एकता पहल गर्न माधवलाई दोस्रो तहका नेताको दबाव

|

काठमाडौं : सत्तारुढ नेकपा एमालेको विवाद यतिबेला उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीचको शक्ति संघर्षको कारणले एमाले फुटको दिशामा अग्रसर भएको छ।

 ओलीले बोलाएको बालुवाटार बैठकमा नजाने खनाल–नेपाल समूहको अडानबाट पछि हटेर शुक्रबारको संसदीय दलको बैठकमा उक्त समूहका नेताहरू पनि सहभागी भए। बैठकमा दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जोगाएर अगाडि जानुपर्नेमा जोड दिए। तर, दुवै पक्षले आ–आफ्नो अडानबाट पछि हट्ने अवस्था देखिदैन।

वरिष्ठ नेता खनालको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूले कमीकमजोरीलाई सच्चाएर एकताको पहल गर्नुपर्ने भनाई राखे। प्रधानमन्त्री ओलीलाई खनाल–नेपाल समूहले फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने अडान बताए। तर, ओलीले आफूले पार्टीको विधान अनुसार निर्णय गरेको दाबी गर्दै कुनै पनि निर्णयबाट पछि नहट्ने बताए।

पार्टीभित्र दुरी बढिरहेको ओली समूहले पठाएको स्पष्टीकरणको जवाफले एकतालाई थप पर धकेलेको छ। महासचिव ईश्वर पोखरेलले ओलीको तर्फबाट पठाएको पत्रमा नेता नेपाल र भीम रावलले प्रति प्रश्नसहितको जवाफ फर्काएका छन्। त्यो पत्रप्रति असन्तुष्ट बन्दै ओलीले उनीहरू कारवाहीको भागिदार भएको बताइसकेका छन्।

आफ्नै निर्णयमा अडिग ओली

पार्टीभित्रको विवादको एक कारक हुन् प्रधानमन्त्री ओली। तर, उनी पार्टी एकता जोगाउनका लागि भएपनि आफ्नो निर्णयबाट ब्याक हुने मनस्थितिमा अझैं छैनन्।शुक्रबारको संसदीय दलको बैठकमा नेपाल समूहको नेताहरूले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर लानुपर्ने कुरा राखे। तर, ओलीले पार्टीको विधान अनुसार बैठक राखेर निर्णय गरेको भन्दै आफ्नो कुनैपनि निर्णय फिर्ता नहुने बताएको बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले बताएका थिए।

‘उहाँले पार्टीलाई एकताबद्ध गरेर जानका लागि आफू अलिकति पनि लचिलो नबन्ने संकेत गर्नुभएको छ। हामीलाई गलाएर लग्ने उहाँको रणनीति रहेको शुक्रबारको बैठकपछि हामी स्पष्टि भयौँ’ नेपाल निकट एक नेताले भने। 

ओलीले शुक्रबारको बैठकमा स्पष्ट रूपमा बालुवाटारमा भएको बैठकको निर्णय फिर्ता नहुने र पार्टी विपरित गतिविधि गर्नेलाई कारवाही गर्ने जानकारी गराए। ‘हामी गुटसँग डिल गर्दैनौँ। व्यक्तिगत रूपमा आएका प्रत्येकका आलोचना र गुनासा सुन्न तयार छौँ। पार्टीमा कुनै गुट वा समूहको भन्ने छैन’ ओलीको भनाई थियो। 

नेपाललाई बढ्दो दबाव

पार्टीभित्र समानान्तर कमिटीको विस्तारमा तिव्रता दिएको नेपाल समूहमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा नेताहरूबाट दबाव बढ्न थालेको छ। नेपाल समूहका शसक्त मानिएका नेता कृष्णभक्त पोखरेल नेपालले पार्टी फुटाउन खोजेको भन्दै ओली समूहमा फर्किए। 

त्यसो त ओलीले कारवाही प्रक्रिया अघि बढाएर भएपनि नेपाल समूहका नेतालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटीले नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्यो। त्यसको नेपाल र रावलले जवाफ फर्काएका छन्। 

ओलीले नेपाल र रावलको जवाफ कारवाहीको भागिदार हुने बताइसकेको छन्। अब कस्तो कारवाही गर्ने भन्नेबारेमा आगामि केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने सचेतक भट्टराई बताउँछन्। त्यसो त अदालतले पार्टीलाई साविकको अवस्थामा फर्काएपछि केन्द्रीय कमिटीको बैठकबाट अगाडि बढ्नुपर्ने स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट बताउँछन्।

पार्टीभित्रको विवाद समाधान गर्नका लागि सबैले एकजुट भएर छलफलबाट निकास निकाल्नुपर्नेमा उनको मत छ। ओलीको कदमविरुद्ध चर्को रुपमा बोल्दै आएका नेता योगेश भट्टराई पनि पार्टी एकताको लागि सबैले पहल गनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘कमीकमजोरी सबैको भएका होलान्। त्यसको समिक्षा गरेर सबैले गम्भीर भएर जुट्नुपर्छ। पार्टीलाई विभाजनतिर जान दिनुहुँदैन।’

ओलीविरुद्ध निरन्तर विरोध गर्दै आएकी नेतृ रामकुमारी झाँक्री पनि दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानलाई पचाएर भएपनि पार्टी बनाउने र बचाउने संकल्पमा लाग्नुपर्ने लेख्छिन्। 

भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लड्दै पार्टीलाई एकताबद्ध गराउनुपर्ने उनको तर्क छ। उनले ट्वीटरमा लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो। भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने हुन्छ। लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी।’ 

प्रचण्ड–माधव निरन्तर छलफलमा

नेकपाको एकता भंग हुनुअघि पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर नेता नेपाल समूहले ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको थियो। तर, अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई साविकको अवस्थामा फर्काएपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेपाल समूहका नेताहरू निरन्तर भेटवार्ता गरिरहेका छन्

अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने अन्तिम तयारीमा रहेका प्रचण्डसँग नेपालले बिहीबार साँझ र शुक्रबार बिहान निरन्तर छलफल गरिरहे।ओलीविरुद्धको मोर्चाबन्दीको प्रयासमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। 

टरेको छैन संकट

एमालेका प्रमुख सचेतक भट्टराई संसदीय दलको बैठकमा असन्तुष्ट समूह आएको भएर बैठक सकारात्मक दिशामा अगाडि बढेको भएपनि संकट नटरेको स्वीकार गर्छन्। ‘उहाँहरू बैठकमा आउनु सकारात्मक कुरा हो। पार्टीमा यतिवेला गम्भीर समस्या देखा परेका छ। अझैं त्यो समस्या टरेको छैन’ उनले भने, ‘हामी एकताको पक्षमै छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.