ओलीले पेल्न खोजे प्रतिवाद !

|

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पुनर्जीवित भएका छन्। पार्टी एक हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमामा रहेको एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु एमालेमै फर्किएका छन्। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट रहेका एमाले नेताहरु पार्टीमा फर्केको भएपनि अहिलेसम्म भेटवार्ताको बिषयमा कुनै कुराकानी भएको छैन। प्रचण्ड खेमामा उभिएर अध्यक्ष ओलीविरुद्ध खनिएका नेताहरु पार्टीमा फर्केपछि ओलीले कस्तो व्यवहार गर्लान्? भन्ने सबैको चासोको बिषयमा बनेको छ। 

यद्यपी, विभाजित नेकपाको अध्यक्ष समेत भइसकेका एमाले नेता नेपालले सार्वजनिक रुपमा अहिलेसम्म पार्टीभित्रैबाट कसैले भेटवार्ता नगरेको तर्क गरे। उनले आफ्नै पार्टीको सरकार भएको सुनेको त हो तर, आफूलाई अहिलेसम्म जानकारी नभएको सम्म भन्न भ्याए। 

अर्का नेता खनालले भने अब एमाले नेतृत्वको सरकार नै दुई बर्ष टिक्ने टिप्पणी गरे। अब संविधानको मर्म र भावना अनुसार बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘हामी एमाले भयौँ, तीन वर्ष नेकपा भइसकेका थियौँ। एकीकृत भएको पार्टी विभाजन भयो। नेकपा एमाले वामपन्थी एकताको पक्षमा छ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने अवस्था आएको दाबी गरे। 

संस्थापनले सम्मानजनक व्यवहार गर्ने 

अध्यक्ष ओलीको विश्वास पात्र सुवास नेम्वाङ भने पार्टीमा फर्केका नेताहरुलाई सम्मान जनक व्यवहार गर्ने बताउँछन्। 

‘उहाँहरु अब पार्टीमा आउनुभएको छ। उहाँहरुलाई सम्मानजनक व्यवहार हुन्छ’ उनले भने, ‘पार्टीमा फर्केकालाई अदालतको निर्णयलाई मान्दै अगाडि बढ्छौँ।’

अदालतको निर्णयपछि आफूहरु एमाले भइसकेको उनकाे तर्क छ। ‘प्रधानमन्त्री झण्डै दुई तिहाई बहुमतमा हुनुहुन्थ्यो। तर, अदालतको निर्णयपछि त्यो रहेन’ उनी भन्छन्, ‘अब संसद्मा रहेका दलले पनि आफ्नो धारणा राखेको छैन। प्रचण्डले नेतृत्व गरेको माओवादीले पनि समर्थनको बारेमा बोलेको अवस्था छैन।’

उनले सत्ता सहकार्य गर्नका लागि जसपाको माग पुरा गर्न सरकार सकारात्मक भएको समेत दाबी गरे। उनले कानुनी बाटो हेरेर जसपाको माग पूरा गर्ने बताए। 

ओली इतरको भेला

बुधबार एमालेका ओली इतरको केन्द्रीय कमिटीको नेताहरुको भेला बस्यो। भेलामा वामपन्थी सरकार जोगाएर जानुपर्नेमा नेताहरुको जोडबल रहेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।  उनले पार्टी एकता तत्काल सम्भव नभए वामपन्थी सरकारलाई जोगाउनुपर्ने धारणा नेताहरुले राखेको सुनाए।

‘साथीहरूको सुझाव वामपन्थी सरकार जोगाउनुपर्छ भन्ने छ। पार्टी फेरि पनि दुई वटा भएको छ, तत्काल एकता सम्भव होला-नहोला वामपन्थीहरूको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्छ’ उनले भने। 

ओलीले पेल्न खोजे प्रतिवाद! 

अध्यक्ष ओलीले पार्टीभित्र पेल्न खोजेमा त्यसको खुलेर प्रतिवाद गर्ने माधव पक्षको तयारी छ। यद्यपी, ओलीले अहिलेसम्म बैठक बाेलाएका छैनन्।

‘उहाँहरुले बैठक नबोलाएपछि पार्टी एकताको चिन्ता भएकाे छ। कतिपय ठाउँमा गुण्डागर्दी समेत हुन थालेका छ। दुई ठुला कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुनुपर्छ भनेर लागिरहेका छौँ’ स्थायी कमिटी सदस्य भीम रावले भने, ‘पार्टीको औपचारिक बैठक नबोलाएकाले अनौपचारिक रुपमा छलफल गरेका हौँ। अध्यक्षले अहिलेसम्म बैठक बोलाइसक्नु पर्ने हो।’

उनले आफूहरु नेकपा एमालेको बैठकको प्रतिक्षा गरिरहेको बताए। कम्युनिस्ट आन्दोलन भत्काएको भएपनि अब एमालेभित्र बलियो बनाउनेबारे छलफल भएको बताए। 

दुई कम्युनिस्ट पार्टीको सरकार चाहेको बताउँदै उनले भने, ‘कम्युनिस्ट सरकार चाहेका छौँ। तर, व्यक्ति को भन्नेमा एमालेको बैठक बसेर निर्णय गर्नुपर्छ।’ 

ओली समूहले बैठक नबोलाएर पेल्न खोजेमा त्यसको प्रतिवाद गर्ने निष्कर्ष बुधबार बसको केन्द्रीय कमिटीको बैठकले निकालेको एक केन्द्रीय सदस्य बताए। 

‘हामीले उहाँहरुले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ भनेर बसेका छौँ। तर, अहिलेसम्म कसैसँग भेटवार्ता भएको छैन’ उनले भने, ‘उहाँहरुको प्रतिक्रियापछि हामी कसरी अगाडि जाने भन्नेबारेमा केन्द्रीत हुन्छौँ।’

यो समूह नवौँ महाधिवेशनपछिको नीति, नेतृत्वअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा उभिएको छ। 

एमालेभित्रको समीकरण  

नेकपा एमालेको नवौँ महाधिवेशनबाट १४ जना पदाधिकारी निर्वाचित भएका थिए। अध्यक्षमा ओली र नेता नेपालको टक्कर परेको थियो। त्यसमा नेता नेपाल पराजित भए। अध्यक्ष ओली खेमामा उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले सो पदमा अहिले माओवादीबाट आफूतिर लागेको रामबहादुर थापा बादललाई ल्याउने तयारी ओलीले गरिरहेका छन्। 

ओली खेमाको महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिवहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ छन्। 

यता, नेता नेपाल खेमामा उपाध्यक्षमा भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य छन्।

तर, अर्का उपाध्यक्ष वामदेव गौतम पछिल्लो समयमा कतै खुलेका छैनन्। उनी नेकपा एकता भंग हुनुअघि पार्टी एकताको पक्षमा उभिएका थिए। 

माओवादी नेता समायोजन खोजी 

एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर आफूतिर आएका नेताहरुलाई सम्मानजनक स्थान दिने तयारी गरिरहेका छन्। ओलीले माओवादी नेता बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा तामाङलगायत नेतालाई एमालेभित्र समायोजन गर्नेबारेमा छलफल गरिरहेका छन्। 

सर्वोच्च अदालतले साविकको पार्टी कायम गरिदिएपछि अध्यक्ष प्रचण्डसँग रहेका एमाले नेताहरु फर्किसकेका छन्। तर, माओवादी नेताहरु एमालेमै रहने भएका छन्। प्रधानमन्त्री ओलीले माओवादी नेताहरुलाई एमालेमै राख्न तल्लो तहसम्म समायोजनका लागि २० प्रतिशत हिस्सा दिने तयारी भएको बुझिएको छ। 

प्रचण्डलाई छाडेर ओलीतिर लागेका ऊर्जामन्त्री रायमाझीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने बिषयमा छलफल भएको बताए। ’उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको हो। तर, निर्णयमा पुगिसकेको अवस्था होइन’ उनले थाहाखबरसँग बुधबार भनेका थिए। 

माओवादी नेताहरुसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले छलफल गरिरहेका छन्।

तर, ओली इतर नेताहरुले एमालेका पूर्वसंरचना नै फर्काउनुपर्ने मत राखिरहेका छन्। उनीहरुले बादललगायत नेताहरुलाई पार्टीभित्र दिएको पद स्वीकार नगर्ने निष्कर्षमा पुगिसकेको बुझिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.