|

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ताले नयाँ खालको राजनीतिक तरङ्ग पैदा गरिदिएको छ।

फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

ओली र नेपालबीचको भेटवार्ताले पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा कार्यकर्ता र शुभचिन्तकले गरेका छन्। ओलीसँगको भेटवार्तापछि साथीहरुसँग छलफल गरेर मात्रै बोल्ने प्रतिक्रिया दिएर निस्केको नेपाल समूह आन्तरिक छलफल जुटेको छ। ​

भेटवार्तापछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले पार्टीका विभिन्न नेतालाई व्यक्तिगत रूपमा भेटघाट गरी पार्टीभित्र सहमतिमा जोड दिएको बताएका थिए। सोही क्रममा ओलीले नेता नेपालसँग भेटवार्ता गरेका थापाको भनाइ छ। 

एमाले नेता योगेश भट्टराईले बुधबार दिउँसो बालुवाटार पुगेर पार्टी एकतालाई जोगाउनका लागि ओलीलाई भूमिका खेल्न आग्रह गरेका थिए। नेता भट्टराईको आग्रहपछि ओली नेता नेपालसँग भेटवार्ताका लागि राजी भएको बुझिएको छ। 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले भेटवार्ता सकारात्मक रहेको तर्क गरेका थिए। उनले भनेका थिए, ‘दुवै नेता प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो मैले राम्रै संकेत देखेको छु।’

माधव विरुद्ध खनिन छाडेनन् 

तर, अध्यक्ष ओलीले भने सार्वजनिक रुपमा माधव नेपालमाथि खनिन छाडेका छैनन्। बुधबार नेपालसँग दुई घण्टा गोप्य वार्ता गरेका ओलीले बिहीबार बिहान सार्वजनिक रुपमै नेता नेपालविरुद्ध खनिए।

ओलीले बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै भने, ‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे,’ उनले भने, ‘त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान्? नहुँदा त यस्तो छ।’​

आफूमाथि हमला गरेर दाहाल–नेपाललगायतले पछि पार्टीको साधारण सदस्यबाटै हटाउने काम गरेका ओलीले आरोप लगाए।

‘ओलीलाई धुलोमा मिलाइदिन्छु, टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको थियो, तर मैले त्यसलाई विफल तुल्याइदिएँ,’ ओलीले भने। 

बुधबार आ-आफ्नो अडानबाट पछि हट्न नसक्ने निष्कर्षका साथ उठेको ओली र नेपाल आज पनि बसिरहेका छन्। हिजोको बैठकमा ओलीले पार्टीमा गुटबन्दी नचल्ने भन्दै बैठकमा आफ्नो कुरा राख्न आग्रह गरेका थिए। तर, नेता नेपालले ओलीले गरेको पार्टीभित्रको एकलौटी निर्णय फिर्ता हुनुपर्ने अडान राखेका थिए। 

नेताहरुको दबाव  

पार्टी एकताको लागि मध्यमार्गी भूमिका खेलिरहेका नेता गोकर्ण विष्टले दुई नेताबीचको भेटवार्ताले कालो बादलमा चाँदीको घेरा भेटिए झैं कार्यकर्ताहरूमा आशा पलाएको तर्क गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘विलियम शेक्सपियरले भनेजस्तै जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ। जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्‍नले समस्याको समाधान सम्भव छ। हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खँदैन।’ 

हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरेर अगाडि बढ्न आग्रह गरेका छन्। 

त्यसो त नेता नेपालले पार्टी विभाजनको बाटो रोजेको भन्दै नजिकका नेता मानिने बिष्णु रिजालले समेत छाडेर ओली समूहमा लागिसकेका छन्। ओलीसँग मिल्न नसकिनेमा नेता नेपालसहित भीम रावललगायतका नेताहरु छन्।

तर, अधिकांश नेताहरुले पार्टी फुटाउन नहुने भन्दै पार्टीभित्र संघर्ष गर्नुपर्ने अडान राखेपछि दबावमा परेको नेता नेपालले ओलीसँग भेटवार्ता गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.