|

बाँके : नेपालगन्ज नाकाबाट कामका लागि २३ हजार नेपाली भारत गएका छन्। धान रोपाइँ सकेर १५ भदौयता मात्र झण्डै २३ हजार नेपाली कामका लागि नेपालगन्ज नाकाबाट भारत प्रवेश गरेका इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए। 

उनले १५ भदौदेखि मसान्तसम्म भारतीय आधार कार्ड भएका २१ हजार ७९ जना नेपाली कामका लागि भारत गएका बताए। भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको उनले स्पष्ट पारे। दैनिक सरदर दुई सय ५० जनाका दरले ९ असोजसम्म झण्डै दुई हजार दुई सय नेपाली कामका लागि भारत गएका उनले जानकारी दिए। 

लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जाने गरेका प्रहरी नायव निरीक्षक गिरीले बताए। कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारत लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे। 

लामो समयदेखि भारतमा बसिरहेका नेपाली कोरोनाको डरले फर्किएका थिए। तिनै नेपाली फेरि काम खोज्दै भारत जान थालेका छन्। उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, बिरामी भेटघाट गर्न केही छुट गरिएको बताए।

‘वडा कार्यालयको सिफारिस र परिचय पत्र राखेर केही समयका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ,’ उनले भने। भदौ मसान्तसम्म भारतबाट ७६ हजार ४८ नेपाली स्वदेश फर्किएका  छन्। लकडाउन भएदेखि भदौ मसान्तसम्म झण्डै ४० हजार भारतीय स्वदेश फर्किएका छन्। 

आधार कार्ड नभएकाहरु कैलालीको त्रिनगर (गौरीफन्टा) नाका भएर जाने गरेका छन्। उक्त नाकामा आधार कार्ड नभए पनि नेपाली र भारतीय सुरक्षाकर्मीले जान दिएका छन्। भारत जान सहज भएपछि आधार कार्ड नभएकाहरु सोही नाकाबाट भारत जान थालेपछि त्यहाँ भीडभाड बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.