|

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुरु भएको छ। सोलुखुम्बुमा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छवटा सञ्चालन भएको नेपाल टेलिकम  कार्यालय ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए।

पन्थीका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहीबार बेलुकीदेखि उक्त सेवा सञ्चालनमा आएको हो। यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ। क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्र सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ।

उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चारवटा सञ्चालनमा आएको छ। यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ।

यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ। 
 
यता  ओखलढुङ्गा जिल्लामा पनि फोरजी सेवा सञ्चालन भएको छ। २५ वटा फोर लेग टावरमध्ये छवटाबाट सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालय ओखलढुङ्गाले जनाएको छ। सिद्धिचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो। अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीले बताए।

हट्यो डाँडा चढ्नुपर्ने बाध्यता

फोरजी सेवा सञ्चालनमा आएपछि यहाँका सर्वसाधरणलाई इन्टरनेट चलाउन सहज भएको छ। पहिला इन्टरनेट चलाउनकै लागि आधा घण्टा हिँडेर नेटवर्क भएकोस्थानमा पुग्नु पर्ने बाध्यता हटेको स्थानीयहरु बताउाछन्। गाउँगाउँमा फोर सेवा सुरु भएसँगै अग्लो डाँडा चढनुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताए।
 
घरबाहिर भएकाहरुले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेका छन्। सोलुखुम्बुको विकट गाउँ माप्यदुधकोशीमा रहेका आमासँग ललितपुरबाट भिडियो कलमा कुरा गर्न भएको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत पहलकर्ता सबैलाई धन्यवाद दिएका छन्।

यस्तै, खोटाङमा पनि फोरजी सेवा सुरु भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.