|

काभ्रे : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको बताएकी छन्। 

अखिल नेपाल महिला संघ काभ्रेले आज (बिहीबार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीविरुद्ध उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि केपी ओलीलाई हटाउन लागे।’ 

राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्रीलाई पदबाट झार्न खोजिएको उनको भनाइ थियो। भनिन्, 'प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनीविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडि बढे।'

आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन्। भनिन्, ‘कम्युनिष्ट पार्टी फुट्यो, अब जय नेपाल हुनेछ भनेर कसैले नसोचे हुन्छ। यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउँछ।’ 

वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको पनि बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.