|

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पछि पूर्वपञ्चहरु र संघीय गणतन्त्रविरोधीहरु मात्रै भएको बताएका छन्।

पूर्वपर्यटन मन्त्रीसमेत रहेका नेता भट्टराईले प्रधानमन्त्रीले गरेको संसद् विघटनको कदमलाई राजा ज्ञानेन्द्रले २०५९ माघ १९ मा गरिएको ‘कु’ को संज्ञा दिए। ‘हिजो राजाले सत्ता हत्याउँदै गर्दा सुरुका दिनमा त्यसको विरोधमा उत्रने राजनीतिक दलका कार्यकर्ताको खँडेरी थियो, 'भट्टराईले भने, ‘यस्तो कहालिलाग्दो अवस्था भोगेर आए पनि अहिले संघीय गणतन्त्र र संविधान धराप पार्ने गरी गरिएको संसद विघटनको कदमको विपक्षमा आज लाखौँ जनता सडकमा छन्।’

इलाममा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पेशाकर्मी र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले पार्टीको बहुमत प्रचण्ड–माधव पक्षमै रहेकाले आधिकारिकता पनि आफ्नो समूहले पाउने बताए।

संविधानले संसदबाट प्रधानमन्त्री दिने अवस्था रहेसम्म विघटनको कल्पना नगरेकाले प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलन उत्रन कार्यकर्तालाई निर्देशन दिए। ‘पहिलाका संविधानमा प्रधानमन्त्रीलाई दिएको विशेष अधिकारले सरकार र देशको राजनीतिमा स्थिरता नभएकाले २०७२ को संविधानमा किटान दिएरै प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वाशको प्रस्ताव लैजान नपाइने उल्लेख गरिएको छ,’ भट्टराई भने ‘एक पटक ल्याएपछि एक वर्षसम्म पुनः अविश्वासको प्रस्ताव लग्न नपाइने र चार पटकसम्म पनि संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने व्यवस्था छ।’ 

कार्यक्रममा माधव–प्रचण्ड समूहका जिल्ला अध्यक्ष भक्त केसी, इञ्चार्ज धीरेन्द्र शर्मा, नेकपा प्रदेश कमिटी सदस्य मणि लिम्बू, टीका घिमिरे, ध्रुव श्रेष्ठ, जिल्ला पार्टी कार्यालय सदस्य उदय राई, रणबहादूर राई, विजय खम्बू, शान्ता बस्नेत, पार्टी सचिव सोममाई राई सिन्धुलगायत जिल्लाका अगुवा नेता कार्यकर्ताको उपस्थिति थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.