ट्यांकर व्यवसायमा लागेकालाई सरकारले रोजगारी दिनुपर्ने माग

|

काठमाडौं : दुई दशकपछि काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी झरेको छ।

पानी वितरण थालेसँगै चाबहिल, कुटुबहाल, अनामनगरलगायत क्षेत्रका स्थानीयबासी खुसीले दंग छन्। तर, यसअघि पानी आपूर्ति गरिरहेका ट्यांकर र जार व्यवसायी भने मेलम्चीको पानी आएपछि व्यापार घट्नेमा केही चिन्तामा छन्।

 के अब ती व्यवसायी विस्थापित होलान् त? काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेल भन्छन्, ‘मेलम्ची पानीलाई हामी स्वागत गर्छौं, अझै हाम्रो पानीको माग दुई वर्षसम्म घट्दैन भन्ने विश्वस लिएका छौँ।’

उनले जहाँ सुक्खा र पानीको आवश्यकता छ त्यस ठाउँमा आपूर्ति गर्दै जाने बताए। उनका अनुसार अहिले संघले दैनिक आठ करोड लिटर पानी ट्यांकरमार्फत आपूर्ति गरिरहेको छ।  

‘सरकारले विस्थापित हुन नदिन सहयोग गर्नुपर्छ’

संघका अध्यक्ष कँडेल ट्यांकरकाे पानी विस्थापित हुन नदिन सरकारले सहयोग गर्नुपर्ने माग गर्छन्। ‘पहिला सरकारले समस्याको बेला हामीलाई प्रयोग गर्‍याे,’ उनले भने, ‘अब मेलम्ची पानी ल्याइसक्यो भनेर हामीलाई बेवास्ता गर्नुभएन, सरकारले यस विषयमा केही न केही सोचेको छ होला नि!।’ 

सरकारले ट्यांकर व्यवसायीलाई सहयोग नगरे ट्यांकर चालकको रोजगारीसमेत गुम्ने चिन्ता कँडेलले व्यक्त गरे। भने, ‘ट्यांकर चालक पनि अनुमति पत्र लिएर नै पानी ओसारपसार गरिरहेका छन्, सरकारले उनीहरुलाई पनि रोजगारीको सुनिश्चिता गरिदिनुपर्छ।’

उनका अनुसार उपत्यकाभित्र करिब आठ सय ट्यांकरले उपत्यकामा पानी वितरण गरिरहेका छन् भने, पोखरामा करिब २५ वटा ट्यांकर छन्। 

मेलम्ची पानीले २५ प्रतिशत जारको पानीको माग घट्ने

मेलम्ची पानी काठमाडौंमा आएसँगै जार र मिनरल पानीको माग २५ प्रतिशत घट्ने देखिएको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारी बताउँछन्।

‘मेलम्ची पानी आउनु राम्रो हो, तर,पनि हाम्रो जारको पानीको माग धेरै घट्दैन, किनभने जारको पानी खाने ट्रेन बसिसकेको छ, घट्यो भने २५ प्रतिशत माग घट्ला तर, पूरै विस्थापित हुँदैन,’ भण्डारी तर्क गर्छन्। 

उनले दैनिक डेढ लाख जार पानी उपत्यकावासीले उपयोग गरिरहेका जानकारी दिए। ‘उपत्यकावासीले मेलम्चीको पानी मात्रै उपयोग गर्‍याे भने चाहिँ हामी पनि अप्ठ्यारोमा पर्छौ, आम्दानी घट्छ, यस विषयमा सरकारले हेर्नुपर्छ।’

पानीको आपूर्ति चार करोडबाट बढेर साढे ६ करोड पुग्यो

सिन्धुपाल्चोकको मेलम्ची पानी सुन्दरीजल प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटर झर्छ। त्यहाँबाट प्रशोधित साँढे ६ करोड लिटर पानी अहिले दैनिक काठमाडौंको चावहिल, अनामनगरलगायत क्षेत्रमा वितरण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। थप अब बालाजु र बाँसबारी क्षेत्रमा पानी वितरण गरिने उनले बताए।

ट्यांकर पानीको विषयमा प्रवक्ता राईले भने, ‘हाम्रो जिम्मेवारी भनेको ग्राहकको धारामा पानी पुर्‍याएर सेवा दिने हो, ट्यांकरलाई के गरिने भन्ने विषयमा त अब सरकारले नै केही योजना बनाउँला नि।’

केयुकेयलका निर्देशक मिलन शाक्यका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। केयुकेयलको दुई लाख ३० हजार ग्राहक छन्। एक ग्राहकको धारामा दैनिक एक हजार लिटर पानी दिइने छ। थप माग आपूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.