|

धनगढी : विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढेसँगै नेपाल सरकारले चैत १० गतेदेखि लकडाउन गर्यो। मानिसहरु आ–आफ्नो घरभित्र कैद भए। दिनमा १८ घण्टा व्यस्त रहेन मानिसहरु पनि फुर्सदिला भए। 

घरभित्रै बस्नुपर्दा मानिसहरुमा मनोवैज्ञानिक असर पर्ने भन्दै सरकारले यस्तो बेला विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी आफ्नो दैनिकीलाई सहज बनाउन र समय बिताउन आग्रह गर्यो। लकडाउन अवधिमा अधिकांश मानिसको समय बिताउने प्रमुख माध्यम फेसबुक, युट्युब, टिकटक लगायतका एपहरु बने।

लकडाउन सुरुवातमा थोरै नेपालीले प्रयोग गर्ने टिकटक लकडाउनपछि प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानिसहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। 

यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियोहरु हेरेर घन्टौं बिताइदिन्छन्। टिकटक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्धसम्मको रोजाइमा पर्न सफल भएको छ। 

लकडाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकटकमा समय बिताइरहेका छन्। परिवारका अन्य सदस्यहरुले बालबालिकालाई टिकटकमा बढी प्रयोग गरेका छन्। बालबालिकालाई भिडियो खिच्न लगाउने, उनीहरुको आनीबानी र व्यवहारको दुरुपयोग गर्दै भिडियो खिचेर टिकटकमा राख्ने, आफूहरुसँगै भिडियोमा प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिन्छन्। 

जसको कारण बालबालिका  प्रत्यक्ष रुपमा टिकटकको सिकार बन्दै गएका छन्। उनीहरुमा मनोवैज्ञानिक, भावनात्मक र शारीरिक असर पर्ने खतरा देखिएको छ। पहिले–पहिले सहपाठीसँग खेल्न रुचाउने बालबालिकाहरु अहिले टिकटक बनाउन कस्सिन्छन्।

​पछिल्लो समय टिकटकमा अश्लील क्रियाकलाप पनि हुने गरेको छ। जसले बालबालिकालाई ठुलो असर पर्ने देखिन्छ। बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो अश्लील संवादहरु र दृश्यलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ।

बालबालिकालाई टिकटकमा प्रयोग नगर्न मनोविदको सुझाव

मनोविद् तथा मनो परामर्शदाताहरूले बालबालिकालाई विभिन्न किसिमका सामाजिक सञ्जालहरुमा प्रयोग नगर्न आग्रह गरेका छन्। विद्यालयबाट झण्डै ५ महिनादेखि छुट्टिएका बालबालिकालाई दीर्घकालसम्म मनोवैज्ञानिक तथा भावनात्मक रुपमा असर पर्ने भएकोले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहरु लामो समयसम्म प्रयोग गर्न नदिन सुझाव दिएका हुन्। 

मनोविद् गोपाल बोहराले बालबालिकालाई टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहको प्रयोगले पर्ने असरबारे यसरी वर्णन गरेका छन्- बालबालिकामा देखिने प्रमुख असरमा संवेगात्मक असर हो। यो असरले उनीहरुको भावनामा पर्छ। रुने, निरास हुने, स–सानो कुरामा पनि रिसाउने त्यस्तै उनीहरुको व्यवहारमा देखिने असरहरुमा झर्किने, झगडा गर्ने, जिद्दी गर्ने, पढ्न लेख्न नमान्ने जस्ता समस्या उत्पन्न हुन्छन्। 

उनीहरु शारीरिक समस्या पनि देखिन्छन् सुतेर मोबाइल प्रयोग गर्दा शरीर बाङ्गिने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, हातखुट्टा झम्झमाउने जस्ता असरहरु देखा पर्छन्। यसले गर्दा उनीहरुको सम्पुर्ण विकासमा असर परेको हुन्छन उनीहरुको सामाजिक विकासमा असर पर्छ। लकडाउन र कोरोना महामारीको कारण बालबालिकाले विद्यालय जान पाएका छैनन्, साथीभाइ र छिमेकीसँग पनि राम्रोसँग बोल्न पाएका छैनन्। उनीहरुले आफ्नो उमेर समूहका सँग खेल्न पाएका छैनन्। यसले गर्दा बालबालिकामा दीर्घकालीन रुपमा अध्ययन नगर्ने, खेलकुद नखेल्ने जस्ता समस्याहरु देखिन्छ। 

त्यसकारण उनीहरुमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले अन्य कुराहरुमा ध्यान दिन नसक्ने अवस्थामा पुग्छन्। यसलाई रोक्न अभिभावकले राम्रोसँग बुझाउने, बालबालिकाको उमेर अनुसार भावनात्मक सहयोग गर्ने, समस्या सही ढंगले सुनिदिने गर्नुपर्ने हुन्छ।

सामान्यतया बालबालिकालाई दुई घण्टाभन्दा बढी प्रयोग गर्न दिनु हुँदैन। अहिले सबैभन्दा बढी प्रयोगमा आएको टिकटक एपले बालबालिकालाई नकारात्मक क्रियाकलाप गर्नतर्फ आर्कषण गराउने खतरा बढेको छ भने अर्कोतिर अभिभावकले  उनीहरुलाई टिकटक बनाउन प्रयोग गरेका कारण बालबालिकामा डर र भय उत्पन्न हुने हुन्छ। ​

मनोविमर्शकर्ता जक्सना कार्कीले लकडाउनपछि बालबालिकाहरुमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मनौवैज्ञानिक समस्या उत्पन्न भएको बताइन्। उनले बालबालिकाहरुमा अहिले टिकटकमा सोचेजस्तो लाइक र कमेन्ट नआउँदा दुःखी र निराश हुने समस्या सिर्जना भएको औंल्याइन्। बालबालिकाहरु सामाजिक सञ्जालको लतमा परेको भनेर धेरै बाबुआमाहरु आफूकहाँ सल्लाह सुझाव माग्न आउने गरेको उनले सुनाइन्।

लकडाउनपछि त बालबालिकाहरुमा झनै समस्या उत्पन्न भएकाले यसको समाधानको लागि बाबुआमा र परिवारका सदस्यहरुलेनै जोड्दिनुपर्ने बताइन्। टिकटक प्रयोगबाट उनीहरुमा नैराश्य र चिड्चिडाहट हुने गरेको छ। उनले टिकटक लगायत सामाजिक सञ्जालहरुलाई सामान्य मनोरञ्जनको साधनका रुपमा उपभोग गरे पनि लामो समयसम्म प्रयोग नगर्न आग्रह गरिन्। 

कसरी जन्मियो टिकटक ? 

लिपसिंक (अरुको आवाजमा ओठ चलाएर अभिनय गर्ने काम) छोटा भिडियो बनाएर सेयर गर्ने सुविधा सबैभन्दा पहिले २०१० मा ‘डब्समास’ नामक एपले दिएको थियो। भाइन नामक अर्को एप पनि यस्तै फिचरहरु लिएर आयो। तर, टिकटक आएपछि यिनीहरुका दिन सकिए।

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी बाइट डान्सले सुरुमा ‘डाउयिन’ नाम एप को विकास गरेको थियो सन् २०१६ को सेप्टेम्बरमा। पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो। यद्यपि, सन् २०१८ को २ अगष्टमा म्युजिकलीलाई खरिद गरेपछि टिकटक विश्वव्यापी रुपमा उपलब्ध भएको हो। एक अर्ब डलरमा टिकटकले म्युजिकल्लीलाई किनेको थियो।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन्। बब्लीन, लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ।

लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो। सन् २०२० को अगष्टमा टिकटकका विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.