बेलायतका जस्ता नगरप्रहरी, ढलदेखि ट्राफिक व्यवस्थापनसम्म अब्बल

|

काठमाडौं : सर्वसाधारणलाई लाग्नसक्छ-नगर प्रहरीले फुटपाथे व्यापारीका सामान उठाएर दुःख दिन्छन्‌। गरिबलाई खान दिँदैनन्‌। आर्थिक प्रलोभनमा पर्छन्।

तर, कोही नगर प्रहरी यस्ता हुन्छन्‌-जसले जनताको हरेक मर्मलाई बुझ्छन्। राम्रो व्यवहार र काम गरेर जनताको मन जित्दै समाजलाई आमूल परिवर्तन गर्न लागिपर्छन्।

सीताराम हाछेथु यस्तै सुधारकमध्येका एक हुन्‌। सीताराम साढे ६ महिनादेखि ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख पदमा छन्। भक्तपुर जिल्लाका उनी २०७७ भदौ १५ गतेबाट ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए। कार्यकालका दिन जति कट्दैछ, हाछेथुको चर्चा उत्ति नै चुलिँदैछ। सबैले उनको कामलाई तारिफ गरिरहेका छन्‌।

​पूर्व ट्राफिक प्रहरी निरीक्षकसमेत रहेका सीताराम ट्राफिक व्यवस्थापनमा २९ वर्षदेखि लागिपरेका छन्। महानगरपालिकाका नगर प्रहरी प्रमुख हुनुअघि नै ट्राफिक व्यवस्थापनमा काम गरेकाले उनलाई ललितपुरभित्र कहाँ जाम पर्छ र कहाँ अस्तव्यस्त हुन्छ जस्ता सबै जानकारी थियो।

त्यसो त उनी नगर प्रहरी प्रमुख भएर आएपछि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसपले पैदल यात्रुलाई सास्ती भएको देखे। उनको पहिलो काम नै त्यस्ता वर्कसप हटाउने रह्यो। भन्छन्, ‘सडकका पेटीमा अव्यवस्थित ढंगले मोटर साइकल वर्कसप राखेको देखेपछि पत्र पठाएँ, अनि सबैलाई हटाएँ।’

त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्ड लगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरुप बनाएको देखे उनले। त्यस्ता बोर्डहरू पनि हटाइदिए। 

‘अहिले हेर्नुस्‌ त, यो महानगरभित्र कुनै मादक पदार्थ सेवनको बोर्ड देख्नुहुन्न,’ सानैबाट शहरलाई सफा र सुन्दर बनाउने लक्ष्य राखेको बताउने उनले गर्वसाथ भने, ‘सरकारले बनाएको कानुन अनुसार सबै बोर्ड हटाएँ, साइकल गस्ती र साइकल लेन बनाएँ, नगर चेतना अभियान चलाएको छु, अहिले हाम्रो महानगरपालिका सफा छ।’ 

नक्सा बीना कतै पनि टहरा बनाउन नपाउने नियम उनले ल्याएका छन्। ‘हामी फोहोर उठाउँछौँ,’ उनले भने, ‘दिनको १० जना नगर प्रहरी ल्याएर तार बानिरहेका छौँ, मन्दिरहरू सफा गर्दैछौँ, ढल सफा गरेका छौँ।’

यसकारण चिरिबाबुले ल्याएका थिए सीतारामलाई

सीतारामले पहिले कालीमाटी, भक्तपुर, गौशाला लगायत ठाउँमा ट्राफिक प्रहरीको इञ्चार्ज भएर काम गरे। सेवाबाट अवकाश पाएपछि उनी भक्तपुर नगरपालिकाका स्कुल र क्याम्पसहरूमा चेतना फैल्याउने काममा लागेका थिए।

त्यही समयमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको प्रमुखमा भएर काम गर्न उनलाई बोलाए।

‘मेयरज्यु ले तपाईंसँग धेरै अनुभव छन्, राम्रो काम गर्नुपर्‍यो, नगर सफा बनाइदिनुपर्‍याे भन्नुभएपछि म यहाँ आएँ, मेरो काम देखेर मेयर ज्युले बोलाउनुभयो, त्यसमा आभारी छु,’ उनले भने।

हाछेथु अहिले ५५ वर्षका भए। उनको जोशजाँगर कोही नवयुवक समान छ। जोसँग भेट्छन्‌, उत्साहित तुल्याइदिन्छन्‌।

​उनी सम्झन्छन्‌, ‘जब मैले इन्चार्जको रूपमा काम थालेँ, मेयरज्युले महानगरमा बस्नेदेखि पस्नेसम्म सबैलाई सहयोग पुग्नेगरी काम गर्न आदेश दिनुभयो, उहाँकै आदेश अनुसार हामी काम गरिरहेका छौँ।’ आफूले सेवासुविधाबापत सित्तैमा एक रुपैयाँ पनि नलिएको र अनियमितता नगरेको तथा नगर्ने उनी प्रण गर्छन्‌।

‘अहिले मेरो कमाण्डमा ७२ जना नगर प्रहरी छन्, उनीहरूले कुनै सेवा सुविधाको सित्तैमा एक रुपैया पनि खाँदैनन्, मेयरज्युलाई पनि भनेको छु, लिएको पाए जागिरबाटै बर्खास्त गर्छु।’

सीतारामको स्वभाव - सबैलाई आदर

अन्य नगर प्रहरीहरू लट्ठी लिएर हिँड्छन्‌। तर, उनको कमाण्डका प्रहरीहरू लट्ठीको सट्टा सिट्ठी बोक्छन्। सबैलाई नमस्ते गर्ने चलन छ।

‘लट्ठी लिएर किन गरिबलाई लखेट्ने? सिट्ठी बजाएर सम्झाउने हो, धक्याएर होइन, हामी त सहयोगी हौँ, हामी तपाई भनेर सबैलाई सम्बोधन गर्छौं,’ उनले सुनाए। सबैभन्दा बढी आम सर्वसाधारणमा चेतना जगाउनुपर्ने हाछेथुलाई लागेको छ।

महानगरपालिकाभित्र ठेलाका तरकारी राख्न पाइने समय बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म तोकिएको छ। त्यो पनि खुला ठाउँमा मात्रै व्यापार गर्न पाइन्छ।

‘नियम विपरीत गरेको पाइए हामी ठेलाको एकहजार रुपैयाँसम्म जरिवाना गराउँछौँ, बोरामा सामान हालेर उनीहरूलाई नै दिन्छौँ, ठेला लिएर आउँछौँ, एक हजार तिरेपछि ठेला फिर्ता गर्छौं, यो चेतनाका लागि गरेका हौँ, अरूले झैँ सामान नै जफत गरेर भुइँका मानिसहरूलाई रुवाउँदैनौं, जरिवाना पनि सुधारका लागि बाध्यतावश उठाउनुपरेको हो।’ साइकलमा तरकारी बोक्नेलाई पाँचसय रुपैयाँसम्म जरिवाना गर्ने गरेको सुनाउँछन्‌ उनी।

प्रहरीको स्मार्ट पोशाक

ललितपुर महानगरपालिकाका नगर प्रहरीको लगाएका पोशाक अन्य नगर प्रहरीको भन्दा भिन्न छ। यस विषयमा उनी भन्छन्‌,‘म नआउँदा यहाँको पोशाक साह्रै नराम्रो थियो, मलाई ड्रेस लगाउन भन्नुभएको थियो, तर त्यो मन परेन र लगाइनँ, युनिफर्म लगाएपछि मानिस स्मार्ट देखिनुपर्छ, जस्तो पायो-त्यस्तै ड्रेस कोड भए नगर प्रहरी नै हेपिनसक्छन्‌, त्यसैले पोशाक परिवर्तन गराएँ।’ 

उनका अनुसार अहिले नगर प्रहरीले लगाएका ती सबै ड्रेस, क्याप र टाई संयुक्त अधिराज्य (बेलायत) का नगर प्रहरीले लगाउने ड्रेस हो। ‘अरूले लगाएको राम्रो चीजको नक्कल गर्दा केही बिग्रिँदैएन, नक्कलसँगै काम पनि सिक्नुपर्छ, गर्नुपर्छ, अहिले कर्मचारीले पोशाकप्रति नै गर्व गर्छन्,’ उनले भने।

अबका लक्ष्य

सीताराम बिहान ७ बजे महानगरपालिका आएर बेलुका ८ बजे घर पुग्छन्‌। कार्यभार सम्हालेको साढे ६ महिनाभित्र ९० प्रतिशत ट्राफिक व्यवस्थापनसँगै ललितपुर क्षेत्र सफा बनाएको उनी दाबी गर्छन्‌‌।​

भन्छन्‌, ‘पुरातात्विक ललितपुर महानगरपालिकालाई देशकै सुन्दर र नमूना महानगरपालिका बनाउने सोचमा छु, नगर प्रहरीलाई पनि नेपालको एक नम्बर नगर प्रहरी बनाउँछु।’ अब छिट्टै ट्राफिक जामलाई पनि शून्य बनाउने उनको लक्ष्य छ।

‘पाटन ढोकाको जाम हटाएको छु, अब बाँकी ठाउँको जामलाई पनि ट्राफिक प्रहरीको समन्वयमा व्यवस्थापन गरी नगरभित्रको रिङरोडभित्र छिट्टै जाम शून्य बनाउने योजना तय गरेको छु, त्यसैले अहिलेसम्म कुनै दिन बिदामा बसेको छैन।’ महानगरपालिका प्रमुख महर्जनको स्मार्ट सिटी बनाउने योजनालाई साकार पार्ने हाछेथु बताउँछन्‌।

उनी अन्य स्थानीय तहका नगर प्रहरीहरूलाई भन्छन्‌, ‘सबैभन्दा पहिले नगर प्रहरी नै अनुशासित बन्नुपर्छ, तर त्यस्तो देखिएको छैन, उनीहरूमा सहयोगी भावना छैन, सरकारी सेवामा रहँदा र सडकमा खटिँदा मैले उनीहरूको खराब व्यवहार धेरैपटक देखेको छु, सहयोगको भावना हुनुपर्‍याे। तँ, तिमी र लट्ठीबाट होइन-जानकारी गराएर कारबाही गर्ने हो।’

आर्थिक प्रलोभनमा नपर्न र इज्जत जोगाउन पनि उनी सबै नगर प्रहरीहरूलाई आग्रह गर्छन्। भन्छन्‌ ‘सामान उठाएर नगरबासीलाई रुवाउनु हुँदैन, हामी नगरबासीलाई सहयोग गर्ने प्रहरी हौँ, जागिरको धाक लगाउनु हुँदैन, धनी गरिब छुट्याउन हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.