विद्यार्थी नहुँदा मर्ज हुँदै विद्यालय

|

सिन्धुपाल्चोक : भूकम्पले पूर्ण क्षति पुर्‍याएका सिन्धुपाल्चोकका विद्यालय भवनमध्ये ९८ प्रतिशतको पुनर्निर्माण सकिएको छ। जिल्ला कार्यान्वयन इकाइ (शिक्षा)ले भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

भूकम्पले सिन्धुपाल्चोकमा ५०२ विद्यालयमा क्षति पुगेको थियो। इकाइले अघिल्लो दुई आर्थिक वर्षमा २०६ विद्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ। त्यस्तै, २१० भवन गैरसरकारी संस्थाहरुले निर्माण गरेका छन्। 

‘आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न हुनुपर्ने ४२ विद्यालय लकडाउन र ढिला अख्तियारीका कारण निर्माणकै क्रममा छन्,’ जिल्ला कार्यान्वयन इकाइका प्रमुख यम खड्काले भने, ‘भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएका नौ र चिनियाँ दूतावासको सहयोगमा निर्माण गरिने एक भवन निर्माणको क्रममा छन्।’ निर्माणको क्रममा रहेका भवन ९० प्रतिशत सकिएको खड्काले बताए। 

कार्यालयका अनुसार विद्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा अभावका कारण दुई र चिनियाँ दूतावासले निर्माण गर्ने दुई विद्यालय भवनको मात्र निर्माण सुरुवात भएको छैन। सुनकोशी माध्यमिक विद्यालय बुदेपा र उग्रचण्डी माध्यमिक बिद्यालय फुल्पिङ्कट्टीको सर्भे सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने जानकारी प्राप्त भएको प्रमुख खड्काले बताए।

जिल्ला कार्यान्वयन इकाइका इन्जिनियर अनिलकुमार यादवका अनुसार अहिलेसम्म तीन हजार ३९१ कक्षा कोठा तयार भई पठनपाठन सुरु भैसकेको छ। ५९२ कक्षाकोठा तत्काल निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन्।

भवन बन्यो, छैनन् विद्यार्थी

भवन निर्माण सम्पन्न हुँदै गर्दा कतिपय विद्यालयमा विद्यार्थी नभएको भन्दै स्थानीय तहले मर्ज गरेको छ। मर्ज गरेपछि निर्माण भैसकेका कतिपय विद्यालय भवन खाली भएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्ष शैक्षिक सत्रको सुरुदेखि हालसम्ममा १६ विद्यालय मर्ज भएका छन्। अघिल्लो वर्ष आठवटा विद्यालय मर्ज भएका छन्।

मर्ज भएका विद्यालयमध्ये मेलम्ची नगरपालिकामा सबैभन्दा बढी आठ विद्यालय छन्। पाँचपोखरी गाउँपालिकाले तीन र चौतारा साँगाचोकगढी नगरपालिकाले पाँच विद्यालय मर्ज गरेका छन्। मर्ज भई खाली भएका कतिपय विद्यालयको संरक्षणमा बेवास्ता बढेपछि वडा कार्यालयले संरक्षण गरी प्रयोग गरिने तत्कालीन व्यवस्था सुरु गरिएको मेलम्ची नगर प्रमुख डम्बर अर्याल बताउँछन्।

यता, चौतारा साँगाचोकगढी नगरपालिका–४ को सेतीदेवी पञ्चकन्या माविमा गाभिएपछि खाली रहेको जाल्पादेवी आधारभूत विद्यालय भवनमा सेतीदेवीमा सञ्चालित प्राविधिक कक्षा सञ्चालनको तयारी रहेको विद्यालयले जनाएको छ। विद्यालय मर्ज भए पनि बालबिकास केन्द्र र बैकल्पिक कक्षा सञ्चालनमा भवन प्रयोग हुने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका सूचना अधिकारी रमाकान्त अर्याल बताउँछन्। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय खाली हुँदै गए पनि बजार क्षेत्रका विद्यालयमा भने विद्यार्थीको चाप बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.