|

चितवन : नारायणगढ–मुग्लिङ सडक खण्डको चार किलो भन्ने ठाउँमा पहिरो रोक्ने कार्य भइरहेको छ। सडक आयोजनाले दैनिक साढे चार घण्टा सडक बन्द गरेर पहिरो रोक्ने काम थालेको हो। पहिलो दिन हिजो (आइतबार) कमजोर भएका माटो र ढुंगा झार्ने काम भयो।

पहिरो रोक्न भिरालो जमिनमा रक नेटिङको काम गर्न लागिएको हो। यसले ढुंगालाई बाँधेर पहिरो जान दिँदैन। कोरोना महामारीका कारण यस ठाउँमा रक नेटिङको काम रोकिएको थियो। पहिरो रोक्न रक नेटिङको जिम्मा पाएको बज्रगुरु न्यू टेक्निकल जेभीले वैशाखमा स्काइफोल्डिङ (फलामका पाइप भित्तामा गाड्ने) गरेको थियो।

पहिरो रोकथामको काम गर्न आयोजनाले एक हप्ताको लागि दैनिक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेको छ। बाटो बन्द हुने समयमा नारायणगढबाट गएका सवारी साधनहरू सिमलताल पुल र काठमाडौँबाट आएका सवारी साधनलाई मुग्लिङतर्फ शान्तिबजारमा रोकिएको छ।

दुईतर्फी नै बाटो अवरुद्ध भएपछि लामो दुरीमा यात्रा गर्ने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। सवारीसाधनहरूको लामो लाइन लागेको छ। गतवर्ष यो सडक खण्डको सात ठाउँमा रकनेटिङ गरिएको थियो। 

चार किलोमा रकनेटिङ गरिसक्न करिब एक हप्ता लाग्ने आयोजनाकी सूचना अधिकारी सविना रानाभाटले जानकारी दिइन्। गत वर्ष गरिएका पहिरो रोकथामका कामहरू प्रभावकारी बनेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.