|

अर्घाखाँची :  कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी खुलेको छ। लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन्। लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि आफ्नो तयारी गर्न थालेका छन्।मायादेवी क्षेत्र खुलेसँगै उत्साहित भएका व्यवसायीलाई अहिले लामो समयदेखि बन्द रहेका होटलका सफा गर्न भ्याइनभ्याई छ।

लुम्बिनी खुल्दा व्यवसायी ठूलै पर्व आए जस्तै खुसी

लुम्बिनी खुलेको घोषणाले यस क्षेत्रका व्यवसायीलाई ठूलै चाड आएको अनुभूति भएको  लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि बताए। अहिले यस क्षेत्रमा रहेका व्यवसायीहरूले पर्यटकहरूको स्वागतका लागि आफ्नो  चाजोपाँजो मिलाउने गरेको उनी बताउँछन्।

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ। कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको शर्माले जानकारी दिए।

राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलाई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी  गरेको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। 'होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन अहिले भ्याइनभ्याई छ। लामो समयदेखि बन्द रहेका होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ।  लामो समयको बन्दले हामी थप गुणस्तरीय सेवा दिनसक्ने गरी तयार भएका छौँ', श्रेष्ठले भने।

विकाससँगै लुम्बिनी क्षेत्रको सौन्दर्य बढ्यो

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको छ। मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, लुम्बिनी विकास कोष तथा भिक्षु भिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायतकाम शुरु गरिएको  कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले जानकारी दिए।

 हरेक दिन साँझमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ। यससँगै लुम्बिनी विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्यीकरणका काम सम्पन्न गरेको छ।

लामो समयपछि पर्यटक आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यकरणका काम गरिएको कोषका उपाध्यक्ष त्रिपाठीको भनाई छ। 

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गिन इँटा बिछ्याइएको छ। यसअघिको कालोपत्रे सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै अझ सुन्दर देखिएको छ।

पाँच नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन्। यसले मायादेबी मन्दिर परिसर झनै आक्रमण बनाएको छ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकोमा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ। मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ। पवित्र कुण्ड सफा गरिएको छ। माटो भरेर प्राचीन बोधि वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको मर्मतसम्भार गरिएको छ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन खम्बा सहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ।

केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ। इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ।

सम्पदा टल्किए

सफा गरिएका सम्पदा निकै आकर्षक देखिएका छन्। शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रष्ट देखिन थालेको छ। 

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाको पनि सफाइ गरिएको छ। केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमूनि फूल फुलाएर सौर्न्दर्य पारिएको छ। बगैँचा सफा गरिएको छ भने पैदलमार्ग पनि मर्मत गरिएको छ। नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ।

जहाँ अहिले सारसका बच्चा हुर्किरहेका छन्। यस्तै गुरुयोजनाको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सौन्दर्यकरणका कामसँगै अन्य पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताए। गत हप्तादेखि पर्सा–लोखडिया सडक विस्तार तथा सौन्दर्यकरणको कामसमेत शुरु गरिएको उनले बताए।  लकडाउन पहिलाको लुम्बिनी क्षेत्र र लकडाउन पछि आठ महिना बिचको लुम्बिनी क्षेत्रमा निकै कायाँपलट भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.