दुई अध्यक्षबीचको विवादमा नेता नेपाल मौन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन दोस्रो र तेस्रो नेताहरु सक्रिय भएका छन्। विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको सँघारतिर गएपछि नेताहरु पार्टी एकता बचाउनमा केन्द्रित भएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक किचलोका कारणले विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नै अडानका कारणले पार्टी दुर्घटना नजिक पुगेका बेला नेताहरुले कुनै पनि अवस्थामा विभाजित हुन नदिने बताइरहेका छन्। 

नेकपाभित्र पछिल्लो ६ महिनायता क्रमबद्ध रुपमा विवादको सिर्जना भइरहेको छ। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको आन्तरिक स्वार्थका कारण विवाद पटक पटक भुसको आगो झैँ सल्किरहेको छ। 

माधव नेपाल मौन

त्यसो त पार्टीभित्रको विवादमा प्रधानमन्त्री ओली विरुद्धको मोर्चाबन्दीमा अध्यक्ष दाहाललाई सघाइरहेका नेता नेपालले पछिल्लो पटक उत्पन्न विवादमा मुख खोलेका छैनन्। नेता नेता र उनीनिकट नेताहरुले मुख नखोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

नेकपाभित्र राजदूत नियुक्ति, संघीय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेश सरकारको किचलो, भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता र पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच असमझदारी बढेको हो।  

एकतामै एकमत

शीर्ष नेताबीचको किचलोका कारण विवाद उत्कर्षमा पुगेका बेला दोस्रो र तेस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन्। यसअघिको विवादमा पनि पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरुको दबावले विवाद मथ्थर भएको थियो।

पछिल्लो समयको विवाद समाधानका लागि विभिन्न तहमा नेताहरूबीच आन्तरिक छलफल भइरहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।

‘समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे विभिन्न तहका नेताहरूको छलफल भइरहेको छ, हामी पार्टीभित्रको विवाद सुल्झाउन केन्द्रित भएका छौँ’, उनले भने। पार्टीभित्रको विवाद चर्किएपछि नेता नेम्वाङ समाधानमा सक्रिय भएर लागिपरेको छन्। 

यस्तै, दुई अध्यक्षको विवादले पार्टी फुटको सँघारसम्म नपुगेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘पछिल्ला दिनमा पार्टी नेतृत्वमा केही समस्या देखिएको छ। तर, यसलाई लिएर फुटको संघारमा पुगेको भन्न मिल्दैन,’ उनले भने, ‘हामी एकताको पक्षमा उभिएर समस्या समाधानका लागि केन्द्रित भइरहेका छौँ।’

‘अध्यक्षद्वयले मिलाउनुपर्छ’

अहिलेको विवाद प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएकोले समाधान पनि उनीहरुले न गर्नुपर्ने एकजना स्थायी कमिटी सदस्य मणि थापाको तर्क छ। 

‘पार्टीमा आन्तरिक बिमति देखिनु स्वभाविक हो। तर, अहिलेसम्मको विवाद सचिवालयमै घुमिरहेको छ', उनले भने, 'तल्लो तहमा पुगिसकेका छैन। त्यसैले यो विवादको समाधान अध्यक्षद्धयबाट नै हुनुपर्छ। पार्टी फुट्दैन।’ 

पार्टीको समस्या चर्किँदै गएमा स्थायी कमिटीको बैठक राख्नुपर्ने उनले बताए। तर, तत्कालका लागि कुनै बैठक बोलाउन सक्ने अवस्था नरहेको उनले बताएका छन्। 

ओलीलाई सरकार, दाहाललाई पार्टी

महिनौंसम्म चलेको विवादपछि बसेको भदौ २६ गतेको स्थायी कमिटीको बैठकको निर्णयअनुसार ओलीलाई सरकार र दाहाललाई पार्टीको नेतृत्व गर्ने केन्द्रीय सदस्य बिष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। 

पार्टीको निर्णयअनुसार नै चल्ने भएकाले नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका पार्टी कुनैपनि हालतमा नफुट्ने उनको दाबी छ। ‘नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका पार्टी कुनैपनि हालतमा फुट्दैन। प्रधानमन्त्री ओलीले पाँच बर्ष सरकार र अध्यक्ष दाहालको नेतृत्वमा पार्टी चल्छ’, उनले भनेका छन्। 

विवाद समाधानका लागि सहमतिको आधारमा  मन्त्रिपरिषद् पुनर्गठन हुने उनले दाबी गरेका छन्। सबै असहमतिहरूको समाधान कमिटी बैठकहरूबाट खोजिने उनको भनाई छ। 

यसअघि प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। ओलीले नियुक्त गरेका मन्त्रीहरु सबै उनीनिकट छन्। अध्यक्ष दाहाल र नेता नेपाल निकट कसैलाई पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले सरकारमा समावेश गराएका थिएनन्।

‘लेनदेनमा सहमति’ 

समस्या समाधानका लागि लेनदेनबाट सहमति हुने केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराई बताउँछन्। ‘विवाद विभाजनको स्थानसम्म पुग्दैन। हामी पुग्न दिदैनौँ, यो सामान्य विवादको रुपमै रहन्छ,’ उनले भने, ‘आजको विवाद वैचारिक र सैद्धान्तिक होइन। नीतिमा विवाद नभएका कारण पार्टी कुनै पनि हालतमा फुट्दैन, अब केही पद आकांक्षा पूरा गर्नुपर्ने देखिन्छ। समझदारीमा त्यसलाई मिलाएर अघि बढ्नुपर्ने हुन्छ।’

फरक पृष्ठभूमिबाट आएको भएकाले पार्टीभित्र पटक पटक विवाद बल्झिएको उनको ठहर छ। ‘हामी फरक पृष्ठभूमिबाट आएको भएकाले विवाद उत्पन्न भइरहेको छ’, उनले भने, ‘महाधिवेशन गर्न सकेका छैनौँ। महाधिवेशनपछि विचार र नेतृत्व अनुमोदित हुन्छ। त्यसपछि पार्टीभित्रको विवाद समाधान हुन्छ।’

नेकपामा मात्रै नभएर अन्य पार्टीमा पनि आन्तरिक विवाद चलेको उनको ठहर छ। ‘नेकपामा मात्रै होइन। अरु पार्टीमा पनि विवाद छन्’ उनले थपे, ‘हाम्रो पार्टी सरकारको नेतृत्व गरेको र ठूलो पार्टी भएकाले विवाद बढी चर्चामा आएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.