डडेल्धुरा : स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला कोरोना कहरकैबीच सम्पन्न भएको छ। आइतबार साँझदेखि सुरु भएको मेला सोमबार बेलुकी सम्पन्न भएको हो।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो।
चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो । पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गरिन्छ। बिहानको पूजाआजा पछि दिउँसो कोरोना कहरकैबीच दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदनमा गाँज नचाइएको थियो।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने भएता पनि कोभिड–१९ का कारण भक्तजनहरूको उपस्थिति न्यून थियो।
यस वर्ष नित्यपूजामा देहिजाँत सीमित गरिएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले बताए।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा यसवर्ष सयौं मात्रै दर्शनार्थी पूजा–आराधना गर्न पुगेका थिए।
सयौं व्यवसायिक स्टल रहने उग्रतारामा यस वर्ष भने कुनै स्टलहरु थिएनन्। उग्रतारा मन्दिर परिसरभित्र मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको थियो।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भइ दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
वर्षमा एक पटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्तप्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।