पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोप

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न चुनौती दिएका छन्। अध्यक्ष दाहालको प्रतिवेदनको जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले आफूमाथि लगाएको आरोप पुष्टि गर्न भनेका हुन्।  

‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईंलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण? तपाईंले रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको?’ उनले भनेका छन्, ‘एकता–छलफल र अझ उन्नत स्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता– विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको? विवादको स्वरूपले समाधानको विधि तय गर्छ।’ 

प्रचण्डको एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको उनले आरोप लगाएका छन्। उनले कम्युनिष्ट आन्दोलनलाई गम्भिर सङ्कटमा धकेलेको भन्दै यसको उचित हिसाब गर्ने चेतावनीसमेत दिएका छन्। 

‘तपाईंंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोग पत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ’, उनले भनेका छन्, ‘पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोचविपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पविपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधानविपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ।’ 

‘राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन्। तपाईँकोझुठोआरोप– पत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नु भएको होला। उनीहरु दङ्ग होलान्– नेकपालाई खुइल्याउन। हामीले त केही गर्नै नपर्ने भयो! जनता भने पीडामा छन् । यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन’ उनले भनेका छन्, ‘तपाईंले पार्टीका नीति या विधान सम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ।’

‘यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कारबाहीको भागिदार बन्नु पर्छ । तपार्ईँलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्’, उनले भनेका छन्। 

बितेको समयमा मैले आफ्नै सहयोद्धा अध्यक्षबाट कस्तो खालको सहयोग र साथ पाएको भन्दै उनले धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको बताएका छन्। यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला? प्रश्न गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.