भर्खरै खोप लगाएकालाई छुट, सीमामा थप सक्रियता र कडाइ

|

काठमाडौं : ​सरकारले नेपाल भित्रिनेलाई लक्षण तथा जोखिम प्राथमिकताका आधारमा एन्टिजेन परीक्षण गर्न थालेको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण पुनः फैलन थालेपछि सरकारले केही समयअघि १ लाख ५० हजार थान एन्टिजेन किट खरिद गरेको थियो। त्यही किट अब नाका नाकामा पठाएर परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। उनले भने, ‘केही समयअघि किनिएको थियो। अहिले काम लागेको छ, त्यही किट अहिले हामीले पठाएका हौँ।'

अहिले भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्लीलगायत राज्यका विभिन्न सहरमा संक्रमण बढ्न थालेको छ। त्यहाँ रहेका नेपाली घर फर्कने क्रम बढिरहेको छ। जसका कारण जोखिम पनि बढ्ने भएकाले सीमामै एन्टिजेन परीक्षण गर्ने र अरुलाई पुन क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन निर्देशन दिइएको प्राडा गौतमले बताए।

गाैतमले भने, ‘गत वर्ष यतिबेला २ वटा मात्रै केस पत्ता लागेको थियो तर पछि भारतमा संक्रमण बढ्दै जादा हाम्रोमा पनि बढ्यो, अहिले त हामी अझै जोखिममै छौं।त्यसैले जोखिमका आधारमा सीमामा क्वारेन्टाइन र स्थानीय तहमा संस्थागत वा होम क्वारेन्टाइन राख्ने सम्बन्धमा स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएका छाैं, आवश्यक परे अरु निर्णय पनि लिनुपर्छ।'

मन्त्रालयले सीमामा मात्रै हैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने र भारतलगायत अन्य देशबाट आएकामध्ये लक्षण भएकालाई त्यहीँ नै परीक्षण गर्ने उनले बताए।

बाहिरबाट आएका तर  कोरोनाविरुद्ध खोपको दुबै डोज लगाएकालाई भने कुनै प्रकारको परीक्षण तथा क्वारेन्टाइन बस्नु नपर्नेसमेत उनले खुलाए। 

के हो एन्टिजेन?

एन्टिजेन सामान्य परीक्षणका आधारमा कोरोना संक्रमण भए/नभएको थाहा पाइने विधि हो। परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ। एन्टिजेन परीक्षणले पनि शरीरमा कोरोना भाइरस रहे/नरहेको पत्ता लगाउने गर्छ। तर भाइरस पत्ता लगाउन उपकरण भने चाहिँदैन।

घाँटी र नाकको स्वाब लिएर सानो थर्मोमिटरभन्दा अलि मोटो लाम्चो र्‍यापिट एन्टिजेन किटमा एक थोपा राख्दा लाइन आयो भने ऊ कोरोना संक्रमित भएको भन्ने थाहा हुन्छ।

पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेको ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा एन्टिजेनमा आधारित परीक्षण गर्दा १५ मिनेटमा नै रिपोर्ट आउने बताइन्छ। पिसिआरको तुलनामा एन्टिजेनमा आधारित परीक्षण धेरै सस्तो पनि पर्ने विज्ञहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.