अझै ३५ लाख थान छाप्न बाँकी

|

काठमाडौं : शैक्षिक सत्र लागु भएको तीन, चार महिनासम्म पनि दूरदराजका विद्यार्थीहरुको हातमा नयाँ पाठ्यपुस्तक पुग्दैन। यो समस्या अहिले मात्रै नभई वर्षौदेखि हुँदै आएको समस्या हो। 

पाठ्यपुस्तक छपाइमा नै आर्थिक चलखेल समेत हुने गरेको कतिपय सञ्चार माध्यममा समाचार प्रकाशित हुन्छन्। तर, शैक्षिक सत्र नै सकिन लाग्दा पनि पाठ्यपुस्तक पुग्न सक्दैन। 

२०७८ सालको नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु हुँदै छ। यस वर्ष समयमा पाठ्यपुस्तक सबै क्षेत्रमा पुग्छ भन्ने विश्वास गर्न सकिन्न। तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखा प्रमुख सुरेश जोशी सबै क्षेत्रमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउने दाबी गर्छन्।

उनले भने, ‘नयाँ शैक्षिक सत्र आउन अझै समय छ, पाठ्यपुस्तक छपाइ भइसकेको छ, यस वर्ष सबै ठाउँमा समयमै पुस्तक पुर्‍याउँछाैं‌‌।’ कर्णालीलगायत विकट जिल्लामा छिट्टै पाठ्यपुस्तक पठाउने तयारी थालेको पनि उनले जानकारी दिए।

उनका अनुसार कक्षा एकदेखि तीनसम्मको पाठ्यक्रम परिवर्तन भएकाले यी तहका पाठ्यपुस्तक निजी प्रकाशन कम्पनीलाई छाप्न दिइने र कक्षा चारदेखि १२ कक्षा सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापिरहेको छ। 

एक करोड ५० लाख थान छापियो, चैतमा सबै छापिने

शिक्षा सामग्री केन्द्र लिमिटेडका महासचिव चित्रकुमार आचार्यका अनुसार एक करोड ८५ थान पाठ्यपुस्तक छाप्नुपर्ने सरकारले जनक शिक्षालाई अनुमति दिएको छ। अहिलेसम्म एक करोड ५० लाख थान पाठ्यपुस्तक छापिसकिएको उनले जानकारी दिए।

‘अब करिब ३५ लाख थान पाठ्यपुस्तक मात्रै छाप्न बाँकी छ,’ आचार्यले भने, ‘यो सबै चैत महिनाभित्र छापिसक्छौं, त्यसपछि सबै पाठ्यपुस्तक वितरणका लागि सरकारलाई हस्तान्तरण गर्छाैं।’ 

उनका अनुसार अहिले कक्षा चारदेखि १२ कक्षा सम्मको पाठ्यपुस्तक धमाधम छापिँदै छ। ‘कक्षा एकदेखि तीनसम्मका पाठ्यक्रम परिवर्तन भएकोले छापेका छैनौं, त्यसको लागि अर्कै मेसिन खरिद भने गरेका छौं, सरकारबाट अनुमति पायौं भने त्यसको पनि छपाइ थाल्छौं,’ उनले भने।  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार २०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरिएको छ।२०७८ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा सकिने छ।

कोरोना संक्रमणले असर पुर्‍याएकाे शैक्षिक सत्र व्यवस्थापन गर्न समय घटाइएको उनको भनाइ छ। यस वर्षको शैक्षिक सत्र भने वैशाखबाट सुरु भई समय लम्ब्याई जेठ मसान्तमा पुर्‍याइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.