'नेपालीले भन्दा विदेशी पर्यटकले लोकबाजाको महत्त्व बुझ्छन्‌'

|

काठमाडौं : यतिखेर हिन्दू धर्मावलम्बीको घरमा दशैँ पछाडिको दोस्रो चाड तिहार प्रवेश गरिसकेको छ। तिहार आएपनि गत वर्षजस्तै बजारमा किनमेल गर्नेहरूको खासै भीडभाड पनि देखिँदैन।

यसअघिका तिहारताका उपत्यकाका चोक-चोकमा रङ्गदेखि भाइमसाला किन्नेहरूको भीड लाग्थ्यो। गाउँ-शहर सबैतिर कोरोना महामारी फैलिँदै गएकोले  यसपटक उल्लासमय वातावरण पनि छैन।

तिहार विशेषगरी बत्ती र संगीतको चाड हो। तिहारमा प्रत्येकको घर बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी-भैलो खेल्नेको भीड देखिन्छ। तर यसपटक रोगले गलेको देशमा तिहारका बेला घर आँगनमा देउसीसहित मादलको धुन बज्ने छैन। यसपटक कोभिड संक्रमितको संख्या बढेकाले भीडभाड नगर्न सरकारले निर्देशन दिइसकेको छ।

कोरोना महामारी नभएको भए तिहारअघिदेखि मादल पसलमा ग्राहकको भीड बढिसकेको हुन्थ्यो। तर, यसपटक सुनसान देखिन्छ। मादल ग्राहकको हातमा होइन, पसलमै झुण्डिएको छ।

विगतमा काठमाडौंका पसलमा मादल सकिएर विभिन्न जिल्लाबाट मगाउनुपर्ने अवस्था रहन्थ्यो। यसपटक भने बिक्री हुन नसकेको व्यापारीहरू बताउँछन्।

‘नेपाली ग्राहकले मादल भन्दा बढी गितार खोज्छन्’

लैनचौरस्थित नेपाल म्युजिक ग्यालरीका कमल सुवेदी संगीतका सामग्रीहरू रुङ्दै बसेका छन्। गत वर्षको तिहारमा उनको पसलमा मादलजस्ता लोक संगीतका सामग्री खरीद गर्ने ग्राहकको कमी थिएन। महामारी शुरू भएपछि मादल खरिद गर्ने ग्राहक संख्या शून्य भएको उनी बताउँछन्।

'मादल किन्‍न दशैँदेखि नै पसलमा ग्राहकहरूको भीड लाग्ने गर्दथ्यो,' उनले भने, 'कोरोना महामारी शुरू भएपछि मादलका खरी सोध्दै आउने ग्राहक हराए।' ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्ने गर्छन्। उनको पसलमा १५ सयदेखि १४ हजार रुपैयाँ मूल्यबराबरको मादल पाइन्छ।

नेपाली लोक धुन र परम्परागत बाजा भएकोले मादल तथा सारंगीको बढी बिक्री हुने गरेको उनको भनाइ छ। नेपाली ग्राहकले मादल, सारंगी अन्य नेपाली लोक बाजाभन्दा गितार बढी खोज्ने गरेको उनको अनुभव छ। 'गितारलाई २५ सय भन्दा सहजै तिर्छन् तर, मादललाई २५ सय रुपैयाँ तिर्न गाह्रो मान्ने गर्छन्‌,' उनी सुनाउँछन्।

ग्राहकहरूले हिजो आज अनलाइनबाट संगीतका सामग्री माग गरेको कारण पनि ग्राहकको संख्यामा कमी आएको उनलाई लागेको छ। अनलाइनबाट मगाउँदा गुणस्तरीय सामान नपरी ग्राहक ठगिनेसक्ने उनको दाबी छ।

नेपाली ग्राहकले भन्दा बढी विदेशी पर्यटकले नेपाली लोक बाजाको महत्त्व बढी बुझेको उनको बुझाइ छ। म्युजिकल ग्यालरीमा नेपालीभन्दा पनि विदेशी ग्राहक बढी आउँछन्।

काठमाडौंका पसलमा राखिने अधिकांश मादलहरू उपत्यका बाहिरका जिल्लाबाट ल्याउने गरिन्छ। धादिङ, गोर्खा र नुवाकोटका मादल उपत्यकाका विभिन्न म्युजिक ग्यालरीमा भेटिन्छ। मादल बनाउन गरिएको मेहनत र व्यक्तिको हात अनुसार मजबुत हुनेमा व्यापारीहरू विश्वास गर्छन्।

कोरोनाले ग्राहक खोस्यो

ठमेलका अर्का मादल लगायत अन्य साङ्गीतिक सामग्री बिक्री गर्ने व्यापारीको पीडा सुवेदीको जस्तै रहेको छ। ओम तारा म्युजिकल ग्यालरीका दिग्गज कुमाल मादल किन्ने ग्राहकको पर्खाइमा छन्। तर, उनलाई थाहा छ : यसपटक कुनैपनि ग्राहक मादल किन्न आउँदैनन्। महामारीको समयमा पसल किन बन्द गर्नु भनेर दैनिक खोल्ने गरेको उनी सुनाउँछन्।

नियमित ग्राहकले मादल मात्र खरीद नगरी अन्य सामग्री पनि लाने गरेको कुमाल बताउँछन्। 'तिहारको सयमा यस ठाउँमा ग्राहकले गर्दा खुट्टा टेक्ने ठाउँ समेत हुँदैन थियो,' उनले भने, 'यसपटक ग्राहक पनि छैनन्, मादलमा लागेका धुलो हरू पुछ्दै बस्नुपरेको छ।' महामारीले मादलको ग्राहक खोस्यो। मादल किन्न आउने ग्राहक कोरोना त्रासका कारण घरमै बसेका छन्।

मादलमा बनाइएको बुट्टा अनुसार मूल्यमा फरक पर्छ। पसलमा १५ सय देखि २५ हजार रुपैयाँ सम्मका मादल छन्। 'भाडामात्रै २५ हजार रुपैयाँ तिर्नुपर्छ, आफ्नो पुरानो व्यवसाय धान्न ग्राहक नभएपनि खोलेर बसेको छु,' उनले अगाडि थपे।

उनका नियमित ग्राहक इटाली, जापान र भारतका छन्। पुरानो पसल भएकोले महामारीको समयमा टिक्न सकेको उनको बुझाइ छ।

मादलको ताल कोरोनाले खोस्यो

मादल नेपालीहरूको मौलिक बाजा भएकोले यसलाई सबैले जगेर्ना गर्नुपर्ने मादल वाद्यवादक खड्गबहादुर बुढा मगर बताउँछन्। यसपटकको महामारीमा मानिसको जमघट कम हुने भएकोले घरमा बसी आफ्नो परम्परागत बाजा बजाइ रमाइलो गर्न उनले आग्रह गरे। मादलको ताललाई यसपाली महामारीले खोसेकोमा उनी पनि चिन्तित देखिन्छन्।

‘नेपाली समुदायमा मादलले छुट्टै पहिचान बोकेर बसेको छ,’ उनले भने, ’सानो वा ठूलो भीडमा यसले मानिसलाई छिटो मनोरञ्जन प्रदान गर्छ। नेपालीका विभिन्न समुदायका आ-आफ्नै मौलिक बाजा रहेको छ।‘

नेपाली लोक भाकाका सामग्रीहरूलाई प्रोत्साहन गर्न विद्यालय स्तरको शिक्षामा समावेश गर्नलाई उनले सुझाव दिए।

कोरोनाले फुर्सद दियो

काठमाडौंमा कुलु समुदायले मादल बनाउने गर्छन्। कुलु समुदायले मादल बनाउनुअघि उपत्यका आसपासका जिल्लाबाट मादल ल्याएर बिक्री गर्ने गरिन्थ्यो। सानु कुलुलाई पोहोर तिहारसम्म मादल बनाएर भ्याइनभ्याइ हुन्थ्यो।

यसपटक भने महामारीले मादल बनाउनेलाई आराम दिएको छ। नियमित मादल किन्न आउने ग्राहकको फोन पनि पातलो आउने गरेको उनी सुनाउँछन्।

काठमाडौंमा भूकम्प पछाडि मादलको बिक्री र माग ह्वात्तै घटेको उनको दाबी छ। उपत्यका आसपासका जिल्लाका मानिसहरू अहिले पनि किन्न आइरहेका छन्। काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका मानिसहरू आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.