|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयलाई निसंक्रमण (निर्मलीकरण नगरिँदा जोखिम बढेको छ। बन्दाबन्दीका बेला भारतबाट फर्केकाहरूलाई राख्न क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयलाई निसंक्रण नगर्दा जोखिम बढेको हो। 

क्वारेन्टिनमा बस्नेहरूले जताततै गरेको  फोहर नउठाइँदा विद्यालय परिसरमा जानका लागिसमेत डराउनु पर्ने अवस्था छ। ‘विद्यालयलाई पहिले जस्तो थियो, सोही अवस्थामा फर्काउने गरी क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिएका थियौं,’ कालिका माध्यमिक विद्यालयका प्राधानाध्यापक राघवप्रसाद अवस्थीले भने, ‘क्वारेन्टिनका रुपमा विद्यालय प्रयोग गरेपछि निसंक्रमण नगरिकन छाडिएको छ। विद्यालयको हाताभित्र छिर्नसमेत डराउनुपर्ने अवस्था छ।’ 

उनका अनुसार विद्यालयका कक्षा कोठा र हाताभित्र प्रयोग भैसकेका मास्क, पञ्‍जा, प्रयोग गरिसकेका सेनेटाइजरका बोतलहरू र पानी पिएर फालिएका बोतलहरू यत्रतत्र फालिएका छन्‌। कोरोना संक्रमण हुनसक्ने डरले क्वारेन्टिनमा बसेका व्यक्तिहरूले प्रयोग गरेर फालेका सामान व्यवस्थापन गर्नसमेत सकिएको छैन।

क्वारेन्टिनमा बस्नेहरूले कोठामै पूराना कपडाहरू समेत छाडेर गएका छन्‌। क्वारेन्टिन राखिएका विद्यालयमा रहेका शौचालय समेत प्रयोग गर्ने अवस्थामा रहेका छैनन्। ‘दुर्गन्धित हुनुका साथै मास्क लगायतका प्रयोग गरिएका अन्य सामानहरू फालिएकाले शौचालय प्रयोग गर्न पाएका छैनौं,’ प्राधानाध्यापक अवस्थीले भने।

क्वारेन्टिनमा बस्नेहरूले विद्यालयका बेन्च, पंखा र विद्युतीय वाइरिङ समेत तोडफोड गरेका छन्‌। नगरपालिका कार्यालयले पहिला जस्तै विद्यालयलाई निसंक्रमण गरी टुटेका बेच्न, पंखा लगायतका सामानको मर्मतसँगै रङरोगन गर्ने वाचा पूरा नगरेर विद्यालयलाई जोखिम अवस्थामा छाडेको विद्यालयका शिक्षकहरूले जानकारी दिएका छन्‌।

प्रशासनिक कार्य गर्नका लागि समेत डराउँदै विद्यालयमा जाने गरेको सिद्ध बैजनाथ माध्यमिक विद्यालयका शिक्षक तेज बहादुर साउदले बताए। ‘विद्यालयको कक्षा कोठामै चुरोटका ठुटा र अन्य प्रयोग गरि सकिएका सामग्री रहेका छन्‌,’ उनले भने, ‘कोरोनाको संक्रमण हुने डरले कोठा सफा गर्न सकिएको छैन।’ शौचालय जानुपर्ने डरले विद्यालयमा पानी समेत नपिउने गरेको उनले बताए। ‘क्वारेन्टिनमा बस्नेहरूका कारण शौचालय पुरै दुर्गन्धित छ,’ उनले थपे, ‘शौचालयमा फालिएका सामानका कारण कोरोनाको संक्रमण हुने डरले जाँदैनौं।’

क्वारेन्टिनका रुपमा प्रयोग भएका विद्यालयको पानी र विद्युतको महसुल समेत नगरपालिकाले नतिर्दा झनै समस्या भएको छ। नगरपालिकाले विद्यालय निसंक्रमण गर्न गरिदिने आश्‍वासन दिँदै आएपनि हालसम्म कुनै कार्य अगाडी बढाएको छैन।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले विद्यालय निसंक्रमण गर्न १५ लाख रुपैयाँ रकम विनियोजित गरिएको जानकारी दिएका छन्‌। ‘दशैं लगायतका चाडपर्व आउन लागेपछि भारतबाट फर्कनेहरूको संख्यामा बृद्धि भए पुन: विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याउनुपर्ने हुन्छ’ उनले भने, ‘त्यसैले सेनेटाइजको कार्य गरिएको छैन। विद्यालयलाई पुनः क्वारेन्टिनका रुपमा प्रयोग नगरे विद्यालय शुरू हुनु अगावै सेनेटाइजको कार्य गर्छौ।’ विनियोजित बजेटबाटै क्वारेन्टिनका रुपमा प्रयोग गरिएका विद्यालयको पानी र विद्युतको महसुल तिर्ने व्यवस्था गरिने उनले बताए।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै लगाइएको बन्दाबन्दीपछि शुक्लाफाँटा नगरपालिकाका २२ वटा विद्यालय र एक वटा क्याम्पसलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो। क्वारेन्टिनमा भारतबाट फर्केका नगरपालिका क्षेत्रका झण्डै चार हजार बढी व्यक्तिहरूलाई राखिएको थियो। 

असार मसान्त देखि २१ वटा विद्यालयमा सञ्चालन हुँदै आएका क्वारेन्टिन बन्द गरिएका छन्‌।  हाल श्रीकृष्ण माध्यमिक विद्यालयलाई क्वारेन्टिन र कृष्ण बैजनाथ क्याम्पसलाई नगरपालिकाले आइसोलेसनका रुपमा प्रयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.