काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ। यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि दुबईमा सुरु हुँदैछ।
जारी सिजनमा मुम्बई लिग चरणमा १४ मध्ये ९ म्याच जितेर प्ले अफ प्रवेश गरेको थियो। त्यस्तै, दिल्ली १४ मा ८ म्याचमा जित हासिल गर्दै दोस्रो स्थानका साथ प्लेअफमा प्रवेश गर्न सफल भयो।
आज विजयी हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ। पराजित हुने टिमले इलिमिनेटरमा विजयी हुने टिमसँग खेल्ने मौका पाउने छ।
लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ९ विकेटले हराएको थियो। मुम्बई भने सनराइजर्स हैदराबादविरुद्ध १० विकेटले पराजित भएको थियो।
सन्दीपले मौका पाएनन्
लिग चरणका कुनै पनि खेलमा मौका नपाएका दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा अवसर पाउन असफल भएका छन्।
योसँगै सन्दीपले आईपीएल २०२० मा कुनै पनि म्याचमा मौका नपाउने सम्भावना निश्चित जस्तै भएको छ। आज दिल्लीले अघिल्लो खेलमै प्लेइङ-११ लाई निरन्तरता दिएको छ।
मुम्बईले भने प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको छ। उसले जेम्स प्याटिन्सन, सौरभ तिवारी र धवल कुलकर्णीलाई विश्राम दिँदै हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहलाई मौका दिएको छ।
मुम्बईको प्लेइङ ११
क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकल्टर नाइल ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह।
दिल्लीको प्लेइङ ११
शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।