कुनै पनि योजनाका काम बढेनन्, यात्रुलाई सधैं सास्ती

|

काठमाडौं : उपत्यकाको सडक जाम हुने स्थानमध्ये एक हो कोटेश्वर। कौशलटारबाट कोटेश्वर पार गरी तीनकुनेसम्म आइपुग्न करिब दुई किलोमिटर दूरीका लागि कम्तीमा सात मिनेट लाग्छ, त्यो पनि खासै जाम नभएको बेला। यदि जाम भइहाल्यो भने तीनकुने पार्कसम्म आइपुग्न मात्र गाडीलाई डेढ घण्टासम्म लाग्‍ने गरेको छ।

त्यही ठाउँबाट भक्तपुर,ललितपुर र काठमाडौं छुट्टिने गर्छ। उपत्यका भित्रिने नाका नै भएकाले पनि यहाँ सवारी चाप अत्यधिक हुने गरेको छ। त्यसो त कोटेश्वर जाने भन्ने बित्तिकै यात्रु होस् या चालक जामकै कारण हच्किने गरेका छन्।  

सरकारले पहिलै कोटेश्वरको जाम हटाउन विभिन्न वैकल्पिक योजना ल्याएको थियो। तर, अहिलेसम्म ती कुनै पनि योजना कार्यान्वयनमा आउन सकेका छैनन्। २०७५ सालमा जापानी सहयोग नियोग (जाइका) ले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सडक विभागलाई बुझाइसकेको थियो।

प्रतिवेदनमा जाइकाले जाम हटाउन तीनकुने–कोटेश्वर सुरुङमार्ग, तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ चार लेनको गाडी गुड्ने आकाशेपुल र तीनकुने–जडीबुटी सुरुङमार्ग विकल्प देखाएको थियो। तर ती अध्ययन प्रतिवेदनमै सीमित भए। 

योजना अनेक, कार्यान्वयन कम 

सडक विभागले कोटेश्वरको जाम कम गर्न काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलाको कोरिडोर बनाउने योजना ल्यायो। तर, कोरिडोर निर्माण सुरु भए पनि अहिलेसम्म सडक बन्न सकेको छैन।  काठमाडौं महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरको संयोजकत्वमा गठित समितिले समेत कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरेको थियो।

समितिको अध्ययन प्रतिवेदनका आधारमा महानगरपालिकाले मनोहरा कोरिडोरको प्रयोग र कोटेश्वर चोकको अव्यवस्थित बसपार्क अन्यत्र सार्नुपर्ने, भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको कोरिडोर हुँदै बालकुमारी पुलबाट चक्रपथमा प्रवेश गराइनेजस्ता योजना थिए। तर, ती अध्ययन प्रतिवेदनमा भएको योजना पनि कागजमै सीमित भए। 

जामले यात्रुलाई सास्ती

कोटेश्वरमा भएको सवारी जामका कारण मुख्य त यात्रु नै सास्ती भोग्न बाध्य छन्। जामले गर्दा यात्रुहरु सोही रुटमा हिँड्नसमेत चाहँदैनन्। तर जाममै हिँड्नुपर्ने बाध्यता छ। बुधबार कोटेश्वरको जाममा फसिरहेका बा३ख ४९७५ को बसका यात्रु मनोज भण्डारीले कोटेश्वर जामका कारण महत्वपूर्ण कामकाज नै प्रभावित भइरहेको बताए। 

‘२० मिनेटमा जडीबुटीबाट कोटेश्वर आइपुगियो,’उनले थाहाखबरसँग भने, ‘खै अहिलेसम्म कोटेश्वरको जाम खुलेको छैन। रत्नपार्कमा साथी कुरेको कुरै छ।’ उनी भक्तपुर बस्छन्। उनले प्रयोग गर्ने रुट यही हो। 

‘केही काम परेर साँझको समयमा कोठा फर्किँदा एक घण्टामा पनि तीनकुनेबाट जडिबुटी पुगिँदैन। धेरै जाम भएको बेला कहिले त तीनकुनेमा झरेर पैदल जडिबुटी पुगेर फेरि बस चढ्छु,’ उनले सुनाए। यात्रुहरु यतिधेरै सास्ती खेपिरहँदा पनि सरकारले जाम व्यवस्थापनमा चासो नदेखाएको उनको गुनासो छ।

जाम व्यवस्थापनमा दैनिक १० जना ट्राफिक खटिन्छन्

कोटेश्वरमा बढी जाम हुने भएकाले नियमित १० जना ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई बताउँछन्। उनले भने, ‘पहिला कलंकीमा जाम थियो। अन्डरग्राउण्ड बनाएपछि समस्या हल भयो। अहिले सबै ट्राफिकको ध्यान कोटेश्वरमा छ।’ उनका अनुसार कोटेश्वर जाम व्यवस्थापनका लागि दीर्घकालीन र अल्पकालीन गरी दुई विकल्प छन्।

‘अल्पकालीनमा छोटो समयमा यात्रु चढाउनेलाई बन्द गर्ने काम भइरहेको छ,’ उनले भने, ‘तत्कालका लागि एक महिनाभित्र सडकको दायाँबायाँमा एक–एक लेन थप्नेगरी काम भइरहेको छ। दीर्घकालीनका लागि बालकुमारी पुलको कोरिडोरबाट कोटेश्वरमा मोड्न नपार्नेगरी साना गाडी छिराउने योजना छ।’

उनका अनुसार सवारी चाप र जाम व्यवस्थापनका लागि पूर्वका बिपी राजमार्गबाट आउने माइक्रो बसलाई अब जडिबुटी पुलबाट कोटेश्वरतर्फ आउन दिइने छैन। ‘राजमार्ग बनिसकेपछि सानाठूला सबै गाडी आउन थाल्दा यस्तो समस्या भएको छ,’ उनले भने, ‘अहिले माइक्रो बसलाई जडिबुटी पुलबाट यता आउन दिइरहेका छैनौँ। त्यहीँ एक हजार माइक्रो बस रोकियो भने उपत्यकाको जाम केही हदसम्म कम हुन्छ। अब २० दिन जतिमा परिणाम आउला।’

एसएसपी भट्टराईका अनुसार माइक्रो बस रोक्न ६ जना ट्राफिक प्रहरी खटाइएको छ। कोटेश्वर चोकको जाम व्यवस्थापनका लागि भने नियमित १० ट्राफिक छन्। ‘उपत्यकामा दैनिक १२ लाख सवारीसाधन चल्छन्। यी सवारीसाधन सडकले थेग्न सक्दैन। त्यसैले जाम हुने गर्छ,’ उनले भने।

सडक विभाग भन्छ : वैकल्पिक बाटोको अध्ययन भइरहेको छ

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले कोटेश्वरको जाम व्यवस्थापनका लागि अध्ययन भइरहेको बताउँछन्। तत्कालका लागि एअरपोर्टको जग्गा लिएर सडक फराकिलो बनाउने काम भइरहेको उनले जानकारी दिए। जाइकाले जाम व्यवस्थापनका लागि प्रारम्भिक अध्ययन गरे पनि अझै सडक विभागमा प्रतिवेदन भने नबुझाएको पनि उनले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.