मनलाग्दी सडक विस्तारले जैविक विविधता सखाप पार्दै
मनलाग्दी सडक विस्तारले जैविक विविधता सखाप पार्दै
काठमाडौं : अघिल्लो शनिबार पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सडकमै सवारीसाधनले किच्दा एउटा बाघको मृत्यु भयो। पथलैया-अमलेखगन्ज सडकखण्डको आधार नजिकै जंगलमा कारले ठक्कर दिँदा पोथी पाटे बाघको ज्यान गएको थियो।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारसँग जुध्दा टाउकोमा गम्भीर चोट लागेको बाघको मृत्यु भएको थियो। सवारी चालक आफैँले प्रहरीसमक्ष खबर गरेका थिए। उनीमाथि अहिले अनुसन्धान भइरहेको छ।
पछिल्लो समय वन्यजन्तुको चोरी-सिकारसँगै मृत्युदर पनि बढ्दै गएको छ। जंगली जनावरको मृत्यु प्राकृतिक मात्र नभई विभिन्न कारणले हुने गरेको छ। बासस्थान रहेको जंगलमा अतिक्रमण बढ्दा वन्यजन्तु सडकमा निस्कने गरिरहेका छन्। अनि तीव्र गतिमा घुइँकिएका सवारीसाधनमै ठोक्किएर उनीहरूको ज्यान जाने गरेको छ।
नेपालको सडक राजमार्ग जंगली जनावरको लागि सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण बन्दै गएको छ। वन्यजन्तु बाहिर निस्कँदा मानवीय लापरवाहीकै कारण मृत्यु हुने क्रम बढिरहेको छ।
पछिल्ला वर्षहरूमा वन्यजन्तुको मृत्युको मुख्य कारण सडक दुर्घटना बनिरहेको छ। वन क्षेत्रको सडक खण्डमा तीव्र गतिमा सवारी चलाउँदा सडक दुर्घटनामा परी वर्षेनी सयौं वन्यजन्तुको मृत्यु हुने गरेको हो। प्रतिघण्टा ४० किमीका दरले सवारीसाधन चलाउनुपर्ने व्यवस्था भएपनि चालकले नियमअनुसार नचलाउँदा सवारीसाधनमा ठोक्किएर वन्यजन्तुको मृत्यु भइरहेको छ।
पाँच वर्षमा मुलुकभरका वन्यजन्तु आरक्षित जंगल क्षेत्रको सडकखण्डमा ४ सय ८६ जनावरको मृत्यु भएको छ। राष्ट्रिय वन्यजन्तु संरक्षण विभागका अनुसार गत वर्ष बर्दियामा मात्रै सडक दुर्घटनामा परी ३५ वन्यजन्तु मारिएका थिए। यस्तै, चोरी सिकारमा २ र कारण नखुलेको २२ गरी उक्त जिल्लामा १ सय २६ जंगली जनावरको मृत्यु भएको थियो।
आर्थिक वर्ष २०७२/०७३ मा देशभर सडक दुर्घटनामा १ सय ६० वन्यजन्तुको मृत्यु भएको थियो। २०७३/०७४ मा १ सय ३३, ७४/०७५ मा १ सय २४, ७५/०७६ मा १ सय १९ र ७६/०७७ मा १ सय ८ वन्यजन्तु सडकमै मारिएका थिए।
सडकले सखाप पार्दै
वन क्षेत्रभित्र सडक निर्माण गर्दा वर्षेनी जंगली जनावरको मृत्यु हुनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य बताउँछन्। उनका अनुसार जंगली जनावरहरू स्वतन्त्ररुपमा हिँडडुल गर्ने भएकोले सडक दुर्घटनामा परेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
'बढी जंगली जनावर भएका क्षेत्रका सडकखण्डमा सवारीसाधनको गति कम गर्न विभिन्न सूचनाहरू राखिएको छ, सडकको विभिन्न भागमा सवारीसाधन तीव्र गतिमा नहाँक्न अनुरोध गर्ने गरिएको छ,' आचार्यले भने, 'बढी दुर्घटना भएकाले टाइम कार्ड पनि लागू गरिएको छ, वन्यजन्तु भएका उक्त क्षेत्रमा चालकलाई चेतना बढाउने काम गरिएको छ।'
जंगलमा तीव्र गति, वन्यजन्तु क्षति
वन्यजन्तुको बासस्थान जोखिममा परेकाले पनि अहिले उनीहरू बढी घुमफिर गर्न निस्कँदा सडकमा दुर्घटनामा पर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछाने बताउँछन्।
जंगल पनि सानो-सानो क्षेत्रमा विभाजन भएकोले उनीहरूको बसोबास क्षेत्रमा संकट बढ्दै गएको उनको भनाइ छ। 'वन्यजन्तुको बासस्थान भएको क्षेत्रमा विकास निर्माण गर्दा अन्य प्राणीको पनि बसोबास रहन्छ भन्ने ख्याल गरिएन, त्यसैले यस्तो घटना बढ्दै गएको छ,' लामिछानेले भने, 'जंगलमा सडक बनाउँदा वन्यजन्तुका लागि अन्डर र ओभर पास बनाउनुपर्छ।'
जंगल क्षेत्रका सडकमा प्रतिघण्टा ४० किमीको गतिमा सवारी हाँक्दा यस्ता घटना नहुने उनको दाबी छ।
यस्तो छ सजाय प्रावधान
राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन्यजन्तु सम्बन्धी कसुरमा सजाय सम्बन्धमा ऐनको दफा, २६ को उपदफा अनुसार सजाय पाउँछन्।
दफाको विभिन्न उपधारा आकर्षित भई रकमसहित जेल सजाय भुक्तान गर्नुपर्ने व्यवस्था छ।
संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ देखि ५ लाख रुपैयाँसम्म वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। १ वर्षदेखि माथिको कैद सजाय अदालतले निर्णय गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।