घुमफिर र अवलोकनमा आउने बढ्दै

|

काठमाडौं : नागार्जुन नगरपालिका–७ गोतामथोकमा पछिल्लो समय आन्तरिक पर्यटकहरू बढेका छन्। यहाँ ‘अर्गानिक एनिमल एण्ड बर्ड फार्म हाउस’ सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरू पुग्ने क्रम बढेको हो। फार्म हाउसमा सञ्‍चालित होमस्टे र यहाँ पालिएका पशुपंक्षी यहाँको आकर्षण हो।

माथि झाँक्रीबास जंगल, जंगलभन्दा तल ‘फार्म हाउस’ र त्यही ‘फार्म हाउस’मा सञ्‍चालित होमस्टे। काठ र माटोबाट बनेको घरलाई चिटिक्क बनाएर १५ डबल बेडसहित होमस्टे सञ्‍चालनमा ल्याइएको छ।

राजधानीमा विभिन्न पेशामा आवद्ध सात जना युवाहरूको सक्रियतामा ४० लाखको लागतमा होमस्टे सञ्‍चालनमा ल्याइएको हो। जसमा एकजना पत्रकारसमेत आबद्ध छन्। १४ वर्ष इमेज च्यानलमा रिपोर्टिङ र डेक्स समालेका सन्दीप पौड्याल हाल हिमालय टाइम्स राष्ट्रिय दैनिकमा उप–सम्पादकको भूमिकामा छन्। पौड्यालले देशका विभिन्न जिल्लामा पुगेर होमस्टेहरूकै विषयमा अध्ययन र रिपोर्टिङमार्फत ती ठाउँहरूलाई उजागर गर्ने काम गर्दै आइरहेका थिए।

ओझेलमा परेका त्यस्ता ठाउँहरूलाई उजागर गरेकै कारण उनी ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’ भिटोफ नेपालबाट दुई पटक सम्मानितसमेत भइसकेका छन्। भिटोफले ओझेलमा रहेका तर संभावना बोकेका नयाँ गन्तव्यको पहिचान गरी त्यस्ता ठाउँमा होमस्टे सञ्‍चालन गर्ने काम गराउँदै आइरहेको छ।

उनीसँगै किशोर पौडेल, मनोज खनाल, दिवाकर अर्याल, सुदर्शन चालिसे, सुजन चालिसे, प्रधुम्न भट्टराई र सुमन चापागाईं फार्मका सञ्‍चालक हुन्। नयाँ सोचसहित सुरु गरिएको यस होमस्टेको मुख्य विशेषता भनेको गाउँ परिवेशको वातावरण एकै ठाउँमा पाउनु हो।

यहाँ रहेको भिरालो जग्गामा जस्तो जमिनको अवस्था छ, त्यसलाई नबिगारी त्यसैमाथि संरचना निर्माण गरिएको छ। गाई, बाख्रा, कुखुरा, हाँस, कालिजलगायतका पशुपक्षी यहाँ रहेका छन्। स्कुले विद्यार्थी, कृषि पढ्ने विद्यार्थीलगायत ग्रामीण परिवेश मन पराउनेहरूका लागि यो होमस्टे उपयुक्त रहेको छ। होमस्टेमा पुग्नेहरूलाई लोकल उत्पादन नै प्राथमिकता दिइएको छ।

सन्दीप पौड्याल भन्छन्, ‘मैले पत्रकारितामा विशेषगरी होमस्टेहरूमै केन्द्रित रहेर रिपोर्टिङ गरेँ, विभिन्न जिल्लामा पुगेर उनीहरूको रहनसहन र तौरतरिका सिकेँ, म मात्रै होइन मसँगै दाजु (किशोर) पनि विभिन्न ठाउँका होमस्टेमा पुग्नुभएको छ। उहाँ पनि यसमा चाख राख्ने व्यक्ति हुनुहुन्छ।

टेक्निकल आइडिया पनि उहाँमा धेरै छ। त्यसैले उहाँकै अग्रसरतामा यो होमस्टेको परिकल्पना भएको हो। शुरुमा फार्ममात्र गर्ने उदेश्यले काम शुरु गरेपनि कोरोना केही साम्य भएपछि पुसदेखि मात्र होमस्टे सञ्‍चालनमा ल्याइएको हो।’

घुमफिर र अवलोकनमा आउने बढ्दै

संघसंस्थाको अध्ययन, अवलोकन भ्रमणको लागि पनि होमस्टे छनोटमा पर्न थालेको छ। व्यक्तिगत तथा पारिवारिक घुमफिर र घरबासको अनुभव लिन आउने पनि उत्तिकै छन्। ‘बिदाको दिनमा पाहुना बढी हुन्छन्, अहिले आन्तरिक पर्यटक मात्र आइरहका छन्’ सञ्चालक पौड्यालले बताए।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, गाउँले परिवेश, हाइकिङ होमस्टेका आकर्षण हुन्। ‘मौसमअनुसारका स्थानीय परिकार खुवाउँछौँ’ पौड्यालले भने। मकै, कोदो, फापर, आलु, च्याउ, सिस्नोलगायतबाट बनेका परिकार घरबासमा उपलब्ध छ। स्थानीय खसीबोका, कुखुरा, हाँस, कालिजको मासुसमेत यहाँ खान पाइन्छ।

खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति १५०० मूल्य तोकिएको छ। प्याकेजको खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ। यहाँ आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक नजिकका पर्यटकीय गन्तव्यले आकर्षित गर्ने गरेको छ।

यहाँबाट देखिने दृश्‍य भनेको काठमाडौं उपत्यका र आसपासका बस्ती हो। यहाँबाट पूर्वतर्फ उपत्यकाका विभिन्न समयका दृश्‍य अवलोकन गर्न सकिन्छ। स्वयम्भू आँखा अगाडि नै छ। दक्षिण र पश्चिमतर्फ झाँक्रीबास जंगल रहेको छ भने उत्तरपूर्वतर्फ नागार्जुन जंगल, ह्‍वाइट गुम्बा, रहेका छन्।

यहाँबाट देखिने सूर्योदय निकै मनमोहक रहेको छ। पूरै मौसम खुलेको समयमा यहाँबाट विभिन्न हिमशृंखलासमेत अवलोकन गर्न सकिने सञ्‍चालक पौड्यालले बताए।

हाइकिङ अर्को विशेषता

यहाँको अर्को विशेषता भनेको हाइकिङ हो। एक रात होमस्टेमा बस्न आउनेहरूलाई जंगलको बाटो हुँदै हाइकिङ गराइने सञ्‍चालक पौड्यालले भने। ‘हामी हाम्रा पाहुनाहरूलाई साँझ खाजा, बेलुका खाना खुवाउँछौं।

                                                       हाइकिङको बाटो देखाउँदै संचालक सन्दीप पौड्याल

राति क्याम्प फायरको पनि व्यवस्था छ, गर्मी लाग्यो अब क्याम्प फायरचाहिँ गर्न नपर्ला, तर हामीकहाँ पुग्ने पाहुनाले माग गर्नुभयो भने हामीले उपलब्‍ध गराइदिन्छौं। बिहान ब्रेकफास्टमा फापरको रोटी, तरकारी, लोकल अण्डा खुवाएर हाइकिङ लग्छौं। हाम्रो हाइकिङको रुट भनेको कालु पाँडेको शालिक वा स्वीजरल्याण पार्कसम्म हुन्छ। करिब दुई घण्टाको जंगलको वाकपछि मध्यान्नमा खाना खुवाएर हाम्रा पाहुनालाई बिदाइ गर्छौं।

एक दिन त फार्म र आसपास घुमेरै बित्छ, यहाँ आउने पर्यटकले ‘दुई दिनको घुम्ने योजना बनाउँदा सबै ठाउँ पुग्न सकिन्छ,’ पौड्यालले भने।

कसरी पुगिन्छ?

सीतापाइला चोक, बाफल र कलंकी भएर तीन बाटोबाट यहाँ पुग्न सकिन्छ। यीमध्ये सीतापाइला चोकबाट अगाडि बढ्ने बाटो सबैभन्दा राम्रो छ। यहाँको शान्त वातावरणमा वनभोज कार्यक्रमसमेत गर्न सकिन्छ। सीतापाइलादेखि मात्र २० मिनेटमा मोटर वा मोटरसाइकलमार्फत फार्मसम्म पुग्न सकिन्छ। पैदल जानको लागि सीतापाइला चोकदेखि महांकाल चोकसम्म सार्वजनिक बस र त्यहाँबाट आधाघण्टा हिँड्नुपर्ने हुन्छ।

विशेषगरी बालबालिकालाई घुमाउन र गाउँले परिवेशको वातावरणको अवलोकन गर्न यो ठाउँ उपयुक्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.