परशुराममा पाइप जल्दा खानेपानीको हाहाकार

|

डडेल्धुरा : डडेल्धुराका सामुदायिक वनहरू डढेलोले सखाप पारेको छ। सुक्खायाम र गर्मी मौसमसँगै डडेल्धुराका करिब एक सय बढी सामुदायिक र सल्लेरी वनहरूमा डढेलो लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्लाका सातवटै स्थानीय तहमा रहेको सामुदायिक र सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रमा समेत डढेलो लागेको वनकर्मीहरू बताउँछन्।

स्थानीय उपभोक्ताको लापरबाहीका कारण जंगलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए।

उनले अत्यधिक गर्मी बढ्नु र वनमा चोरी शिकारी गर्ने व्यक्ति तथा गोठालाको लापरबाहीका कारणले डढेलो लागेको बताए। चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरबाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डढेलो लाग्ने गरेको कतिपयको बुझाइ छ।

‘नँया घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताहरूले आफैं डढेलो लगाउने गर्दछन्। घाँस काट्नका लागि उपभोक्ताहरूले आगो लागाउने गर्दछन् र, त्यही आगो सुक्खा मौसमका कारण नियन्त्रमा ल्याउन नसक्दा वन विनास हुने गर्दछ,’ उनले भने।

गाईगोरू चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउने तर अत्याधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकी वन विनास हुने गरेको परशुराम नगरपालिका–७ का मोहन सिंहले बताए।

आगो हावाका कारण नियन्त्रण गर्न नसकिने भएकाले भर्खरै हुर्किरहेका बुट्यान तथा जंगली जनावरको समेत मृत्यु हुने गरेको उनले बताए। हरेक वर्ष डिभिजन वन कार्यालयले डढेलोसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दा गर्दै पनि वनहरुमा डढेलो लागेको वन अधिकारीहरूको भनाइ छ।

डिभिजन वन कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाको कुल भू–भागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजंगल रहेको छ। एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन जंगल रहेको छ। बर्सेनि डडेल्धुराका ५० प्रतिशत बढी वनमा डढेलो लाग्ने गर्दछ।

खानेपानीको पाइप जल्दा समस्या

डडेल्धुराको परशुराम नगरपालिकाको वनमा लागेको आगोले खानेपानीको पाइप जलाउँदा खानेपानीको हाहाकार भएको छ।

नगरपालिकाको वडा नम्बर ७ घुम्तेगडास्थित शीतल सामुदायिक वनमा आगलागी हुँदा खानेपानीको हाहाकार भएको सिद्ध खानेपानी उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउदले बताए।

उनका अनुसार गाउँका करिब ४० घरधुरीमा पानीको समस्या भएको छ। उनले खानेपानी आयोजनाको ४ सयदेखि ५ सय मिटर पाइप जलेको बताए।

परशुराम नगरपालिकाको वडा नम्बर १, २ र ३ को तिमुल पाखे खाने आयोजनाको पाइप समेत जलेर नष्ट भएको छ। खानेपानीको पाइप जल्दा उम्लेक, पातल, स्विकाणा, सालकोट, मार्कु, अचलसैनालगायतका गाउँमा पनि खानेपानीको समस्या भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.