|

डोल्पा : गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालयहरू खुलेका छन्। कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालयहरू आठ महिनापछि खुलेका हुन्। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका,मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरू खुलाएका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गते देखि खोल्ने गरि नगरपालिका भित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो। लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माध्यामिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याईएको उपाध्यायको भनाइ छ।

ठूलीभेरीका खुलेनन्

अर्को ठूलिभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन। प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलिभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ।

तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन्। दुवै स्थानीय तहले दशैँ बिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन्।

उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए।​ नजिकिँदै गरेको वनर्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ।

त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन्।

अहिले पनि तिन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरि धमाधम बार्षिक परीक्षा लिइरहेका छन्। अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ।

उपल्लो डोल्पामा ६ महिना मात्र पढाई हुने भएकाले बैशाखमा खुलेका विद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन्।​ काईके गाउँपालिकाले लकडाउन बिचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बिचमै पठनपाठन रोकेको थियो।

प्रशासनद्वारा बन्द गर्न निर्देशन

डोल्पाका स्थानीय तहले सरकारको निर्देशन विपरित विद्यालय खुलाएका छन्।

कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफूखुशी विद्यालय चलाएको प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले विद्यालयमाहुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ।

निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलिभेरी नगरपालिका,जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ।

कोरोनाको महामारिबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन,स्थानीय सरकार लगायत सम्पुर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ शुरेस सुनारले बताए।

“विद्यालय खोल्न संघिय सरकारको निर्देशन छैन, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे,अब लिखित निर्देशन नै दिन्छौँ, अटेर गरे भने कारबाही गर्छौँ” प्रजिअ सुनारले भने।

“जिल्लामा उपलब्ध रेडियो,इन्टरनेट प्रयोग गर्नुकासाथै टोलटोलमा शिक्षक परिचालन गरेर पछि शिक्षा प्रदान गर्न सकिन्छ,विद्यालय खोलेर मात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ’ उनले थपे।

आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना संकट व्‍यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका विद्यालय तत्काल बन्द गर्न आजै लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले जानकारी दिइन्।

त्यति मात्र नभई जिल्ला अस्पतालमा रुघाखोकीका बिरामि बडेका पाईएकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने,तिहारमा देउसीभैले खेल्न नपाइने जस्ता निर्णयसमेत गरिएको शर्माले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.