|

गोरखा : आर्थिक बर्ष २०७५/०७६ मा गोरखा नगरपालिकाले नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाट गर्ने निर्णय गर्‍यो। जसअनुसार नगरपालिकाले १५ लाख रुपैयाँमा 'पेन्थम फोर आरटिके' नामक ड्रोन किन्यो।  ​

ड्रोन किनेलगत्तै नगरपालिकाले २०७६ असार १८ गते नगरपलिका कार्यालयमा एक कार्यक्रम गर्दै ड्रोन उडाएर देखायो पनि। त्यो दिन नगरपालिकाका सूचना प्रविधि शाखाका इन्जनियर सुयोग रमण खनालले ड्रोन उडाएका थिए। 

उनले ड्रोन उडाएर सकेलगत्तै गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले उक्त भीडमा आफ्नो मन्तव्य यसरी राखेका थिए–‘अब हामी अफिसमै बसेर नगरक्षेत्रमा सञ्चालित साना ठूला योजनाको अनुगमन गर्नसक्ने भएका छौं। योजना अघिको सर्भेमा पनि ड्रोनको डाटा प्रयोग गर्न सकिने भयो, यसले म्यानपावरकै काम गर्ने भयो। प्राविधिक जनशक्तिको अभावलाई पनि यसले केही हदसम्म राहत मिल्छ भन्ने विश्वास छ।’

तर, योजनाको सर्भे, नक्साकंन तथा अनुगमन गर्ने भन्दै लाखौँ रुपैयाँ खर्चेर किनिएको ड्रोन ०७६ असार १८ गतेपछि नगरपालिकाको काममा एक पटक पनि प्रयोगमा आउन नसकेको नगरपालिकाकै कर्मचारी बताउँछन्।

‘नगरपालिकामा ड्रोन किनेर अहिलेसम्म प्राविधिक कामका लागि प्रयोग भएको छ जस्तो मलाई लाग्दैन। म नभएको समयमा प्रयोग भएको रहेछ भने मलाई थाहा भएन’, नगरपालिकाका प्राविधिक शाखाका एक कर्मचारीले भने। 

‘गोरखा नगरपालिकाले बनाएको गीतको भिडियो बनाउँदा ड्रोन उडाएको थाहा छ। नत्र अरु बेला दराजमा नै थन्किएर बसेको छ’, नगरपालिकाकै अर्का कर्मचारीले भने। 

ड्रोन किन्न फर्जी योजना! 

नगरपालिकाले आफ्नो क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाट गर्ने भनी किनेपछि त्यसको प्राविधिक जनशक्ति थप्न छाडेर प्रविधिको प्रयोग बढाउने बताएको थियो। तर, नगरपालिकाले ड्रोन किनेपछि त्यसको प्रयोग गरेन। ड्रोनको प्रयोग गरेपछि प्राविधिक जनशक्ति नथप्ने भनेको नगरपालिकाले त्यसपछि  आठ/नौ जना यस्तै कर्मचारी थपिसकेको छ। 

‘ड्रोनको प्रयोग गर्ने प्राविधिक नथप्ने भन्ने कुरा त थियो। तर, खै किन हो ? त्यसको सदुपयोग भएको छैन। दराजमा थन्किएर बसेको छ’, नगरपालिकामा कार्यरत एक कर्मचारीले भने, ‘ड्रोन किन्ने बेला नगरपालिकासँग ५/६ जना मात्रै प्राविधिक थिए। अहिले थपिएर १८ जना छन्।’ 

सूूचना प्रविधि शाखा भन्छ :ड्रोन प्रयोग भएको छ, मेयर भन्छन् :सफ्टवेयर नभएकाले उडाएका छैनौं 

नगरपालिकाले ०७६ असार १८ गतेपछि पनि पटकपटक ड्रोन प्रयोग गरेको सूचना प्रविधि शाखाका प्रमुख सुयोग रमण खनालले दाबी गरे। 

‘नगरपालिकामा ड्रोन उडाउने म मात्रै छु, अरुले जान्दैनन्। हामीले यसको प्रयोग नगरेको हैन। विभिन्न योजनाको अनुगमन, सर्वेका लागि प्रयोग गरिरहेका छौँ, खनालले थाहाखबरलाई भने। खनालले ड्रोनको प्रयोग भएको दाबी गरे पनि मेयर पन्तले भने ड्रोनको प्रयोग नभएको स्वीकार गरेका छन्। 

नगरपालिकाले किनेको ड्रोनको सदुपयोग भएन भन्ने गुनासो आयो नि भन्ने प्रश्नमा मेयर पन्तले भने, ‘ड्रोन किने पनि त्यसलाई चलाउने आवश्यक सफ्टवेयर हामीसँग थिएन। त्यसको सफ्टवरका लागि पोहोर बजेट राखेर टेण्डर गरेका थियौँ। लकडाउनका कारण टेण्डर खारेज भयो। अहिले फेरि हामी त्यो प्रक्रियामा लागेका छौँ। सफ्टवेयर नभएर ड्रोन उडाएर काम छैन। सफ्टवेयर त हाल्नु पर्‍यो। हामी अहिले त्यो किन्ने प्रक्रियामा  छौँ।’

सफ्टवेयर भनेको के हो? ड्रोन उडाउने एप्स हो? भन्ने जिज्ञासामा मेयर पन्तले भने, ‘ड्रोन उडाएपछि त्यसले दिने जति पनि डाटा हुन्छ त्यो त सुरक्षित राख्नपर्‍यो नि त। हामीले जहाँ ड्रोन पठाउँछौँ त्यहाँबाट आएको डाटा त अफिसमा बसेर हेर्न पाउन पर्‍यो नि। त्यसका लागि सफ्टवेयर चाहियो, सफ्टवेयर नभई हुँदैन। फोटो भिडियो खिच्न सफ्टवेयर चाहिँदैन तर सर्भे गर्न अनुगमन गर्न चाहियो।’ 

अहिलेसम्म सफ्टवेयर  नहुनुले त तयारी कम भयो भन्ने बुझिन्छ नि ! यो प्रश्न हामीले मेयर पन्तसँग राख्याैं। जवाफमा उनले भने, ‘तयारी कम भयो भन्न मिल्दैन। बजेट कम भयो।’ 

बजेट कति कम भयो भन्ने प्रश्नमा मेयर पन्त रिसाउँदै भने, ‘अब टेण्डर गरेपछि थाहा भैहाल्छ नि। प्रमुख प्रशासकीय अधिकृतलाई सोध न। जम्मै कुराका उत्तर मेयरले दिने भन्ने हुन्छ? प्रशासकीय कुरा प्रमुख प्रशासकीय अधिकृतलाई सोध्ने हो। आर्थिक कुरा प्रमुख प्रशासकीयसँग, उपमेयरसँग सोध्न पर्‍यो नि भाइ।’ 

त्यसो भए ड्रोनको सदुपयोग हुनचाहिँ अब कति समय लाग्छ नि भनी थाहाखबरको अर्को प्रश्नमा उनले भने, ‘अब एक/दुई महिना भित्रमा हुन्छ।’ 

तर मेयर पन्तबाट नआएको र बाँकी रहेको जिज्ञासा प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तलाई सोध्दा उनले भने, ‘ड्रोनको सफ्टवेयर खरिदको कुरा छैन, त्यो आवश्यक हुन्न।’ 

सफ्टवेयर खरिद गर्न गत वर्ष आवश्यक बजेट नभएकाले हालसम्म ड्रोनको उपयोग नगरेको स्वीकारिसकेका मेयरको भनाप्रति प्रमुख प्रशासकीय अधिकृतले ठाडै अनवाश्यक भनिदिए। मेयर पन्तले त सफ्टवेयर किन्न टेण्डर प्रक्रिया नै सुरु गरिएको बताइसकेका छन्। 

तर, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पन्तले भने ड्रोनका लागि आवश्यक सफ्टवेयर खरिदको कुनै कुरा नै नभएको बताए। ड्रोनका लागि सफ्टवेयर किन्न आवश्यक हुँदै नहुने उनले बताइरहे। 

‘सर्भे र अनुगमन गर्न ड्रोनका लागि छुट्टै सफ्टवेयर चाहिँदैन, चाहिन्छजस्तो मलाई लाग्दैन। बरु जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ। सफ्टवेयर खरिद गर्ने त्यस्तो कुनै कार्यक्रम भएको र प्रक्रिया अघि बढेको छैन।’ 

नगरपालिका भन्छ :ड्रोन उडाउन अनुमति लिएका छौँ, प्रशासन भन्छ : नगरपालिकाले ड्रोन उडाउन अनुमति लिएको छैन 

सूचना प्रविधि शाखाका प्रमुख खनालले ड्रोन उडाउन हालसम्म दुई/तीन पटक जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएको दाबी गरेका छन्। तर, सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालय गोरखाकी सूूचना अधिकारी देवी पाण्डे खत्रीले भने गोरखा नगरपालिकाले हालसम्म ड्रोन उडाउन कुनै अनुमति लिएको कुरा आफूलाई थाहा नभएको जानकारी दिइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.