कतै ४ मिटर त कतै ५ मिटर

|

चितवन : भरतपुर महानगरपालिकाको गौरबको आयोजनाका रुपमा रहेको महानगरीय रिङरोड बल्ल १७ किलोमिटर (किमी) सडक कालोपत्रे हुँदै छ। 

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७५ असारमा महानगरीय रिङरोड सहित विभिन्न आयोजनाको शिलान्यास गरेका थिए।

रिङरोडका लागि टिकौली जंगलछेउ गोन्द्राङ–कसरा–गोलाघाट हुँदै रामघाट–पुलचोक–आँपटारी भएर गणेशस्थान–गोन्द्राङसम्म ८८ किमी सडकमा कालोपत्रे गर्नुपर्ने हुन्छ। ८८ किमीको रिङरोड हालसम्म १७ किमी सडक पनि कालोपत्रे भइसकेको छैन। 

रिङरोडको आयोजनालाई भरतपुर महानगरले ०७४/७५ मा नै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो। त्यसपछि हरेक वर्ष रिङरोड प्राथमिकतामा पर्दै आएको छ।

संघीय र महानगरीय बजेटमा १७ किमी सडक कालोपत्रे हुन लागेको हो। महानगरले ७.५२५ किमी सडक लगभग कालोपत्रे गरिसकेको छ। संघीय आयोजनामा परेको १०.१०० किमी सडक कालोपत्रे हुन अझै केही समय लाग्ने देखिएको छ।

महानगरले बनाएको ६ मिटर चौडाइ भएको रिङरोडमा कालोपत्रे भने कतै ४ मिटर त कतै ५ मिटर मात्रै छ। बस्तीको अवरोध र वनको इआइए प्रतिवेदनका कारण ६ मिटरमै कालोपत्रे गर्न नसकिएको महानगरले जनाएको छ। 

महानगरले रिङरोडअन्तर्गत गोन्द्राङदेखि दक्षिणतर्फ भरतपुर–११, १२, ८ र ९ मा पर्ने जंगल सिमानामा ३.७२५ किमी सडक निर्माण गरेको छ। ६ मिटर चौडाइको बाटोमा अहिले चार मिटर मात्रै कालोपत्रे भएको भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले बताए। 

ओम सत्यसाई कन्स्ट्रक्सन प्रालि भरतपुरले भ्याटसहित एक करोड ७८ लाख ७५ हजार रुपैयाँमा यो ठेक्का पाएको हो। यस सडकको सबै काम सम्पन्न भइसकेको छ। 

गोन्द्राङबाट उत्तरतर्फ जंगल सिमानामा एक किमी सडक कालोपत्रे गर्ने काम भइरहेको आचार्यले बताए। ‘गोन्द्राङबाट जंगल सिमाना हुँदै उत्तरतर्फ ५०० सय मिटरमा पिच भइसक्यो, बाँकी ५०० मिटरमा सवबेशको काम भइरहेको छ’, उनले भने, ‘यो बाटो उपभोक्ता समितिमार्फत भएको हो।’

भरतपुर–६ र १३ मा पर्ने जंगल सिमानामा पनि १.३०० किमी सडक कालोपत्रे गर्ने काम भइरहेको उनले बताए। ‘सवबेशको काम भइरहेको छ। असार मसान्तसम्म काम सकिन्छ भन्ने अपेक्षा छ’, उनले भने। 

भरतपुर–११ को पदमपुरतर्फ जाने बाटोबाट उत्तरतर्फ जंगल सिमानाको करिब १.५०० किमी सडक मर्मत गरिएको छ। रिङरोड अन्तर्गत निर्माण भइरहेका सबै खण्डहरु यसै आवमा सकिने उनले बताए। ‘रिङरोड अन्तर्गतका थप सडकहरु पनि निर्माण गर्न ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ’, उनले भने।

संघीय आयोजनामा ढिलासुस्ती

रिङरोड अन्तर्गत प्रचण्डले शिलान्यास गरेका दुई वटा संघीय आयोजनामा ढिलासुस्ती भएको छ। १.१०० किमी पुलचोक–रामघाट र ९ किमी कसरा चोक–छाता चोकसम्मको दुई वटा सडक निर्माणमा ढिलाइ भएको छ। 

सव–बेश गर्ने सामग्रीको अभाव भएको भन्दै ठेकेदार कम्पनीहरुले निर्माणमा ढिलाइ गरेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए। दुवै आयोजनाको म्याद ०७७ पुषमा सकिएपछि फेरि ०७८ असारसम्मको म्याद थप भएको छ।

‘निर्माण कम्पनीहरुले सव–बेशका कच्चा सामग्री पाउनै मुस्किल परेको बताएका छन्’, उनले भने, ‘६–७ महिनासम्म यसकै कारण ढिला भयो। अबचाँहि सहज होला जस्तो छ,’ थप भएको म्यादमा पनि काम सक्न सहज नभएको उनले बताए।

पुलचोक–रामघाटमा ग्याबिन जाली लगाउने काम सकिएको छ। अब यहाँ सव–बेशको काम बाँकी छ। सव–बेश गरेर कालोपत्रे गर्ने काम गरिन्छ। यसको हालसम्मको भौतिक प्रगति जम्मा २० प्रतिशत छ। यस आयोजनाको जिम्मा रमन÷शिवशक्ति जेभीले पाएको हो।

त्यस्तै, कसरा चोक–छाता चोक खण्डको भौतिक प्रगति ५० प्रतिशतमा सिमित छ। यस खण्डमा बेशको काम गर्न बाँकी छ। यो आयोजना सन्तोषी कान्छाराम डाँफे जेभीले जिम्मा पाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.