|

ओखलढुंगा : ओखलढुंगाका स्थानीय तहले सूचनाको हक प्रयोग गरी मागिएका सूचना समेत ​दिने गरेका छैनन्‌। लिखित निवेदन दिएर मागेका सूचना नदिने र पटक-पटक ताकेता गर्दा पनि विभिन्न बहाना देखाउँदै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू उम्कने गरेका छन्‌।  

पत्रकार तथा सामाजिक अभियन्ताहरूले मागेका सूचना लुकाउने वा नदिने गरेको भन्दै नागरिक समाज र पत्रकारहरूले सार्वजनिक रुपमा गुनासो गरेका छन्।  निवेदन लेखेर इमेलमा पठाएपछि जानकारी गराएर आफूले माग गरेको विवरण दिन आग्रह गर्दा सकारात्मक कुरा गरेपनि नदिने गरेको पत्रकार रामहरि श्रेष्ठले बताए। धेरैपटक माग गरिएका सूचना पाइएको छैन, फोनमा कुरा गर्दा हुन्छ नछाड्ने, तर सूचना नदिने गरेको उनको भनाई छ।

सूचनाको हक सम्बन्धी ऐनको प्रावधान अनुसार जिल्लाका आठै स्थानीय तहमा माग गरिएको कोरोना खर्चको विवरण लामो समय बित्दा पनि उपलब्ध नभएको पत्रकार महासंघका कोषाध्यक्ष तथा सोच नेपालका सुशासन अभियन्ता बोधनारायण श्रेष्ठले बताए। पाँच स्थानीय तहबाट लिखित रुपमा माग गरिएका विवरण आशिंक रूपमा पाइए पनि अरु तीन तहले नदिएका उनले बताए। दिएका सूचना पनि गोलमोटल रहेका र मागे बमोजिम उपलब्ध नगराएको उनको भनाई छ।

जिल्लामा यसरी सूचना लुकाउनेमा स्थानीय तहमा सुनकोसी, चम्पादेवी र मानेभञ्ज्याङ अग्रस्थानमा छन्‌। सुनकोसी र चम्पादेवी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च अझै सार्वजनिक गर्न सकेका छैनन्। नेपाल पत्रकार महासंघ ओखलढुंगाका कार्यवाहक अध्यक्ष शिवप्रसाद ढुंगानाले आफूले दुई महिनादेखि सूचना माग गरेर निवेदन दिए पनि नपाएको बताए। सूचना अधिकारी नभएको, कहिले कार्यालय प्रमुख नभएको, अरू कर्मचारीको दराजमा फाइल भएकाले नसकिने जस्ता जवाफ दिने गरेका ढुंगानाको भनाई छ।

संघीयता कार्यान्वयनसँगै स्थानीय तहका सबै केन्द्रसम्म पुग्न नसक्दा इमेलबाट माग गरेका सूचना नदिने, सुशासन ऐन अनुसार चौमासिक खर्च विवरण सार्वजनिक नगर्ने गरेको पत्रकार कुम्भराज राईले बताए। पटक-पटक माग गरेपनि सहज रूपमा सूचना नदिएकाले कार्यालयमै गएर नपाउञ्जेलसम्म पालिकामै धाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

ओखलढुंगाका पत्रकार तथा नागरिक समाजका संस्थाका प्रतिनिधीहरूले सूचना नदिनुको कारण आर्थिक अनियमितता खुल्ने डर रहेको निचोड निकालेका छन्।  उनीहरूले पटक-पटक गरिएको आग्रहमा अब सुनुवाइ नभए सूचना आयोगमा उजुरी गर्ने समेत बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.