|

काठमाडौं : मोटरसाइकल चोरी गर्ने र चोरीको मोटरसाइकल खरिद गर्ने दुईजनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा मोटरसाइकल चोरी गर्ने धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षिय राजन लामा र चोरीको मोटरसाइकल खरिद गर्ने सूर्यविनायक नगरपालिका १, सिरुटारस्थित विन्दबासिनी मोटरसाइकल वर्कसपका सञ्चालकद्धय नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ का २९ वर्षिय सुनिल तामाङ र पर्सा विरगंज राधेमाई नगरपालिका–६ का २० वर्षिय पप्पु पटेल छन्।

गत शुक्रबार सिरुटारमा सवारी जाँचका क्रममा बा. ९५ प. ६४०५ नं. को कालो पल्सर मोटरसाइकलसहित राजनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

राजनलाई महानगरीय प्रहरी प्रभाग सिरुटारका प्रहरी सहायक निरीक्षक आस्था सुवाल नेतृत्वको टोलीले पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए। 

‘सवारी जाँचका क्रममा कागजपत्र माग गर्दा नभएको जवाफ दिएपछि राजनलाई पक्राउ गरिएको हो,’ प्रनाउ गिरीले भने। प्रारम्भिक अनुसन्धानका क्रममा राजनले दिएको बयान अनुसार चोरीको मोटरसाइकल खरिद गरेको अभियोगमा प्रहरीले सुनिल र पप्पुलाई पक्राउ गरिएको प्रनाउ गिरीले बताए। प्रहरीले पक्राउ परेकाहरुको साथबाट बा. ७२ प. ७९४९ नं. को २२० सि.सी. को अर्को पल्सर मोटरसाइकल पनि बरामद गरेको छ।

अनुसन्धानका क्रममा बरामद भएका दुई वटै मोटरसाइकल राजनले महानगरीय प्रहरी बृत नयाँबानेश्वरको कार्यक्षेत्रमा चोरी गरेको भन्ने खुल्न आएकाले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारवाहीको लागि नयाँबानेश्वर पठाएको प्रनाउ गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.