हत्यारा पत्ता लगाउन मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र

|

बैतडी : मृत अवस्थामा भेटिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी  भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ।

बैतडी अस्पतालले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ।  

रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसअघि घटनास्थलको प्रकृति हेर्दा पनि बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो।  

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन्।  भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक, योनीबाट रगत बगेको र घाँटी समेत निमोठेको थियो।  

बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने, शंकास्पदमाथि सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

'भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेका छौैं', उनले भने, ‘शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने काम भइरहेको छ, यसमा स्थानीय बासिन्दाको पनि सहयोग आवश्यक छ।’यस्तै  किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ। 

यता शव पोष्टमार्टम भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन्।  बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए। ​भागरथीको शव परीक्षण कार्य शनिबार सकिएको थियो।  ​भागरथी दोगडाकेदार  गाउँपालिका ३ श्रीकोटस्थित  सनातन धर्म माबिमा अध्ययनरत रहेकी थिइन्।  

हत्यारा पत्ता लगाउन सम्पूर्ण शक्ति परिचालन : प्रहरी 

घटनालाई गम्भीर रुपमा लिएकोले  प्रहरीको सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। भागरथीको हत्यारा पत्ता लगाउन प्रहरीको संघीय, प्रदेश, अनुसन्धान ब्युरो,जिल्लाको सम्पूर्ण शक्ति परिचालन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 'विभिन्न कोणबाट अध्ययन र अनुसन्धान भइरहको छ,' उनले भने, ‘अपराधीलाई जुनसुकै हालतमा पत्ता लाग्छ, हाम्रो सबै जनशक्ति यसै घटनामा केन्द्रित छ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ। त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।

प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको बताए पनि घटना भएको ५ दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन। हत्यारा पत्ता नलागेको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले जिल्लाका विभिन्न स्थानमा निर्मलाको न्यायका लागि आन्दोलन गरिरहेका छन्। 

हत्यारा पत्ता लगाउन मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र

भागरथीको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ। सोमबार बैतडीका स्थानीयले घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही माग गरेर ज्ञापन पत्र बुझाएका हुन्। 

घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका माधव विष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.