मेथोले दोहोरो ह्रयाट्रिक गरेपछि चौदण्डीगढीको पोस्टमा १० गोल

|

इलाम : स्ट्राइकर सावित्रा भण्डारीले ह्रयाट्रिक गरेपछि विभागीय डर्बीको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ।

राष्ट्रिय लिग अन्तगर्गत लगातार चौथो जित निकाल्ने क्रममा एपिएफले पुलिसलाई ३–० गोल अन्तरले हराएको हो। एपिएफको जितमा ‘गोल मेसिन’को उपमा पाएकी सावित्राले गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ३२ औं मिनेटमा आफ्नो टिमलाई अग्रता दिलाइन्। 

अनिता केसीको पासमा पुलिसकी डिफेन्डर मनि गुरुङलाई बिट गराउँदै वान भर्सेस वानको अवस्थामा जाली चुमाइन्। पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफका लागि दोश्रो हाफमा सावित्राले २ गोल गरिन्।

५६ औं मिनेटमा सावित्राले सरु लिम्बुको पासमा गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन्। सावित्राले मैदानको मध्यभागबाट पुलिसका ३ जना डिफेन्डरलाई छलाउँदै सरुलाई पास दिएकी थिइन्। पुन सरुको पासमा पुलिसका ४ जना डिफेन्डरको बिचबाट गरेको प्रहारलाई गोलरक्षक सपना राईले रोक्ने कुनै मौका नै पाइनन्। 

८४औं मिनेटमा सावित्राले ह्रयाट्रिक पूरा गरिन्। अनिता केसीको पासमा पेनाल्टी बक्स नजिकैबाट बार च्याप्दै गोल गरिन्। प्रतियोगितामा सावित्राको यो तेश्रो ह्रयाट्रिक हो।

उनले यसअघि रौतहटको चन्द्रपुर र मोरङको विराटनगरविरुद्ध ह्रयाट्रिक पूरा गरेकी थिइन्। प्रतियोगितामा १० गोल गर्दै उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। खेलको प्लेयर अफ दि म्याचसमेत सावित्रा घोषित भइन्।

जितसँगै अपराजित रहेको एपिएफको ४ खेलबाट १२ अंक पुगेको छ। एपिएफले दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको वालिङ नगरपालिकालाई ७ अंकले पछि पारेको छ। पुलिस र वालिङको समान ५ अंक छ।

मेथोले दोहोरो ह्रयाट्रिक गरेपछि चौदण्डीगढीको पोष्टमा १० गोल

आजै भएको पहिलो खेलमा क्यामरुनी खेलाडी मेथो एलुड रुथको दोहोरो ह्रयाट्रिकको मद्दतमा स्याङ्जाको वालिङ नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १०–० गोल अन्तरको प्रभावशाली जित निकाल्यो।

वालिङको जित जारी महिला लिगको सर्वाधिक गोल अन्तरको जित हो। यसअघि एपिएफले विराटनगरलाई ७–० ले हराएको थियो। चौदण्डीगढी यसअघि पनि रौतहटको चन्द्रपुरसँग ७–१ ले पराजित भएको थियो।

एकपक्षीय बनेको खेलको सातौं मिनेटमा मेथो एलुड रुथले गोल गर्दै वालिङलाई १–० ले अघि बढाइन्। २ मिनेट नबित्दै डिफेन्डरको गल्तीमा मेथोले व्यक्तिगत दोस्रो गोल गरिन्।

१९औं मिनेटमा ह्रयाट्रिक पुरा गरिन्। ३३ औ मिनेटमा मनमाया दमाई र इन्जुरी समयमा टोउला नोउल्लीले गोल गरेपछि पहिलो हाफमा वालिङले ५–० को अग्रता बनाएको थियो। दोश्रो हाफमा समेत दवावमा परेको चौदण्डीगढीले थप ५ गोल खान पुग्यो।

६३औं मिनेटमा मेथोले एकल प्रयासमा व्यक्तिगत चौथो गोल गर्दै वालिङलाई ६–० को फराकिलो अग्रता दिलाइन्। ७१ औं मिनेटमा कप्तान सरस्वती हमालको लामो पासमा मेथोले गोल गरेपछि वालिङले ७–० को अग्रता बनायो।

८० औ मिनेटमा सम्झना शर्माले व्यक्तिगत पहिलो गोल गरेपछि वालिङ ८–० ले अघि रह्यो। २ मिनेट नबित्दै सम्झनाले टिम लागि नवौं गोल गरिन्। इन्जुरी समयमा मेथोले दोहोरो ह्रयाट्रिक पूरा गरेपछि वालिङले खेल १०–० ले जित्यो। खेलको प्लेयर अफ दि म्याच दोहोरो ह्रयाट्रिककर्ता मेथो घोषित भइन्। 

जारी प्रतियोगितामा यो पहिलो दोहोरो ह्याट्रिक हो। लिगमा भने यो सातौं ह्याट्रिक हो। यसअघि एपिएफ क्लबकी सावित्रा भण्डारीले २, आर्मीकी विमला चौधरी, चन्द्रपुरकी सविता रानामगर र विराटनगर महानगरपालिकाकी कुसुम खतिवडाले समान एक ह्याट्रिक पूरा गरेकी थिइन्। 

जितसँगै वालिङको ४ खेलबाट ५ अंक पुगेको छ। चौदण्डीगढीले भने तीन खेलमा कुनै अंक जोड्न सकेको छैन। प्रतियोगिताको ४ वटा खेलसम्म आइपुग्दा चौदण्डीगढीले २३ गोल व्यहोर्दै विपक्षीको पोष्टमा १ मात्र गोल गर्न सफल रह्यो। शुक्रबार चन्द्रपुरले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। खेल अपराह्न २ बजे सातादोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.