|

लमजुङ : पूर्वी लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन १३२ केभी विद्युत् प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। यही चैतभित्र सक्ने गरी निर्माण कार्य सुरु भए पनि अब दुई साताभित्रै सम्पन्न हुने आयोजनाले जनाएको हो।

दोर्दी गाउँपालिका–६ ढोढेनीको कीर्तिपुरदेखि बेसीशहर–१ उदिपुरसम्म १४ किलोमिटर १३२ केभीए ट्रान्समिसनलाइन निर्माणको काम करिब सम्पन्न भएको आयोजना प्रमुख रमेश पौडेलले बताए। पौडेलका अनुसार प्रशारण लाइनका सबै टावर निर्माण सम्पन्न भई तार जडानको काम अन्तिम चरणमा पुगेको छ।

कीर्तिपुरदेखि उदिपुरसम्म राखिएका ३३ वटा टावरमध्ये अन्तिम टावरमा मात्रै तार जडानको क्रममा रहेको पौडेलले बताए। अन्तिम टावरमा तार जडानको लागि मर्स्याङदी भुलभुले विद्युत् प्रशारण बन्द गर्नुपर्ने भएकाले केही दिन पर्खनु परेको हो।

विद्युत् प्रशारण बन्द गर्न नेपाल विद्युत् प्राधिकरणले अनुमति दिनुपर्ने र त्यसका लागि पत्रचार गरिएको पौडेलले बताए। प्राधिकरणले अबको दुई साताभित्र भुलभुले–मध्यमर्स्याङ्दी विद्युत् प्रशारण बन्द गर्ने तालिका सार्वजनिक गरेसँगै काम पनि सम्पन्न हुने बताइएको छ।

राष्ट्रिय प्रशारण लाइन निर्माणका लागि १८ महिनामा सक्ने गरी अघिल्लो वर्षको फागुनमा सम्झौता भएको थियो। अघिल्लो वर्षको असारमा सक्ने गरी प्रसारण लाइन निर्माणका लागि मुडवरी एण्ड जोशी कम्पनीले जिम्मा लिएको विद्युत् प्राधिकरणले जनाएको छ। आयोजनाका अनुसार प्राधिकरणले नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत उदिपुरमा सबस्टेसन निर्माणको काम पनि सम्पन्न गरी परीक्षणको क्रममा छ।

६० करोड रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन गत आर्थिक वर्षभित्र पूरा गर्ने प्रधिकरणको लक्ष्य रहेको थियो। नेपाल सरकारले समयमा ट्रान्समिसनलाइन निर्माणको कार्य सुरु नगर्दा दोर्दी कोरिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना प्रवर्द्धकहरु चिन्ता गर्दै आएका थिए। तर अब प्रशारण लाइन निर्माण सम्पन्न भएसँगै जलविद्युत आयोजनाको विद्युत खेर नजाने निश्चित भएको छ।

प्रसारण लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणाधीन २०० मेगावाटका आयोजनाको विद्युत् यो प्रसारण लाइन हुँदै २२० केभी मर्स्याङ्दी कोरिडोरमा गएर जोडिनेछ। दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन्। यीमध्ये माथिल्लो दोर्दी ‘ए’ सँगै दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.