|

चितवन : दुई वर्षअघि स्तरोन्नति भएको नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न स्थानमा सडक भत्किने र भाँसिने समस्या देखिएका छन्। नारायणगढ–मुग्लिङ सडक आयोजनाले भासिएको तीन ठाउँमा मर्मतको काम थालेको छ भने १५ वटा पुल निर्माण सुरु भएको छ।

सडक खण्डको १७ किलो, २४ किलो र २६ किलोमा भासिएको सडक मर्मत गर्न लागिएको आयोजनाले जनाएको छ। मुग्लिङदेखि नारायणगढतर्फ दूरीका हिसाबले १७, २४ र २६ किलो दिइएको हो। १७ किलोमा दुई वर्षअघि नै सडक भासिएको हो।

सडक निर्माण सम्पन्न भएपछि निरन्तरको वर्षाका कारण सडक भासिन थालेको हो। १७ किलोमा १२ वर्षअघि नै सडक भासिएपछि रक एङकरिङ गरिएको थियो। रक एङकरिङ कमजोर भएपछि पुनः सोही ठाउँमा सडक भासिएको हो। १३ करोड १५ लाख रुपैयाँ लागतमा भासिएको तीन ठाउँमा सडक मर्मत गर्न २०७६ पुसमा नै बज्रगुरु रायमाझी जेभीलाई ठेक्का दिइएको थियो। तर, कोरोना महामारीका काम हुन सकेको थिएन। अहिले नियमित काम भइहेको आयोजनाले बताएको छ। २०७८ पुससम्ममा यसको सबै काम सक्नुपर्ने सम्झौता भएको छ।

भासिएको ठाउँमा स्लोप स्टेबिलाइजेसन गर्ने काम भइरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाको सूचना अधिकारी सविना रानाभाटले जानकारी दिइन्। ‘अहिले १७ किलोमा काम भइरहेको छ,’ उनले भनिन्, ‘सडक तलैदेखि भासिएको हुँदा नदीको सतहसम्म पुगेर पाइल (कंक्रिटको खम्बा) राख्ने काम गरिरहेका छन्।’ 

भासिएको स्थानमा पाइल राख्ने काम पहिलो पटक भएको उनले बताइन्। ‘पहिला एङकरिङ मात्रै गरिन्थ्यो। अहिले पाइल पनि राख्ने काम भएको छ,’ उनले भनिन्, ‘१७ किलोमा मात्रै ८० वटा पाइल राखिँदै छ। नदीको किनारबाट १३ मिटर तलसम्म पाइल राख्ने काम भएको छ।’ २४ किलो र २६ किलोमा माइक्रो पाइल राखिने उनले बताइन्। ८० सेन्टिमिटर व्यास भएको कंक्रिटको गोलो खम्बालाई पाइल र ११ सेन्टिमिटरको व्यास भएको खम्बालाई माइक्रो पाइल भनिन्छ।

पाइल हालेर र नाली बनाइपछि सडक पिच गरिने छ। चार किलो र २६ किलो नजिक अर्काे ठाउँमा पनि सडक भासिएको छ। त्यस ठाउँका लागि अर्काे चरणमा काम हुने रानाभाटले बताइन्। चार किलोमा पहिरो रोक्न रक नेटिङको काम पनि भइरहेको छ। 

पुल धमाधम निर्माण हुँदै

नारायणगढ–मुग्लिङ सडक खण्डका १५ वटा पुराना साँघुरा पुल भएको ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको छ। सडक स्तरोन्नति भइसकेपछि पनि साँघुरा पुलका कारण यस सडकखण्डमा दुर्घटनाको जोखिम बढेको थियो।

दुई वटा प्याकेजमा गरेर १५ वटा पुल निर्माण गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। पहिलो प्याकेजमा मुग्लिङदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण हुँदै छन्।

दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ। तीमध्ये ६ वटाको निर्माण काम सुरु भइसकेको सूचना अधिकारी रानाभाटले बताइन्। ‘पहिलो प्याकेजका धेरै पुलहरुको डिजाइन स्वीकृत हुन बाँकी छ,’ उनले भनिन्, ‘यी पुलहरु ठेक्का परिसकेपछि कन्ट्याक्टर आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै कन्ट्याक्टरले काम सुरु गर्छ।’

पहिलो प्याकेजअन्तर्गतका पुलहरुको डिजाइन स्वीकृत हुने क्रममा रहेको उनले बताइन्। पुरानो तरिकाअनुसार पहिला डिजाइन बनाएर ठेक्का व्यवस्थापन गर्दा धेरै समय लाग्ने गरेको रानाभाटको भनाइ छ। पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपैयाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपैयाँ लाग्ने अनुमान छ।

दुवै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन काठमाडौँले पाएको छ। पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको छ। ‘सम्झौता भइसकेपछि लकडाउन सुरु भयो’, सूचना अधिकारी रानाभाटले भनिन्, ‘२०७७ असारसम्म त उहाँहरुले सर्वे गर्न पनि पाउनुभएन। अहिले चाँहि काम धमाधम भएको छ।’

नारायणगढ–मुग्लिन सडकमा पुराना पुलहरुको चौडाई ६ देखि ७ मिटर मात्रै रहेको छ। अब बन्ने पुलहरुको चौडाई ९ देखि ११ मिटरसम्म हुनेछ। ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाई ११ मिटर हुन्छ,’ रानाभाटले भनिन्, ‘पहिलो प्याकेजको चाँहि ठाउँ हेरेर कुनै पुलको ९ मिटर पनि हुनसक्छ।’

यसअघिको ठेक्कामार्फत नारायणगढ–मुग्लिङ सडकको खानी खोला, दास ढुंगा र मौरी खोला पुल निर्माण सम्पन्न भइसकेका छन्। जलवीरेको पुल अन्तिम चरणमा रहेको छ। यस पुलको निर्माणका क्रममा डिजाइन परिवर्तन गर्नु परेकाले केही ढिला भएको हो। अहिले यसको जलवीरेको पुल निर्माण भएपछि करिब ३०० मिटर बाटो छोटिने छ।

नारायणगढ–मुग्लिङ सडक स्तरोन्नतिको काम सकिएर डिभिजन सडक कार्यालय भरतपुरलाई हस्तान्तरण भइसकेको छ। भत्किएको ठाउँमा सडक मर्मतको काम डिभिजन सडक कार्यालयले गर्ने गर्छ। यो सडक विश्वबैंकको करिब तीन अर्ब ९० करोड रुपैयाँ सहयोगमा निर्माण भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.