|

गोरखा : उत्तरी गोरखाको बारपाक-सुलिकोट, धार्चे गाउँपालिकाका केही ठाउँ र चुमनुब्रीका सातवटै वडामा हिमपात भएको छ। 

बारपाक सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला र लाप्राकको जमिन हिउँले छोपिएको छ। त्यस्तै, चुमनुब्रीका सातवटै वडामा हिमपात भएको छ। 

शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा जनजीवन भने अत्यन्तै कष्टकर बनेको हो।

‘पानीका धारापनि हिउँभित्र पुरिएको छ, एक ठाउँबाट अर्काे ठाउँमा सहजै जानसक्ने अवस्था छैन, स्कुलहरू पनि बन्द गरिएको छ, पसलसम्म पुग्न पनि कष्टकर छ, स—साना बच्चा र बुढापाकालाई चिसोले सताउने चिन्ता बढेको छ’, धार्चे गाउँपालिकास्थित लाप्राककी उम्नी गुरुङले टेलिफोनमा थाहाखबरसँग भनिन्, ‘जनजीवन अत्यन्तै कष्टकर बनेको छ।’ 

उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात शुरू हुन्थ्यो। तर, यस वर्ष भने हिमपातमा ढिलाई भएको हो। यहाँका स्थानीयहरूले हिमपात नभएको वर्षलाई भोकमरी लाग्ने वर्षको रूपमा बुझ्ने गर्दछन्।

यस वर्ष समयमा नै हिमपात नहुँदा चिन्तित बनेका स्थानीयहरू शुक्रबारदेखि भने चिसोको कष्ट सहेर पनि रमाइरहेका छन्।

हिमपात नभए खडेरी लाग्ने र अन्नबालीको उत्पादन घटेर भोकमरी लाग्न सक्ने हुनाले हिमपातले कष्टकर जीवनयापनमा पनि स्थानीयहरू खुसी हुने गरेको चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन्। 

‘वर्षा र हिमपात भएन भने यहाँ अन्नबाली उत्पादन हुँदैन, अनि भोकमरी लाग्छ भन्ने भनाई छ। यस वर्ष झन्डै आठ महिनापछि यहाँ पानी र हिउँ पर्‍यो, हिमपात र पानी नपर्दा स्थानीयहरू अन्नबाली उत्पादन नहुने भयो भन्ने चिन्तामा थिए’, उपाध्यक्ष गुरुङले भनिन्, ‘हिमपातपछि चिसो बढेर जनजीवन कष्टकर भएको छ, तर अधिकांश स्थानीयहरू खेतीपाती राम्रो हुने आशमा खुसी छन्।’ 

उत्तरी गोरखामा आलु, गहुँ, फापर, कोदो, मकै, जौ जस्ता अन्नबाली लगाउने गरिन्छ। 

हिउँमा खेल्ने पर्यटक बढे

हिमपात भएसँगै गोरखाको धार्चे गाउँपालिका वडा नम्बर-४ लाप्राकमा रहेको एकीकृत नमुना बस्तीमा हिउँसँग रमाउन जाने पर्यटकहरू बढेको वडाअध्यक्ष राज गुरुङले बताए।

हिमपात हुनु अघि दैनिक १५/२० जना पर्यटकहरू नमुना बस्ती घुम्न आउने गर्थे। अहिले हिमपात भएपछि दुई दिन भयो दैनिक एक सयभन्दा बढी पर्यटकहरू यहाँ हिउँसँग खेल्न तथा नमुना बस्ती हेर्न आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.