|

कञ्चनपुर :  भीमदत्त नगरपालिका ९ जमुना भाणीका वादी समुदायका लागि सुरक्षित आवास निर्माणको कार्य अगाडी बढाइएको छ। वर्षौं देखि झुपडीमा बस्दै आएका वादी समुदायका लागि सुरक्षित आवास निर्माण हुन थालेका हुन।

भीमदत्त नगरपालिका र स्थानिय पूर्वाधार साझेदारी विकास कार्यक्रमको संयुक्त ५० लाखको लगानीमा नौ वादी परिवारका लागि आवास निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

आवास निर्माणमा राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुर र हेविटाट नेपाल नामक गैरसरकारी संस्थाले समेत प्रति घर निर्माणमा रु एक लाखका दरले सहयोग गरेको छ।

 वादी समुदायका लागि दुई कोठा, बरण्डा र सौचालय सहितका घरहरु निर्माण भैरहेका छन। ‘झोपडीमा त्रिपाल राखेर बर्षौ देखि बस्दै आएका थियौं', रमेश वादीले भने, ‘जनप्रतिनिधि आए पछि जस्तापाता राखिएको पक्कि घरमा बस्न पाउने भएपछि खुसिको सीमा नै छैन।’

‘बस्तीमा बस्दै आएको ३५ बर्ष बढी हुन थालेको छ’ उनले भने, ‘धेरै पटक चुनाव भए। मत माग्नका लागि आउनेहरु बाचा मात्रै गरेर जाने गरेका थिए। यसपटक निर्वाचित जनप्रतिनिधिले बोलेको वाचा पुरा गरेका छन्। बस्तीका सबै जना खुसी छौं।’

 बस्तीका अन्य २४ परिवार वादी समुदाय अझै पनि झुपडीमा बस्दै आएका छन।  सुरक्षित आवासमा पहुँच नपुगेका वादी समुदायका लागि समेत सुरक्षित आवास निर्माणका लागि सरकारी निकाय, सांसद, भीमदत्त नगरपालिका र गैरसरकारी संस्था संग समन्वयको कार्य भैरहेको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले थाहाखबरलाई बताए।

‘सबै क्षेत्रबाट सकारात्मक जफाव आएको छ’ उनले भने, ‘सबै क्षेत्रको सहकार्य भए चालु आ.ब.मै सुरक्षित आवासमा पहुँच पुग्न नसकेका वादी समुदायका लागि समेत आवास निर्माणका कार्य अगाडी बढ्छन।’ महाकाली नदीले छाडेको बगरमा तीन दशक देखि बस्दै आएका वादी समुदायले मजदुरी गरेर जीविका चलाउँदै आएा छन।

बस्दै आएको नदी बगरको ऐलानी जग्गाको स्वामित्व भने वादी समुदायले पाएका छैनन्। नाप जाँच गरी बस्दै आएको ठाउँको जग्गाको स्वामित्व प्रदान गर्न समेत वादी समुदायको माग छ।

वादी समुदायलाई जीविका चलाउ गाह्रो  

 महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी संकलन गर्ने र कृषि मजदुरका रुपमा कार्य गरी वादी समुदायले जिविका चलाउँदै आएका छन।

 भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको श्रोत समेत खोसिन थालेपछि बेखर्ची हुन थालेको मान बहादुर वादीले बताए। 

‘जुन ठाउमा जे मजदुरी पाउँछौ। त्यसबाट साँझ विहानको खर्च मुश्किलले जुटेको छ’ उनले भने, ‘दशैं आउनै लागेको छ। मिठो मसिनो खाने, नयाँ लुगा किन्ने क्षमता  छैन।’ सरकारले केही परिवारका लागि बस्न सुरक्षित आवास निर्माण गरेपनि कमाउने साधन नहुदा उहाँहरुले रोजगारी मुलक सीप सिकाई रोजगारमा संलग्न गराउनु पर्ने माग समेत गरेका छन।

‘झुपडीबाट पक्की जस्तापाताले छाना छाएको घरमा बस्न पाएका छौं’, गज्जु रानाले भने, ‘सरकारले रोजगारमुलक सीप सिकाई अनुदान रकमको व्यवस्था गरी स्वरोजगार बनाउनका लागि कार्य अगाडी बढाउनु पर्छ। नयाँ शासन व्यवस्था आएपनि पुरानै तरिकाले जीवन चलाउनु परेको छ। मजदुरी नपाउँदा कैयौँ रात भोक भोकै सुतेका छौं।’

पुख्र्यौली पेशाका रुपमा रहेको नाचगान गर्ने र माटाका भाँडाकुडा बनाएर बेच्ने त्यसबाट संकलित अन्नले परिवारको जीविका चलाउनु पर्ने बाध्यता थियो। हाल नाचगान गर्ने र भाँडाकुडा बनाउने कार्य परिवर्तित समय अनुसार छाड्दै गएकाले अन्य पेशा अपनाउनु पर्ने बाध्यता रहेको वादी समुदायको भनाई रहेको छ। पहाडमा छदाँ निकै थिचोमिचोको शिकार हुदा सहज जीवनयापनको खोजीमा वादी समुदाय तीन दशक अघि तराई झरेका हुन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.