|

काठमाडौं : सरकारले गत वर्षबाट कक्षा–१२ को परीक्षा प्रश्नपत्र अनलाइन माध्यमबाटै सम्बन्धित परीक्षा केन्द्रमा पठाउने गरेको छ। २०७८ सालको कक्षा–१२ को परीक्षाको प्रश्नपत्र पनि त्यसैगरी अनलाइन माध्यमबाट पठाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अनलाइनबाटै प्रश्नपत्र पठाउने भएकाले प्रश्नपत्र नछाप्ने निर्णय गरेको जानकारी दिए। 

उनले भने,‘पहिला यहीँबाट प्रश्नपत्र छापेर पठाएका थियौँ। तर,गत वर्षदेखि अनलाइनबाटै पठाउने गर्ने गरिएको छ। यसपालि पनि अनलाइनबाटै पठाउँछौँ।’ अनलाइन माध्यमबाट पठाउँदा प्रश्नपत्र सुरक्षित हुने उनको भनाइ छ। ‘हामीले एकजना शिक्षकको नाममा मात्रै प्रश्नपत्र फाइल पठाउँछौँ। पासवर्ड सुरक्षित ढंगले राख्न लगाउँछौँ। यसमा कुनै धाँधली हुँदैन।’

एक करोड बचत हुने

प्रश्नपत्र छपाइ गर्नु नपर्दा करिब एक करोड बचत हुने अध्यक्ष पौडेलले बताए। ‘प्रश्नपत्र छाप्दा धेरै खर्च लाग्छ,’उनले भने,‘प्रश्नपत्र ओसारपसार गर्नका लागि कर्मचारी खटाउनुपर्छ। दुर्गम क्षेत्रमा साधनबाट पनि पुर्‍याउन सकिँदैन। जोखिम हुन्छ। त्यसैले यस्तो निर्णय गरिएको हो।’ 

उनले प्रश्नपत्र छपाइबाट बचेको रकम शिक्षा क्षेत्रमा नै लगानी गरिने जानकारी दिए। उनका अनुसार परीक्षा हुनुभन्दा आधा घण्टा अगाडि नै प्रश्नपत्र अनलाइन वा इमेलबाट परीक्षा केन्द्रमा पठाइन्छ। त्यसपछि केन्द्रले प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई बाँड्नेछन्।

दुर्गम क्षेत्रमा चुनौती

सरकारले गरेको यो निर्णयले दुर्गम क्षेत्रलाई भने चुनौती थपिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सुनिल लिम्बूले अनलाइनबाट प्रश्नपत्र पठाउँदा समस्या हुने बताउँछन्। उनी भन्छन्,‘अनलाइनबाट प्रश्नपत्र पठाउने काम कर्णाली क्षेत्रलाई चुनौती छ। सबै ठाउँमा सञ्चार पुगेको छैन। भनेको समयमा इन्टरनेट हुँदैन।’ 

प्रश्न छापेर नै पठाउँदा सहज हुने उनको भनाइ छ। ‘बोर्डले तोकेको समयमा मात्रै प्रश्नपत्र पठाए समस्या आउँछ। कि त परीक्षा हुनुअगावै समय मिलाएर प्रश्न पठाउनुपर्‍याे। नभए त प्रश्नपत्र हामीले पाए पनि प्रिन्ट गर्न समस्या हुन्छ’ उनले भने।

यता, बोर्डका अध्यक्ष पौडेलले दुर्गम क्षेत्रमा पनि अनलाइन प्रश्न पठाउँदा समस्या नहुने तर्क गर्छन्। उनले भने,‘अनलाइनबाट पठाउँदा खासै समस्या हुन्न। गत वर्ष पनि त्यस्तो समस्या भएन।’ उनका अनुसार इन्टरनेटको सुविधा भएको ठाउँमा मात्रै परीक्षा केन्द्र तोकिनेछ। त्यसैले समस्या नहुने उनको बुझाइ छ। 

इन्टरनेट भएका ठाउँमा मात्रै परीक्षा केन्द्र तोकिँदा विद्यार्थी मारमा पर्छन्। यस्तो समस्या आएमा पायक पर्ने सरकारी निकाय वा विद्यालयमा नै प्रश्नपत्र पठाई परीक्षा सञ्चालन गर्ने उनले बताए। ‘अहिले विद्यार्थीले परीक्षा फाराम भरिरहेका छन,’उनले भने,‘करिब चार लाख विद्यार्थीले परीक्षा दिने अनुमान छ।’ 

कक्षा–१२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सञ्चालन हुँदै छ। बोर्डले तालिकासमेत सार्वजनिक गरिसकेको छ। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.