|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ ले वडाका नागरिकलाई घर, आँगनबाट सेवा प्रवाह गरिरहेको छ। वडाले एकीकृत घुम्ती शिविरमार्फत वडाका नागरिकलाई घर, आँगनबाट सेवा प्रवाह गरिरहेको हो। 

भौगोलिक जटिलताका साथै जनताको समस्यालाई मध्येनजर गरी सहज र जनमुखी ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले बेला–बेलामा एकीकृत घुम्ती शिविरको आयोजना गरे नागरिकको घर, आँगनमा पुगेर सेवा दिइ राखिएको वडाले जनाएको छ।

यस पटकको शिविर मार्फत ज्येष्ठ नागरिक ७० जना, दलित ज्येष्ठ नागरिक १८ जना, एकल महिला ३६ जना, पूर्ण अशक्त ६ जना, अति अशक्त ७ जना र बालबालिका ३४ जना गरी १६५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। यस अवधिमा १३ लाख ५२ हजार ४०७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष केसीले बताए। 

एकीकृत घुम्ती शिविरमा पञ्जिका अधिकारी, स्वास्थ्यकर्मी, कृषि र पशु प्राविधिक टोली सहित जनप्रतिनिधिले वडाका नागरिकलाई सेवा दिएका हुन्। यसै क्रममा  ३५० जनाको स्वास्थ्य परीक्षणसँगै परामर्श दिइएको छ भने, १५० जनालाई औषधि वितरण गरिएको छ।  

१२५ घरधुरीका ६५० पशुपक्षीलाई औषधि उपचारसँगै परामर्श सेवा प्रदान गरिएको छ। शिविरकै क्रममा २७५ घरधुरीका नागरिक तथा कृषकलाई तरकारीको बीउबिजन वितरण गरिएको छ भने २८ हजार २६० रुपैयाँ राजश्व संकलन भएको वडाध्यक्ष केसीले बताए। 

वडाको छिपखोला बस्तीबाट शुरू भएको एकीकृत घुम्ती शिविर सुद्रि, दत्कुना, कुरपानी, तुवाङ, खरिवोट, किदाँ हुँदै नायगाडमा पुगेर शनिबार सम्पन्न भएको हो। शिविरकै क्रममा विभिन्न योजना तथा विद्यालयको पनि अनुगमन गरिएको छ। नागरिकसँग भेटघाट छलफल तथा अन्तरक्रिया समेत गरिएको छ। 

यसरी नागरिकको माझमा जाँदा उनीहरूको समस्या र आवश्यकता बुझ्ने र पहिचान गर्ने अवसर मिलेको वडाध्यक्ष केसीको भनाई छ। जनसम्बन्धलाई जीवन्त राख्न निर्वाचित भएको वर्षदेखि नै यो अभियान निरन्तर सञ्चालन गरिराखेको वडाध्यक्ष केसीले बताए।

वडाध्यक्षको नेतृत्वमा क्षेत्रगत कर्मचारीबाट आफूहरूको घर, आँगनमै सेवा प्रवाह हुँदा वडाबासीले खुसी व्यक्त गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.