|

काठमाडौं : काठमाडौंमा विदेशबाट आएको सामानको भन्सार तिर्न भन्दै पैसा मागेर ठगी गर्ने गरेको पाइएको छ। आफू विदेशबाट आएको भनी भन्सार तिर्न रकम माग गरेर ठगी गर्ने निर्मलजंग शाही पक्राउ परेपछि ठगीको नयाँ तरिका पत्ता लागेको हो। महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सुर्खेत लाटीकोइली घर भएका ४२ वर्षीय शाहीलाई कंलकीबाट पक्राउ गरेको हो।

शाहीले आफू पनि विदेशबाट आएको लगेज छुटेछ अहिले आउँदैछ, त्यसमा डलर समेत छ तर भन्सार तिर्ने पैसा भएन भन्दै रकम माग गर्ने र रकम लिएपछि फरार हुने गरेको उजुरीले आएपछि पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए।

'विशेषगरी ट्याक्सी चालक र होटल सञ्चालकलाई उनले ठगी गरेको पाइएको छ', उनले भने 'विदेशबाट सामान र डलर आएको छ, डलर दिन्छु भनी नेपाली रकम माग गरेपछि प्रलोभनमा परेर उनीहरु ठगीने गरेका छन्।' 

शाहीले अनुप पौडेल, विष्णु गिरी, शेरबहादुर श्रेष्ठ र विजु मगरसहित २६ जनाबाट छ लाख ९१ हजार पाँच सय रुपैयाँ ठगी गरेको प्रारम्भिक रुपमा खुलेको पनि उनले जानकारी दिए।

यसअघि पनि शाही ठगी मुद्दामा दुई वर्ष छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले २०६६ बैशाखमा उपत्यकाका विभिन्न सुन पसलबाट महिलालाई प्रयोग गरेर सुनका गहनाहरु ठगी गरेको आरोपमा सात वर्ष जेल भुक्तान गरेका थिए। उनी २०७३ असारमा जेलबाट छुटेपछि पनि ठगी धन्दामा नै फर्केको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.