|

रुकुम (पूर्व) : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रुकुम पूर्वका लागि एक हजार क्विन्टल चामल कोटा स्वीकृत गरेको छ। जिल्ला खाद्य व्यवस्थापन समिति रुकुम पश्चिमले माग गरे अनुसार उक्त कोटा स्वीकृत भएको हो।

आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको रुकुम पश्चिम शाखा कार्यालयले लिमिटेडको बिक्री वितरण विभागले प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो। 

रुकुमपूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष जिल्लाका रुकुमकोट र तकसेरामा चामल आपूर्ति गर्ने गरेको छ। आसपासका सर्वसाधारणलाई लक्षित गरेर ठेक्कामार्फत यहाँ ल्याइएको चामल ठेकेदारले नै बेच्दै आएका छन्। 

रुकुमपूर्व छुट्टै जिल्ला बनेपनि हालसम्म जिल्लामा छुट्टै खाद्य डिपो कार्यालय स्थापना भएको छैन। हाल खाद्यको चामल ठेक्कामार्फत आपूर्ति भइरहेको छ।

चालु आर्थिक वर्षमा पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराको लागि पाँच सय र सिस्ने गाउँपालिकाको रुकुमकोटको लागि पाँच सय गरी जिल्लामा एक हजार क्विन्टल चामल स्वीकृत भएको रुकुम पश्चिम खाद्य डिपो कार्यालयका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए। 

रुकुमकोटमा राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमबी बिल्डर्सले ठेक्का पाएको छ। तकसेराको लागि तीन सय ६० क्विन्टल र रुकुमकोटको लागि ६० क्विन्टल गरी चार सय २० क्विन्टल चामल आइपुगेको निमित्त शाखा प्रमुख खड्काले बताए। अब बाँकी पाँच सय ८० क्विन्टल चामल आउन बाँकी रहेकोमा असारसम्म उक्त चामल जिल्लामा लिइ सक्नु पर्ने खड्काले जानकारी दिए। 

तकसेरामा पहिलो चरणको खाद्यको चामल बिक्री भइसकेको छ भने दोस्रो चरणको चामल आउन बाँकी रहेको छ। हालै रुकुमकोटका लागि मोटा, सोना मन्सुली र जिरा मसिनो २०/२० क्विन्टल गरी ६० क्विन्टल चामल आइपुगेको रुकुमकोट जिल्ला उद्योग बाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए। र्खानका अनुसार सिस्ने–६, छिप्रिदहमा रहेको समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री भइरहेको छ। 

ठेकेदारले बेच्छन् खाद्यको चामल

ठेकेदारले चामल बिक्री गर्ने भएकाले भनेको समयमा उपलब्ध नहुने गरेको भूमे गाउँपालिका–२ का तिलक बुढा मगरले बताए।

‘चामल बिक्री गर्न केही दिन मात्रै ठेकेदारका मान्छे बस्छन्,’ उनले भने, ‘टाढाबाट पुग्दापुग्दै उनीहरू उठिहाल्छन्, हामीले चामल पाउन मुस्किल हुन्छ।’ बजारका मान्छेले खासै खाद्यको चामल नकिन्ने भए पनि गाउँका मान्छेका लागि खाद्य संस्थानकै कार्यालय र कर्मचारी हुँदा सजिलो हुने उनको भनाइ छ। रुकुमकोट तथा तकसेरामा चामल ढुवानी तथा अरू व्यवस्थापन रुकुम पश्चिमको शाखाले हेर्दै आएको छ।

चामल सम्बन्धित ठाउँमा पुग्यो/पुगेन, बिक्री भयो/भएन भन्नेबारे खाद्य कम्पनीले वास्ता गर्दैन। रुकुमकोटको शोभा गाउँमा कम्पनीको डिपो कार्यालय छ। डिपोमा कर्मचारी नहुँदा लामो समयदेखि ठेकेदारले चामल बेच्नुपरेको छ।

डिपोका लागि एक सुब्बा स्तरका कार्यालय प्रमुख, एक जना सहायक र एक जना कार्यालय सहयोगीको दरबन्दी छ। १९ वर्षदेखि यहाँ कर्मचारी छैनन्। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खाद्य संस्थानको डिपो कार्यालय त्यहाँबाट हटाइएको थियो। त्यसपछि डिपोमा कर्मचारी फर्केका छैनन्। तकसेरामा पनि कर्मचारी छैनन्। ढुवानी ठेक्का लिएकाले नै चामल बिक्री गर्दै आएका छन्।

खाद्य डिपो कार्यालयमा कर्मचारी पूर्तिको लागि पटक पटक माग गरेपछि सरकारले वास्ता नगरेको उद्योग बाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष मल्लले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.