कलकारखाना तथा व्यक्तिगत घरका मालिक यतिबेला नेपाली फर्किएर नेपाल आएका नेपाली लिन बाेर्डरसम्मै आउने गरेका छन्। यस्ता सेठहरु सीमा नाकामै आइपुग्छन् र नेपालीलाई लिएर जान्छन्। 

उनीहरुले सीमा नाकाबाटै नेपालीलाई आ–आफ्नो कम्पनीमा कामका लागि लैजाने गरेका छन्। भारतीय आधार कार्ड नभएका नेपालीहरु समेत भारतीय साहुले आफ्नो जिम्मामा कामका लागि लैजाने गरेका छन्। लकडाउन अवधिमा सुदूरपश्चिमका मात्रै झण्डै पाँच लाख बढी नेपालीहरु घर फर्किएका थिए।

सीमामा खटिएका भारतका सीमा सुरक्षा अधिकारीले भारतमा रोजगार दिनेवालाले आफ्नो कामदार हो भनी लिखित रूपमा सरकारी निकायलाई दिएको नामका आधारमा नेपालीलाई प्रवेश दिने गरिएको बताए। 

मुख्यमन्त्रीको पहिलो सम्बोधनमा के थियो ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिम्मेवारी सम्हालेलगत्तै पहिलोपटक रोजगारीको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका थिए। लामो समय भारतमा आफैंले चौकीदारी गरेका मुख्यमन्त्री भट्टले आफूले जस्तै भारतमा चौकीदारी गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्ने भाषण गर्दै आएका थिए। 

भट्टले प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको तीन वर्ष बितिसकेको छ। तर रोजगारीका लागि भारत जानेहरुको संख्या भने विगतको भन्दा बढ्दै गएको देखिन्छ। कोरोना महामारीको त्रासले लाखौं संख्यामा नेपालीहरु स्वदेश फर्किए, तर नेपालमा कुनै रोजगारी नभएपछि महामारीकै बीच धमाधम पुनः भारत जान थालेका छन्। अहिले सुदूरपश्चिम दैनिक पाँच सयदेखि एक हजार नेपाली ज्यान जोखिममा राखेर रोजगारीका लागि भारत गइरहेका छन्। 

रोजगारीको लागि भारत जाने नेपालीले आफूहरुलाई नेपालमा सरकार छ भन्ने अनुभूतिसम्म भएको गुनासो गरेका छन्। सीमामा भेटिएका कैलाली गौरीगंगाका वीर बहादुर विक भन्छन्, मलाई त सरकार छ भन्ने पनि लाग्दैन।' उनले नेपालमा बस्दा बालबच्चा पाल्न नसकिने भन्दै काम खोज्न भारत लागेको दुखेसो पोखे।

कैलाली टीकापुरकी रेणुका नेपालीले कोरोना डरले स्वदेश फर्किएको र नेपालमा कुनै काम नपाएपछि भारत जान लागेको उस्तै व्यथा सुनाइन्। भदौको १८ गतेसम्म त्रिनगर नाका हुँदै तीन हजार बढी नेपाली रोजगारीकै लागि भारत गएका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.