उद्योगी भन्छन् : कच्चा पदार्थ छैन, कसरी कारखाना चलाउनु ?

|

विराटनगर : सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन्। 

कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्‍चालन हुन थालेका छन्‌। तर, सहजै सञ्‍चालन भइरहेका छैनन्‌। 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् । 

आवश्यक कच्चापदार्थ अभाव भएको छ। कच्चापदार्थ नै नपाएपछि पूर्ण क्षमतामा उद्योग चलाउन नसकिरहेको उद्योगीहरू बताउँछन्‌। पूर्ण क्षमतामा चलाउने लक्ष्यसाथ उद्योग खोलिएपनि यसो गर्न सकिएको छैन।

साढे ६ सयमध्ये करिब १ सय मात्र सञ्चालनमा

औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये १ सय उद्योगमात्रै अहिले आंशिक सञ्‍चालन गरिएको छ। तर, ती उद्योग पनि कच्चा पदार्थ, मजदुर र बजार अभावमा बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गर्न थालिसकेका छन्। 

यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० भन्दा बढी छ। उद्योग विभागको तथ्यांकअनुसार यस करिडरमा अहिले ६ सय ६५ उद्योग दर्ता छन्। जसमध्ये ठूला र मझौला गरी १ सय ५० छन्। विभागका अनुसार यी सबै उद्योगमा करिब पाँच अर्ब रुपैयाँ लगानी भएको छ। 

साविक समयमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत उत्पादन हुने गरेका यहाँका उद्योगमा ४५ हजारभन्दा बढी श्रमिक कार्यरत छन्। 

कठिन अवस्थामा खुल्यो, तर चलाउनै मुस्किल

करिडरमा हाल जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादनलगायत उद्योग सञ्चालन भइरहेको छ। स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न नसक्दा यहाँका धेरैजसो उद्योग बन्द अवस्थामै छन्। कतिपयले भने मजदुर व्यवस्थापन नै गर्न सकेका छैनन्‌। 

पहिलो पटकको लकडाउनपछि सञ्चालनमा ल्याइएका उद्योगले पूर्ण रुपमा सुरक्षा सावधानी अपनाएको अरिहन्त मल्टिफाइबर्सका प्रशासकीय अधिकृत रमेश सुब्बाले जानकारी दिए।

‘अहिलेको अवस्थामा पूर्णरुपमा उद्योग सञ्चालन गर्न सम्भव छैन,’ सुब्बाले भने, ‘पूर्ण सावधानी अपनाएर आंशिक रुपमा उद्योग सञ्चालनमा ल्याएका छौं, तर कच्चा पदार्थ नहुँदा चुनौती छ,’ उनले थपे, ‘न उद्योग सञ्चालनलाई निरन्तरता दिन सकेका छौं, न त बन्द नै गर्न!’ लकडाउनपछि उद्योग खोल्न जति उत्साहित भए पनि कच्चा पदार्थ र कामदार व्यवस्थापन नहुँदा वस्तुको बजारीकरणमा समस्या आएको उनले बताए।

सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सका सहायक व्यवस्थापक महेशप्रसाद पोखरेलले मौज्दात कच्चापदार्थ प्रयोग गरी उद्योगमा उत्पादन थालिएको जानकारी दिए। एक सातादेखि सञ्चालनमा रहेका उद्योगमा कार्यरत कर्मचारीलाई उद्योग परिसरमै राख्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

उद्योगमा अहिले १ सय बढी मजदुर कार्यरत छन्। यी दुबै ठुला उद्योग सामान्य अबस्थामा तिन सिफ्टमा चल्दै आएका थिए। तर अहिले ६६ प्रतिशत उत्पादन कटोती गरिएको छ। मजदुर पनि कटौती गरी एक सिफ्टमा मात्रै उद्योग सञ्चालन गरिएको छ।

दोधारमा उद्योगी : न चलाउन सक्छन्, बन्द गर्न

लकडाउन खुकुलो पारिएपनि सरकारले वर्गीकरण गरी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि करिडोर क्षेत्रका उद्योगी दोधारमा परेका छन्। सरकारको उद्योग खोल्न मिल्ने प्रष्ट निर्देशिका नबनाइदिँदा​ उद्योग संचालनमा  कसरी निरन्तरता दिने भन्नेमा उद्योगीहरू अलमलिएका छन्। 

उद्योग संगठन मोरङका अध्यक्ष एव भीम घिमिरेले उद्योग सञ्चालन गर्न आन्तरिक तथा बाह्य धेरै कुराहरू हल गर्नुपर्ने भएपनि तयारीबिनै उद्योग सञ्चालन गर्दा धेरै समस्या भोगेको बताए।

बजार नखुलेपछि उद्योगले सामान उत्पादन मात्र गरे अर्थहीन हुने घिमिरे बताउँछन्। उद्योग सञ्चालन गर्न आवश्यक रहेपनि त्यसका लागि कर्मचारी तथा कामदारलाई सुरक्षित सहज ढंगले चलायमान कसरी बनाउने भन्ने योजना नबनेको उनी बताउँछन्।

कोरोना कहरले अहिले पनि सबै क्षेत्र अवरोधको स्थिति रहेकाले करिडोर क्षेत्रका उद्योगहरु चले पनि अवस्था सहज नरहेको उनी बताउँछन्। अहिले ठुला उद्योगले ६६ प्रतिशत साना तथा मझौला आकारका उद्योगले ४० प्रतिशत उत्पादन र मजदुर कटौती गरेका छन्‌। सीमित उत्पादन गर्न सीमित समयसम्मका लागि मात्रै उद्योग चलेको उनले बताए।

त्यसैगरी रिजालको पोलिटेक इण्डष्ट्रिज प्रालिका सञ्चालक नवीन रिजालले सरकारको निर्णयले केही उद्योग सञ्चालनमा आएपनि अझै अनूकुल वातावरण बनिनसकेको बताए। 

‘सरकारले उद्योग सञ्चालन गर्ने मात्र भन्यो, त्यसका लागि आवश्यक गृहकार्य नगरेको जस्तो देखिन्छ। उद्योग सञ्चालनमा आएका छन्, तर ती उद्योगका लागि आवश्यक कच्चा पदार्थको जोहोसँगै उत्पादित सामानलाई कसरी बजारमा पुर्‍याउने भन्ने चुनौती छ। त्यसको तयारी देखिँदैन,’ रिजाल थप्छन्, ‘यस्तो अवस्थामा पनि आंशिक रुपमै भएपनि उद्योग खोलेका छौं, तर आर्थिक भार मात्रै व्यहोर्नुपरेको छ।’ 

कच्चा पदार्थदेखि र बजारीकरणसम्म समस्या

आंशिक रुपमा सञ्चालनमा आएका उद्योगमा कच्चा पदार्थ अभाव हुन थालेको छ। धेरै उद्योगीले तेस्रो मुलुकबाट आयात गरेका कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहमै रोकिएका छन्। रोकिएका माल वस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा ल्याएपनि जेनतेन मात्र उद्योग चलाउन सकिएको मोरङ व्यापार संघका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडा बताउँछन्। 

कुनैपनि उद्योग अहिलेको अवस्थामा पूर्ण क्षमतामा फर्कन नसकेकाले सञ्चालनमा आएका पनि आंशिकरुपमा मात्र चलेको उनले बताए। ‘यस करिडरमा जे-जति उद्योग सञ्चालनमा छन्‌, ती पूर्ण क्षमतामा चलेका होइनन्,’ मुन्दडाले भने, ‘अहिलेको अवस्थामा उत्पादन कटौती गरेर उद्योगहरु सञ्चालनमा आएका छन्।’ अहिले बजारीकरणमा पनि उत्तिकै समस्या रहेको उनले बताए।

उद्योगीले सेवा क्षेत्रभित्रका स्थानीय मजदुरलाई परिचालन गरेर उद्योग सञ्चालन गरेका छन्। उद्योगी पवन सारडाले बाहिरी जिल्लाका र भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएकाले उपलब्ध जनशक्तिलाई परिचालन गरी उद्योग सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार सामान्य अवस्थामा करिडोर क्षेत्रका ठूला उद्योगमा १० हजारको संख्यामा भारतीय मजदुर कार्यरत रहँदै आएका थिए।

सारडाले उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपीनको व्यवस्थापनमा व्यय भार बढेकाले त्यसलाई लामो समयसम्म निरन्तरता दिन चुनौती रहेको बताए। उनले करिडोरमा रहेका खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.