|

नेपालीहरूले सोचेका पनि थिएनन् होला—एक समय यस्तो पनि आउला,  एकदिन यस्तो पनि आउला, दशैँ जस्तो चाडमा पनि हलचल हुन नसकिएला। यी हरफ लेखिने समय भनेको २०७७ सालको दशैँको मध्यमा हो। दशैँ नेपालीहरूको घर आँगनमा आइसकेको छ। अझ यसपटक अधिकमासका कारणले एक महिना ढिलो सुरु भएको हो।

हुनत अहिले नेपालमा लकडाउन पनि छैन। निषेधाज्ञा पनि छैन तर संक्रमितहरूको संख्या दिनानुदिन बढिरहेको छ। यता केही दिनदेखि संक्रमितहरूको संख्याले भयावहको स्वरुप देखाएको छ। सरकार एकातिर नयाँ नयाँ नियम ल्याएर जनताको मौलिक हकको रुपमा पाउनु पर्ने यस्ता महामारीमा स्वास्थ्योपचारको सुविधाबाट साधारण जनतालाई बञ्चित गराउन लागेको बेलामा हाम्रो महान चाडले घर आँगनमा टेकेको छ। 

यसबेला नेपाल सरकार कसलाई स्वास्थ्य सुविधा दिने र कसलाई नदिने भन्ने विवादमा आफूलाई फसाएको छ। यो मौकामा हीरा फोर्ने बेला हो। जनताको सेवा गर्ने बेला हो , जनताको स्वास्थ्यको लागि जस्तोसुकै खर्च गर्न पनि तयार हुने बेला हो।

कोभिड —१९को विस्तार सीमाविहीनरुपमा बढिरहेको छ। नयाँनयाँ संकेत देखाएर विस्तारको स्वरुपको पखेटा फिँजाइरहेको छ। सन् २०१९ को अन्त्यमा सुरु भएको यो कोरोना नामको विषाणु अर्थात् भाइरसले संसार आक्रान्त छ। यी हरफ लेख्दा संसारभर कोरोना भाइरसबाट संक्रमितहरूको संख्या ४ करोड १५ लाख नजिक छ , कोभिड—१९ बाट मृत्यु हुनेहरूको संख्या पनि ११ लाख ३० हजारभन्दा बढी हुन लागेको छ। निकोहुनेको पनि संख्या ३ करोड १० हजारको नजिक छ। 

खासगरी युरोपमा एक लहरको मार खपेकोमा फेरि दोस्रो लहरले संक्रमितहरू र मृतकको संख्या बढ्न थालेको छ।

चाहे विकासित देश होस् या विकासोन्मुख देश होस्,  जब कोभिड—१९ प्रवेश गरेको देखिन्छ, त्यसले परिणाम कस्तो देखाउँछ भन्ने कुरा संसारको सबैभन्दा विकसित र शक्तिशाली देश संयुक्त राज्य अमेरिका हेर्दा स्पष्ट हुन्छ। त्यसपछि अहिले हाम्रै छिमेकी देश भारतमा त्यसले विस्तारको रुप फैलाइरहेको छ र नेपालमा एकप्रकारले अनियन्त्रित रुपमा प्रकोपले नेपालीहरूलाई आफ्नो पञ्जाका जकड्न थालेको छ।

यसबेला नेपाल सरकार कसलाई स्वास्थ्य सुविधा दिने र कसलाई नदिने भन्ने विवादमा आफूलाई फसाएको छ। यो मौकामा हीरा फोर्ने बेला हो। जनताको सेवा गर्ने बेला हो , जनताको स्वास्थ्यको लागि जस्तोसुकै खर्च गर्न पनि तयार हुने बेला हो।

संक्रमणले धनी , गरिब, बालक, तरुण, बृद्ध भन्दैन। कुन लिङ्गको हो भनेर हेर्दैन। बचाउनु पर्छ। सम्भावित अवस्था नआओस् भनेर सतर्कता अपनाउनु पर्छ। समुदायमा प्रवेश गरेको छ , काठमाडौँ उपत्यकामा यसरी प्रवेश गरेको छ कि प्रत्येक दिन मुलुकभरको संक्रमणभन्दा यहाँको संक्रमणको प्रतिशतले बाहिर निस्कन पनि नहुने जस्तो बनाएको छ। 

नोबेल कोरोनाको कुनै ओखती छैन। मात्र के थाहा छ भने त्यो विषाणुबाट सर्छ। विषाणु देखिँदैन। कसलाई भएको छ भनेर थाहा पनि हुँदैन। रोगको लक्षण पनि विभिन्न स्वरुपमा देखिएको छ। यतिमात्र थाहा छ, रोग लाग्दैमा सबै नमर्न पनि सक्छन् अनि रोगले सबै बाँच्छन् भन्ने पनि छैन। सतर्कताले पनि रोग सर्न छोडेको छैन र सरेको  रोगको कारण पनि खासै थाहा हुन सकेको छैन। 

अहिले नेपाली आँगनमा दशैँको चहलपहल सुरु भएको छ। संसारमा जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ दशैँको तयारी छँदैछ। दशैँ पहिले धार्मिक पर्वको रुपमा थियो भने अहिले विशुद्ध साँस्कृतिक चाडको रुपमा मनाउन थालिएको छ।

पहिले दशैं विशुद्ध हिन्दुको मात्र पूजाआजाको पर्व थियो भने अब यो खासगरी बहुधार्मिक नेपाली मात्रको साँस्कृतिक पर्वको रुपमा मनाउन थालिएको छ। दशैँको आधार आश्विन शुक्ल दशमीको दिन नै हो र नौ दिनको पूजाआजा पश्चात्को दसौँ दिनको महत्वलाई यसले सँगालेको छ।

त्रेतायुगमा श्रीरामले रावणजस्तो वीरलाई पराजित गर्नका लागि देवीको अतिरिक्त शक्तिको आह्वान गर्दै नौ दिनसम्म देवीलाई विभिन्न स्वरुपमा पूजाआजा गरेको प्रसङ्ग एकातिर आउँछ भने अर्कोतिर देवीको आह्वानका लागि चैत्र र आश्विन दुई पटक गरी नवाह लगाउने चलन पनि छ। नेपालमा अहिले पनि चैते दशैँ र दशैँ मनाउने चलन छ। एकथरि अनुसन्धाताका अनुसार चार मौसमका चारओटा नवरात्रिको व्यवस्था थियो अहिले वसन्त ऋतु र शरद ऋतुमा मात्र त्यसको प्रयोग गरिएको छ।

वास्तवमा यो बेला भनेको प्रकृति पूजनको बेला हो।  आखिर जीवन त प्रकृतिको देन हो र प्रकृतिले नै बचाउने हो। दिनरात बराबरी हुने, आश्विन शुक्ल पक्षमा जाडोको सुरुवात र चैत्रमा गर्मीको सुरुवात हुने बेलाको देवी पूजनको समय मानिएको छ। देवी भनेकी प्रकृति हुन् र मार्कण्डेय पुराणअन्तर्गतको सप्तशती चण्डी महिमा पढ्दा विशुद्ध प्रकृति पूजनको महत्व देखिन्छ। त्यहाँ वर्णित असुरहरूलाई मानिसको प्रकृतिमा देखिने अहङ्कारसँगको तादात्म्यता पाइन्छ भने विवेकरुपी शक्तिको रुपमा देवीलाई वर्णन गरिएको छ र विवेकले मात्र ती अहङ्कार , दम्भ र आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिन्छ। तिनै विवेकको सृजना गर्ने ज्ञान नै देवी हुन् र असुरको नाश गर्नको लागि उनको उत्पत्ति भएको भनेको विवेकको उत्पत्ति या प्रयोग नै हो।

दशैँ नेपालीहरूका लागि धार्मिक पर्वभन्दा परिवारका बिचको आपसी भेटघाट र सम्बन्ध वृद्धि गर्ने  सामाजिक मनोविज्ञानको सकारात्मक स्वरुपमा बुझ्न सकिन्छ। जसरी नेपाली समाज संक्रमितरुपमा अघि बढिरहेको छ र विश्वव्यापीकरणले नेपाली समाजलाई विभिन्न स्वरुपमा विश्वभर छरिन सक्ने बनायो।

अहिले दशैँ पनि विश्वभर नेपालीहरूलाई एकतामा जोड्ने पर्वको रुपमा देखिएको छ र यसका स्वरुप पनि स्थानअनुसार फरक फरक पनि हुन सक्ने सम्भावना बढेर गएको छ। विश्वभर नेपालीको महान चाड भनेर दशैँ र तिहारलाई सवै धर्म र सँस्कृतिका मित्रहरूले स्वीकार गरिसकेको अवस्था पनि अहिले विद्यमान छ। अमेरिकी राष्ट्रपति जिम्मी कार्टर , बिल क्लिन्टन र बाराक ओबामाहरूले अमेरिकामा बसेका नेपालीहरूलाई शुभकामना दिए।

धेरै जसो पश्चिमा देशहरूमा हिन्दूहरूको संख्या बढ्दै गएकाले पनि दशैँ अर्थात् दुर्गा पूजाको महत्व सर्वत्र प्रसारित हुँदैछ। पूर्वमा पनि त्यसको प्रभाव झन देखिन्छ। पूर्वी एसिया त पूर्वी सभ्यताको प्राचीन थलो नै भयो किनभने थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसियामा बुद्ध धर्म , इसाइ धर्म र इस्लाम धर्मका मानिसहरू भए पनि दशैँमा रामलीलाको रौनक त्यहाँ हुने रहेछ जसले प्राचीन सभ्यताको अवशेष अझै बाँकी छ भन्ने देखाउँछ।

पुरानो समयमा पनि दशैँले परिवारहरूलाई सङ्गठित र पुनर्सङ्गठित गर्दथ्यो र आध्यात्मिक चिन्तनमा लिप्त गराउँथ्यो। नौ दिनसम्म जमरा राखेको ठाउँमा विभिन्न स्वरुपमा देवीको आह्वानमा पूजा गर्दै जस्तोसुकै समस्यासँग जुधेर विजयी हुनका लागि त्यसले मनोवैज्ञानिक उर्जा दिन्छ र विजया दशमीको रुपमा स्वीकृत थियो।

दशैँ खानपिन र राम्रो लगाउने चाडको रुपमा नै स्वीकृत थियो। त्यतिहुँदा पनि नेपालमा मनाइने दशैँ या नवरात्रिको सामाजिक मान्यता र नेपालबाहेक अन्य देशमा मनाइने दशैँको महत्ता र प्रक्रियामा मौलिकरुपमा नै अन्तर पाइन्थ्यो। प्रत्येक परिवारले आफ्नो घरमा जमरा राखेर देवीको पूजा गर्नु र प्रत्येक परिवारले देवीको प्रसादका रुपमा विजया दशमीका दिन फूल र जमरा लगाउनु  नेपाली विशेषता हो। महिषासुरको वधका कारणले केही समुदायले महिष वध गरेर खाने र अरुले खसी, बोका, हाँसको वध गरेर प्रसादको रुपमा मासु खाने चलन पनि विशेषताको रुपमा नेपालमा मात्र पाइन्छ।

मासु खाने काम ठीक हो कि होइन भन्ने विवाद पहिलेदेखि नै छ तर पनि आमरुपमा दशैँ भनेको मासु खाने चाडको रुपमा नै लिइन्छ। सायद नेपाल नै यस्तो साँस्कृतिक चाडमा सरकारले दिने लामो विदा पाइने देश हुन पनि सक्छ। जसले दशैँ मनाउँछ, त्यसले त मनाउने नै भयो , जुन समुदायले दशैँ मनाउँदैनन् ,तिनले पनि यसलाई नेपालमा राष्ट्रिय चाडको रुपमा मिठो मिठो खाएर र पर्व मनाउनेलाई शुभकामना दिएर मनाउँछन्।

नेपालमा दशैँ र तिहार मनाउने चलनमा मौलिकता छ र यसको अनुसन्धान कमै भएको पाइन्छ। देवी पूजाबाहेक यसका विशेषताहरूमा पर्छन्—पिङ खेल्ने, मासु खाने , टीका लगाउने र टीका लगाउन आफ्ना नातेदारहरूका घरमा जाने।

बहिनी छोरीहरू माइत आउने, ससुराल जाने र भान्जाभान्जीहरू मावलमा टीका लगाउन आउने। टीकाको लगाई पनि नेपालमा ठाउँअनुसार फरक फरक चलन देखिन्छ। काठमाडौँ वरिपरि र पूर्वतिर कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाउन नलगुन्जेलसम्म टीका लगाउने चलन छ भने गण्डकी अञ्चलदेखि पश्चिम र मध्यपश्चिमको माथिल्लो भेगसम्म दशैँको टीका अर्थात् दशमीका दिनमात्र टीका लगाउने चलन अझै पनि छ। अनि नेपालीहरू जहाँ जहाँ सन्सारमा गएका छन्, त्यही आफ्नो मौलिक रैथाने चलनलाई मान्दै आएका देखिन्छन्।

नेपालको दशैँमा महाभारतकालीन झझल्को देखिन्छ। टीकाका दिन मान्यजनले लगाइदिने टीकाको आशीर्वादमा मुख्यतःयस्तो भनिन्छ—

आयुद्र्रोणसुते श्रेयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानेविदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

अर्थात् आयु अश्वत्थामा वा द्रोणपुत्रको जस्तो होस्। चिरञ्जीवी हुनू। रामचन्द्रको जस्तो शत्रु दमन गर्नसक्ने क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य अर्थात् स्वर्गको इन्द्रको पदवी पाएका नहुषको जस्तो सम्पत्ति श्री बढोस्। वायुको जस्तो अनवरत , कहिल्यै नरोकिने गति होस्।

दुर्योधनको जस्तो मान होस् जसलाई गुरु, पितामहसम्मले राजाको रुपमा मान दिएका थिए। दानशीलता कर्णको जस्तो होस् जसले मागेको दिनका लागि आफ्नो छालासमेत काडेर आफ्नो कबच दान दिएका थिए। कर्णजस्तै दानवीर हुनू। बलमा बलराम जस्तो हुनू। सत्यको सम्मान गर्नका लागि युधिष्ठिर जस्तो सत्यवादी हुनू। विदुरजस्तै ज्ञानी , विवेकी र नारायण कृष्णको जस्तो कीर्ति फैलियोस्।

यो आशीर्वचन कसले लेख्यो , कसले भन्न सुरु गरेको हो , सायद कसैलाई पनि थाहा छैन तर यो आशीर्वचनले के देखाउँछ भने महाभारतकालको प्रभावले दशैँ आच्छादित छ। प्रकृति देवीको आराधना, समशीतोष्ण मौसम, खेतीको लगाउने काम समाप्त भएको, हिलोसँग खेलेर भर्खर बसेको बेला, मिठो मिठो खाने अझ मासुका परिकारहरू पनि खाने अनि सपरिवार भेटघाटका लागि देवीको प्रसाद टीकाको बहानामा मान्यवरले आशीर्वचन पनि दिने कति रमाइलो समयको परिकल्पना गरिएको।

जमराका वारेमा भनिन्छ—यो लगाउने कि खाने हो ? लगाउने चलन त छँदैछ, जमरालाई खाने चलन पनि आयुर्वेदले कल्पना गरेको छ औषधिको रुपमा।

नेपाली मात्रको विशिष्ट पहिचान देखिने मौलिक चाड दशैँलाई आपसी भाइचाराको सम्बन्ध वृद्धि गर्न र सदियौँदेखिको नाता परिवारलाई एकजुट बनाउन, कुनै रीसइवीविनाको समाज निर्माणको मनोविज्ञान लिएको यो चाडलाई अझ परिमार्जित गरी यसपटक कारोना कहरसँग दशैँ पनि सबै धर्म र सँस्कृतिको साझा चाडको रुपमा मनाउनु पर्ने छ। आखिर कोभिड १९ले जति गाँजे पनि जीवन त बचाउनै पर्छ। परम्परा धान्नै छ। फेरि पनि जीवन त चाहिन्छ। त्यसैले दशैँ सादगीपूर्ण तरिकाले मनाऔँ। भीडभाड गरेर मनाउन त अर्को साल पनि त छ।

यो मौलिक चाडमा सम्पूर्ण मानव जातिको कल्याण होस् , शान्तिपूर्ण जीवन यापन गर्नका लागि माता भवानीले सबैलाई वरदान दिनुहोस् र सम्पूर्ण नेपालीको हितका लागि माताले विशेष आशीष दिनुहोस् भन्ने कामना गरौँ।

या देवी सर्वभूतेषु शान्तिरुपेण सँस्थिता।

नमस्तस्यैः नमस्तस्यैँः नमस्तस्यैः नमोनमः।।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.