|

गोरखा : गोरखा नगरपालिकाले उपयोग नगरी दराजमा थन्क्याएर राखेको ड्रोन खरिदमा चरम अनियमितता भएका बलिया आधारहरू फेला परेका छन्‌।

आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे, नक्साकंन तथा अनुगमन गर्ने भन्दै ड्रोन खरिद निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम नगरपालिकाले पेन्थम फोर आरटीके ड्रोनको कम्बो प्याक किन्न ९ लाख ७५ हजार रुपैयाँको स्टमेट तयार पार्‍यो। कम्बो प्याकमा ड्रोन, गगल्स र मोबाइल स्टेशन समावेश गरिएको थियो। 

​नगरपालिकाले ०७६ बैशाख २५ गते सार्वजनिक ड्रोन खरिदसम्बन्धी सूचना जारी गर्‍यो।

तर, नगरपालिकाले ड्रोनसहितका ती सामान लागत स्टमेटविपरीत काठमाडौंस्थित ओलीज स्टोर प्रालिसँग १४ लाख ९५ हजार रुपैयाँमा किन्यो।


ओलीज स्टोरले गोरखा नगरपालिकालाई उपलब्ध गराएको बिल।

यसरी, बोलपत्रमा उल्लेख गरिएभन्दा ५ लाख २० हजार रुपैयाँ बढी तिरेर सामान किनेको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी यतिखेर तैँ चुप-मै चुप छन्‌।

​खरिद प्रकृया शंकास्पद देखिएपछि यसबारे जिज्ञासा राख्दा नगरका मेयर राजनराज पन्तले थाहा संवाददातालाई भने‌, ‘बिल राम्रोसँग हेर न भाई!’

टेण्डरमा उल्लेख भएभन्दा बढी रकम भुक्तानी नहुने, ड्रोनको मूल्य मात्रै नतिरेको, चार-पाँचवटा सामान आएको र ती सबै सामानको बिल आएको पन्तको तर्क छ। नगरपालिकाले जारी गरेको सूचनामा भने रकम नै उल्लेख गरिएको थिएन।

नगरपालिकालाई स्टमेटभन्दा बढी लागतमा ड्रोन उपलब्ध गराएको ओलीज स्टोरमा फोन सम्पर्क गरी आफू ग्राहक भएको भनी कुरा गर्दा त्यहाँका कर्मचारीले सो ड्रोन र आवश्यक सामानलाई भ्याटसहित ९ लाख ५० हजार रुपैयाँ पर्ने जानकारी दिए।

सो ड्रोनको मूल्य सन् २०१८ देखि नै यथावत्‌ रहेको स्टोरले जनाएको छ। 


गोरखा नगरपालिकाले २०७६ बैशाख २५ गते निकालेको ड्रोन खरिदसम्बन्धी सूचना ।

आफैँले तयार गरेको स्टमेट मिचेर खरिद गरेपनि नगरपालिकाले ड्रोन उपयोग भने गरेको छैन। 

५ लाख ४५ हजार खोइ ?​

सार्वजनिक खरिद नियमावलीमा कुनै पनि सार्वजनिक संस्थाले स्वीकृत भएको लागत स्टमेटभन्दा बढी रकममा सामान खरिद गरी बिल भुक्तानी गर्न नपाउने उल्लेख छ।

तर, गोरखा नगरपालिकाले ९ लाख ७५ हजार रुपैयाँ लागत स्टमेट गरेर १४ लाख ९५ हजार रुपैयाँमा ड्रोन खरिद गरेको हो।

सार्वजनिक खरिद नियमावली लत्याउँदै कानुन विपरीत ड्रोन खरिद गरिएकोबारे गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तसँग जिज्ञासा राख्दा उनले फाइल हेरेर मात्रै यस विषयमा प्रतिक्रिया दिने बताए। उनले भने, ‘त्यस्तो भएको रहेछ र ? के रहेछ, म हेरेर खबर गरौंला।’

गोलमटोल खरिद

मेयर पन्तले ओलीज स्टोरले गोरखा नगरपालिकामा बुझाएको बिलमा चार/पाँचवटा क्याटेगोरी रहेको भनेपनि त्यसमा तीनवटा मात्रै क्याटेगोरी उल्लेख छ। तीन क्याटेगोरीमध्ये पनि प्यान्थम फोर आरटीके कम्बो प्याकको मूल्य १३ लाख २३ हजार रुपैयाँ लेखिएको छ। 

कम्बो प्याकमा नै आउने गगल्स र मोबाइल स्टेशन पनि क्याटेगोरीमा छन्, तर त्यसको मूल्य शून्य रुपैयाँ राखिएको छ। 


नगरपालिकाले प्रयोग गर्नुको साटो दराजमा थन्क्याएर राखेको ड्रोन।

बिल हेरेपछि मात्रै फोन गरेको थाहाकर्मीले बताएपछि मेयर पन्तले भने, ‘लेखाबाट भुक्तानी भएको छ, प्रमुख प्रशासकीय अधिकृत र लेखाले भुक्तानी गरेका छन्, त्यहाँ मिष्टेक भएको छ भनेदेखि लेखा र प्रमुख प्रशासकीयलाई सोध्न पर्‍यो नि त ! मैले चेकमा सही गरेको छैन।’

आन्तरिक र महालेखापरीक्षकले नै ड्रोन खरिद प्रकृया ठीक भनेको तथा प्रश्न कतै नउठाइएको भन्दै नगरप्रमुख पन्तले आफूले हरेक फाइल हेर्न नभ्याउने जवाफ फर्काए। 

अख्तियार भन्छ : ‘उजुरी दर्ता गरी छानबिन थाल्छौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले गोरखा नगरपालिकाले शंकास्पद ढंगले गरेको ड्रोन खरिद प्रकृयामाथि छानबिन गर्न उजुरी दर्ता गर्ने बताएका छन्‌। 

‘हामीले मौखिक रुपमा आएका सूचनालाई पनि उजुरीका रुपमा दर्ता गरेर छानबिन प्रक्रिया अघि बढाउने गरेका छौं, यस विषयमा गोरखाबाट गुनासो आएकाले अब छानबिन हुन्छ, तत्काल उजुरी दर्ता गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.