काठमाडौं : युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज किंग्स इलावेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) खेल्दै छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ।
जारी सिजनमा आरसिबी राम्रो लयमा देखिएको छ। उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ। आरसिबी १० अंकका साथ तालिकामा तेस्रो स्थानमा छ।
यता पञ्चाब भने धेरै म्याचमा जित नजिक पुग्दा पनि लगातार पराजय ब्यहोरिरहेको छ। उसले सात खेलमध्ये एक म्याचमा मात्र जित हासिल गरेको छ। पञ्जाबले आरसिबीविरुद्ध नै जित हासिल गरेको थियो। पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ।
पञ्जाबमा यो सिजनमा केएल राहुल कप्तान छन्। व्यक्तिगत रूपमा उनको प्रदर्शन शानदार रहे पनि टिमले भने लगातार पराजय ब्यहोरिरहेको छ। आरसिबीमा भने यो पटक पनि विराट कोहली नै कप्तान छन्।
सुरुवातका केही म्याचमा सस्तैमा आउट भए उनी पछिल्ला खेलमा लयमा देखिएका छन्। शारजाहको मैदानमा अन्य स्टेडियमको तुलनामा बढी रन बनिरहेको छ।
यो मैदानमा केही म्याचमा दुई सय बढी रन पनि बनेको छ। तर, पछिल्लो केही म्याचमा यो मैदानमा पनि हाइस्कोरिङ म्याच देख्न पाइएको छैन। यद्यपि आज दुबै टिममा विस्फोटक ब्याट्सम्यान भएकाले चौका÷छक्काको वर्षा देख्न पाइने छ।
जारी संस्करणमा शारजाहमा ६ म्याच भएका छन्। जसमा पाँच पटक पहिला ब्याटिङ गर्ने टिमले जित हासिल गरेको छ। हालसम्म आईपीएलमा पञ्जाब र आरसिबीबीच २४ म्याच भएको छ। जसमा पञ्जाबले १४ र आरसिबीले ११ म्याच जितेको छ।
गेलको सम्भावना कति?
आइपिएलमा पञ्जाबले अहिलेसम्म राम्रो प्रदर्शन गर्न सकेको छैन। पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ। केएल राहुल र मयंक अग्रवालको उत्कृष्ट प्रदर्शनको बावजुद पञ्जाब लगातार हारिरहेको छ।
यस्तो अवस्थामा सबैको दिमागमा यो प्रश्न उठिरहेको छ कि ‘युनिभर्स बोस’ क्रिस गेल कहिले प्लेइङ–११ को हिस्सा हुनेछन्? जारी सिजनमा उनले हालसम्म एक खेल पनि खेलेका छैनन्। गेल टी–२० का ग्लोबल सुपरस्टार हुन्।
पञ्जाबले अघिल्लो खेलमा विदेशी खेलाडीको कोटामा निकोलस पूरन, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन र मुजिब उर रहमानलाई खेलाएको थियो। तर, उसका विदेशी खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक छैन्। निकोलस पूरनले केही रन बनाए पनि ग्लेन म्याक्सवेलको ब्याट जारी लिगमा चल्न सकेको छैन्।
जारी लिगमा क्रिस गेलले अहिलेसम्म कुनै पनि खेलमा खेल्ने अवसर पाएका छैनन्। यदि क्रिस गेललाई प्लेइङ ११ मा समावेश गरियो भने उनी सुरुमै धेरै छिटो स्कोर गर्न सक्छन्।
यसले केएल राहुलमाथि दबाब कम गर्दछ र उनी अन्त्यसम्म पारीलाई लब्याउन सक्छन्। ग्लेन म्याक्सवेलले मध्यक्रममा अझै पञ्जाबका लागि राम्रो प्रदर्शन गर्न सकेका छैनन्। न त उनी राम्रो लयमा नै देखिन्छ।
यस्तो अवस्थामा उनको स्थानमा किंग्स इलावेन पञ्जाबले आज गेललाई खेलाउन सक्छ। पन्जाबले आजको खेलमा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ। टिमले गेललाई स्थान दिनसक्छ।
गत सिजन राम्रो लयमा देखिएका गेलले १३ खेलमा ४९० रन बनाएका थिए। उनी सर्वाधिक रन बनाउने सूचीमा छैठौं स्थानमा थिए। गेल लिग इतिहासकै आठौँ सर्वाधिक रनकर्ता समेत हुन्। जसले १२५ खेलमा ४ हजार ४८४ रन बनाएका छन् जुन क्रममा सर्वाधिक ६ शतक र २८ अर्धशतक प्रहार गरेका छन्।
लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर अविजित १७५ रन पनि गेलकै नाममा रहेको छ। यसक्रममा उनले २०११ र २०१२ मा लगातार २ सिजन अरेन्ज क्याप जितेका थिए।
आरसिबीको सम्भावित प्लेइङ–११ः आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल।
पञ्जाबको सम्भावित प्लेइङ–११ः मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल (कप्तान), निकोलस पूरन, मन्दीप सिंह, क्रिस जोर्डन, मुर्गन आश्विन, रवि बिश्नोई, मोहम्मद शमी मुजीब उर रहमान र अर्शदीप सिंह।
तपाईंको ईमेल गोप्य राखिनेछ ।