|

काठमाडाैं : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने बताएका छन्। 

आज राजधानीमा फकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरक्रियामा राज्यमन्त्री मानन्धरले ओलीको ७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वको भएको दाबी गरे।

ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने पनि उनले बताए। आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गरिरहेको उनले बताए। जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए।

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने दाबी गरे। पार्टीमा केही राजनीतिक विवाद देखिए पनि समाधान हुने भएकाले अत्तालिन नपर्नेमा उनले विश्वास दिलाए।

जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठूला परियोजनाहरुको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे।

मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको पनि दाबी गरे। जनताको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए।

दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले नि:शुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.