|

गोरखा : भारत सरकारले अनुदानमा दिएको कोभिड १९ बिरुद्धको खोप ‘कोभिसिल्ड’ आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा लगाउन सुरु गरिएको छ।

भारत सरकारबाट गण्डकी प्रदेशलाई प्राप्त भएको ४० हजार डोज खोप प्रदेशभरका १७ हजार ३ सय जनालाई लगाइने प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले थाहाखबरलाई जानकारी दिए।

‘आजबाट हामीले प्रदेशभरका सबै जिल्लामा खोप लगाउन सुरु गरेका छौँ। कास्कीको जिल्ला अस्पतालसहित चार ठाउँबाट र अन्य जिल्लामा सबै जिल्ला अस्पतालबाट गरी प्रदेशभर १४ ठाउँबाट कोरोना बिरुद्धको खोप लगाइँदै छ’, शर्माले भने। यही माघ १८ गतेसम्म पहिलो चरणमा छनौट भएका सबै जनालाई खोप लगाएर सक्ने उनले बताए। १० प्रतिशत खोप खेर जानसक्ने अड्कल प्रदेशलाई प्राप्त भएको खोपमध्य १० प्रतिशत खेर जान सक्ने अनुमान गरिएकाले यस खोपबाट १७ हजार ३ सय जना लाभाम्वित हुने निर्देशनालयले जनाएको छ।

निर्देशक शर्माले भने, ‘प्रदेशलाई ४० हजार डोज खोप आएपनि १० प्रतिशत खोप बिभिन्न कारणले खेर जान सक्ने अनुमान गरका छौँ। यो खोप १ जनालाई २ डोज लगाउनुपर्छ। त्यसैले हामीले अहिले १७ हजार ३ सय जनालाई खोप लगाउन सूची तयार पारेका हौँ।’ खोप भण्डारनमा राख्न समस्या छैन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन अधिकृत हिमलाल सुवेदीका अनुसार गण्डकी प्रदेशमा खोप भण्डारनका लागि कुनै समस्या छैन।

गण्डकी प्रदेशमा खोप भण्डारनका लागि पर्याप्त ठाउँ भएकाले प्रदेशभरलाई पुग्ने खोप एकैपटक आए पनि राख्न कुनै समस्या उनले दावी गरे। ‘अहिले आएको खोप जम्मा ८० लिटर हो। हामीसँग ९ हजार लिटर राख्ने क्षमता छ।

त्यसकारण प्रदेशभरलाई पुग्ने गरी धेरै मात्रामा आउँदा पनि राख्न कुनै समस्या हुँदैन’, उनले थाहाखबरलाई भने। कुन जिल्लामा कति खोप? गण्डकी प्रदेशका लागि प्राप्त भएको खोप स्याङ्जामा ३ हजार ४ सय २१, मुस्ताङमा ४ सय ८६, मनाङमा ४ सय ५७, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा २ हजार ३ सय ३५, लमजुङमा

३ हजार ५ सय १२, बागलुङमा ३ हजार ९ सय २९, गोरखामा ४ हजार १४, कास्कीमा १२ हजार ५ सय ९०, म्याग्दी १ हजार ८ सय ७१, पर्वतमा २ हजार ७ सय ५१ र तनहुँमा ३ हजार ७ सय ७२ डोज खोप पठाउन लागिएको छ। कस्ता ब्यक्तिले लगाउँदै छन् खोप? स्वास्थ्य निर्देशनालय पोखराका अनुसार भारत सरकारले अनुदानमा दिएको यो खोप फ्रन्टलाइनमा रहेर काम गरिरहेका ब्यक्तिहरुले मात्रै लगाउन पाउनेछन्।

‘यो खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहान चालक, सरकारी कार्यालयमा रहेका सरसफाइकर्मीहरुले मात्रै लगाउन पाउनेछन्’, निर्देशक शर्माले भने। भारत सरकारले अनुदानमा दिएको कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ। नेपाल सरकारको तयारी अनुसार कुल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना सरकारको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.