|

अर्घाखाँची : केही वर्षयता तिहारमा मखमली र सयपत्रीको माला देखिनै छाडेका छन्। प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ। तिहारमा भारतबाट भित्रिएका प्लाष्टिकका कृत्रिम माला प्रयोग गर्ने बानी बस्दै गएको छ। 

यो वर्ष दसै सकिने बित्तिकै नेपालीहरूको दोस्रो ठूलो पर्व  तिहार सुरु भएको छ। तिहारमा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई मखमली, सयपत्री फूलको माला र सप्तरंगी टीका लगाइदिने प्रचलन रहेको छ। मखमली फूल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहने भएकाले तिहारमा यी फूल र बिरुवाका माला निकै महत्वपूर्ण मानिन्छ।

तिहार पर्वमा गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमली, सयपत्रीको माला र कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य तथा दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ।

तर अचेल गाउँघरमा फुल्ने मखमली, सयपत्री र गुरधौली फूल देखिन छोडेको छ। प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूलेपनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको स्थानीय बिष्णु प्रसाद भट्टराईले बताए।

प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको भट्टराईको भनाई छ। जिल्लामा कृषि विकास कार्यालय र कृषि सम्बन्धि काम गर्ने संस्थाहरूले यसको संरक्षण नगर्दा पनि सयपत्री र मखमली फूल लोप हुने अवस्थामा पुग्न थालेको हो। 

सयपत्री र मखमली नभए तिहारको महत्व कम

नेपालमा अहिलेसम्म ४१ जिल्लामा व्यवसायिक रूपमा फूल खेति भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, रूपन्देही, विराटनगर  लगायतका विभिन्न नेपालका ४६ जिल्लामा करिव ६९४ फूलको व्यवसाय गर्ने फर्म र नर्सरी सन्चालनमा छन्।

तिहारमा प्रयोग हुने ८५ प्रतिशत सयपत्रीको माला स्वदेशी उत्पादनले धान्दै आएको छ भने बाँकी १५ प्रतिशत भारतबाट आयात हुने गरेको छ। सयपत्री फूल फुल्ने समय पहिलाको भन्दा छिटो भएका कारण केही वर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्री र मखमली फूल हिजो आज लोप हुँदै गएको तीन दशक देखी पुष्प व्यवसाय गर्दै आएका अर्घाखाँचीका कमानसिहं दर्लामी बताउछँन्।

​यो वर्षको तिहार पर्व मलमासका कारण करिव एक महिना पछाडि धकेलिएका कारण कतैकतै करेसाबारीमा फूल फुलेर सुकेको त कतै फुल्दै गरेको व्यवसायी दर्लामी बताउछँन्। 'मानिसले मखमली र सयपत्री फूलको महत्त्व बुझ्नै सकेनन्, फूल उत्पादन भएपनी  धेरै जसो मानिसहरूले प्लास्टिकको फूललाई महत्व दिएर गलामा लगाउने गरेका छन्‌,' उनले भने। 

नेपालमा झन्डै ६ हजार प्रजातिका फूल फुल्ने गर्छन्। तीमध्ये २४६ प्रजाति फूल अन्य मुलुकमा पाइँदैनन्। कृषि प्रधान देश भएर पनि अर्थतन्त्रमा मुख्य भूमिका खेल्न सक्ने फूलजन्य पेशा अहिलेसम्म उपेक्षामा परेको व्यवसायीहरू बताउँछन्‌।

अझै पनि फूलको व्यवसाय शहरदेखि गाउँसम्म पुग्न सकेको छैन। युवाहरू रोजगारीका लागी खाडी मुलुक पुग्ने, तर गाउँका खेतबारी बाँझो फर्कन थालेका छन्‌। गाउँघरमा बसेर कृषिजन्य तथा फूल व्यवसाय गर्ने बानीको विकास हुन सकेको छैन। यो विषयमा सरकारले पनि खासै चासो नदिएको पुष्पखेतीमा लागेकाहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.