|

जनकपुर : मिथिलामा होलीको पूर्व सन्ध्यामा प्रत्येक वर्ष घोषणा हुने महामूर्ख उपाधि यस वर्ष नेपाली सिने जगतका चर्चित हास्य कलाकार ‘मह’ जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ।

आइतबार जानकी मन्दिरको प्राङ्गणमा मैथिली भाषा, कला र मनोरञ्जनको क्षेत्रमा काम गर्ने मिथिला नाट्य कला परिषद (मिनाप)ले आयोजना गरेको भव्य महामूर्ख सम्मेलन समारोहमा मह जोडीलाई महामूर्ख उपाधि प्रदान गरिएको हो।

मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उक्त उपाधि प्रदान गर्दै भने, ‘हाम्रो विचारमा मह जोडी भए पनि दुईजना होइन एकैजना हो। मह जोडीलाई यो सम्मान दिन पाउँदा मिनाप र मैले निकै खुशीको अनुभूति गरेको छु।’

त्यसैगरी सोही अवसरमा प्रदान गरिने मूर्ख शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ। चित्रकार एससी सुमनलाई तरघुस्का, मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि दिइएको छ।

जनता समाजवादी पार्टीका नेता राजीव झालाई वंशकुरहिर, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल, वरिष्ठ पत्रकार एवं साहित्यकार अशोक दत्तलाई बोतलानन्द, वरिष्ठ पत्रकार तथा सञ्चार उद्यमी शीतल साहलाई ढोरवा, महिला नेतृ विन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक वीरेन्द्र कणलाई बज्रकिट, डा. सुजित झालाई सिलौटानन्द, मोडल मल्टिपल कलेजका सञ्चालक वीरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हरसंख, शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द र जसपा नेता शेषनारायण यादवलाई चोन्हमाको उपाधि प्रदान गरिएको छ।

सम्मान ग्रहण गर्दै महजोडीले आफूहरुका लागि अहिलेसम्मकै उत्कृष्ट सम्मान रहेको बताए। यो सम्मान घरमा प्राथमकिताका साथ लगाउने प्रतिवद्वता उनीहरुले व्यक्त गरे। यस्तै‚ मिनापको यो सम्मानले देशमा तराई/मधेश र हिमाल पहाडको सम्बन्ध झनै जोड्ने काम गरेको बताए।

होलीको अवसरमा व्यंग्य र ठट्यौलीको रुपमा जनकपुरमा हरेक वर्ष महामूर्ख सम्मेलनको आयोजना हुने गरेको छ। वास्तविक जीवनमा कोही पनि आफूलाई महामूर्ख कहलाउन चाहँदैन। तर, होलीको अवसरमा दिइने ‘महामूर्ख’को उपाधि पाउन जनकपुरमा तँछाडमछाड हुने गरेको छ। होलीको अवसरमा दिइने महामूर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठान्ने गर्दछन्।

२०६१ सालदेखि मिथिला नाट्यकला परिषदले महामूर्ख सम्मेलन गर्दै आएको छ। महामूर्खको उपाधि पाउने पहिलो व्यक्ति मैथिली कवि नरेश ठाकुर हुन्। २०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा नेकपाका नेता रामचन्द्र झाले महामूर्खको उपाधि पाएका थिए। 

यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडी, २०६९ मा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा तत्कालीन जिल्ला सभापति रामसरोज यादव, २०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका पूर्वसांसद डा. विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुध्‍न महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामूर्खको उपाधि पाएका थिए।

२०७३ मा मधेश आन्दोलनले गर्दा कार्यक्रम हुन सकेन। २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन एमालेले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम परिषद्ले स्थगित गरेको थियो।

२०७४ मा जसपा नेता वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र २०७६ मा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.