|

मकवानपुर : विकासको दृष्टिले पछि परेको मकवानपुरको विकट मानिने बूढीचौरमा जन्मिएका नारायणप्रसाद देवकोटा यतिबेला देशभरका दुग्ध उत्पादक किसान आबद्घ केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अध्यक्षको जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।

केन्द्रीय दुग्ध उत्पादक संघमा चार वर्ष अवधिको एक कार्यकाल कुशलतापूर्वक पूरा गरी दोस्रो कार्यकालमा देवकोटा इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्।

किसान परिवारमा जन्मिएर किसानकै हितमा बोल्दै सहकारी अभियन्ताका रुपमा समाजमा आफूलाई चिनाउन पाउँदा औधी खुशी मिल्ने उनी बताउँछन्।

‘देशभरका दुग्ध उत्पादक किसानको सुख, दुःखको साथी बन्न पाउँदा खुशी छु। ’ उनी भन्छन्, ‘यो खुशी प्राप्तीका पछाडी मेरो मेहनत त हुँदै हो, देशभरका दुग्ध उत्पादक किसान साथीहरुले गर्नुभएको भरोसाका कारण पनि हो।’

दुग्ध उत्पादक किसानका नेताको रुपमा देवकोटाको गर्विलो परिचय छ। देशभरका दुग्ध उत्पादक किसानका सुख, दुःखका साथीका रूपमा आफूलाई परिचित गराएका देवकोटाको जन्म वि.सं. २०१८ साल मंसिर २४ गते सोमबारका दिन मकवानपुर जिल्लाको तत्कालीन बुढिचौर गाविस वडा नम्बर ५ हालको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढिचौरमा पिता टंकप्रसाद देवकोटा र माता सीता देवकोटाबाट भएको हो।

भीमफेदीको महेन्द्र माविबाट वि.सं.२०४० सालमा एसएलसी उत्तीर्ण गरी २०४९ सालमा आइएसम्मको अध्ययन गरेका देवकोटाले वि.सं. २०४२ सालदेखि बुढिचौरस्थित रुपनारायण निमाविमा पढाउन थाले। यो विद्यालयमा ६ वर्ष अध्यापन गराएपछि उनी २०४८ सालमा आधारभूत प्रा.वि.आमभन्ज्याङमा प्रधानाध्यापक भए।

यसपछि हेटौंडा लालझाडीस्थित बाराही निमाविमा २१ वर्ष प्रधानाध्यापक भए। शिक्षणपेशामा आबद्घ हुँदै गर्दा उनको ध्यान दुग्ध उत्पादक सहकारी संस्था खोल्नतिर गयो। वि.सं.२०५१ सालमा आफ्नै नेतृत्वमा लालझाडीमा भैरवी दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी डिभिजन सहकारी कार्यालय, हेटौंडामा दर्ता गराए।

तीन वर्षपछि मकवानपुरगढी, भैँसे र हेटौंडा कार्यक्षेत्र रहने गरी भैरवी दुग्ध उत्पादक सहकारीलाई एकीकृत गर्दै सिर्जना दुग्ध उत्पादक सहकारी संस्था निर्माण गरे। सुरुमा २५ परिवार मिलेर स्थापित गरिएको सहकारीबाट सय लिटर दुग्ध सङ्कलन तथा वितरणको कार्य गरिएकोमा एकीकृत गरिएपछि दुई सय जना भन्दा बढी परिवारबाट पाँच सयदेखि सात सय लिटर दुग्ध सङ्कलन तथा वितरणको कार्य अहिले भइरहेको छ।

दुग्ध व्यवसायलाई सहकारी अभियानमार्फत अघि बढाउने क्रममा उनले वि.सं.२०५१ सालमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरमा सञ्चालक सदस्य, वि.सं.२०५४ मा उपाध्यक्ष, वि.सं. २०५७ सालदेखि लगातार पाँच कार्यकाल जिल्ला अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरे। देवकोटाले विं.सं. २०७० सालदेखि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अध्यक्षको भूमिकामा नेतृत्व प्रदान गरिरहेका छन्।

केन्द्रीय संघको नेतृत्वमा पुगेपछि जीवनको पूरै समय दुग्ध सहकारी अभियानमै समर्पित गर्ने सोच लिदैं शिक्षण पेशाको जागिर छाडे।

यसपछिका उनको बिहानदेखि बेलुकासम्मको दैनिकी दुग्ध सहकारी अभियान तथा अन्य कर्ममा बितिरहेको  छ। जीवनको ५९ वर्षमा उहाँमा अझै सहकारिता तथा सामाजिक सेवाको हुटहुटी छ।

देशभरका दुग्ध व्यवसायीका समस्या सुन्ने, समाधानका लागि लागिपर्ने, दुग्ध व्यवसायमा उत्पादन, बजारीकरणका लागि आफ्नोतर्फबाट दिनरात नभनी उनले सक्रियता देखाइरहेका छन्।

उनी आफ्ना सदस्यहरुलाई सरकारका तर्फबाट प्राप्त हुने अनुदान लगायत सुविधा दिलाउन होस् अथवा सरकारी कार्यालय, मन्त्रालयले लिने सल्लाह सुझाव दिँदै आइरहेका छन्। शिक्षण पेशा छाडेर दुग्ध उत्पादक किसानको नेता बन्न पाउँदा कुनै गुनासो नभएको र जीवनमा शिक्षण पेशाको जागिर छाडेकोमा पछुतो नभएको उनी बताउँछन्।

‘जीवनमा के पाइयो र के गुमाइयोभन्दा पनि आफूलाई रुची लागेको क्षेत्रमा सकेसम्मको योगदान गर्न पाए आफ्नो जीवन सफल हुन्छ भन्ने लाग्छ’ उनले भने।

विगतमा सिमित संख्यामा पशुपालन व्यवसाय हुने गरेकोमा अहिले दशौं हजार बढी परिवार जोडिएर व्यावसायिक रुपमा सहकारी अभियान मार्फत अघि बढिरहँदा आफूमा खुशीको सीमा नै नभएको उनी बताउँछन्।

यसरी एउटा गाउँमा थोरै सदस्यको साथ लिएर दुग्ध उत्पादक सहकारी संस्था खोलेर, जिल्ला तथा केन्द्रकै नेतृत्व प्रदान गरी देवकोटाले समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउन क्रियाशील रहेका छन्।

दुग्ध किसानका सुख, दुःखका सहयात्री बनेका देवकोटालाई उनले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै रेडियो थाहासञ्‍चार ९९ दशमलव ६ एफएम हेटौंडाले आफ्नो तेह्रौं वार्षिकोत्सवका अवसरमा कृषितर्फ थाहावर्ष सम्मान २०७७ बाट सम्मान पनि प्रदान गरेको छ।

अन्य विभिन्न संस्थाबाट सम्मानित देवकोटा बागमती प्रदेश सरकारको दुग्ध विकास बोर्डका सदस्य, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्षको जिम्मेवारीमा पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.